arrow

योग र ध्यान प्राथमिक तहदेखि पाठ्यक्रममा समावेश गर्ने प्रचण्डको भनाइ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ६ बुधबार
prachanda.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले योग र ध्यानको विषयलाई प्राथमिक तहदेखि नै विद्यालय र विश्वविद्यालयसम्म पाठ्यक्रममा समावेश गर्ने उद्देश्य राखेको बताएका छन् । 

बुधबार काठमाडौँमा अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयोजित कार्यक्रमजलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले योग र ध्यानको महत्व, परम्परा र विरासतलाई आत्मसाथ गरेर नै सरकारले यस्तो निर्णय लिएको बताए ।

उनले यो निर्णयले आध्यात्मिक चिन्तनको महत्वलाई स्थापित गर्न गुणात्मक र दीर्घकालीन भुमिका खेल्ने विश्वास व्यक्त गरे । उनले नेपालका पुराना शहर र भवनको निर्माणमा पनि योगको ज्ञान, विज्ञान एवं वास्तु इन्जिनियरिङको प्रयोग भएको पाइने बताए ।

उनले प्राकृतिक वातावरणको हिसावले पनि नेपाल संसारभरका मानिसका लागि योग अभ्यासका लागि एउटा सुन्दर भूमि रहेको बताए । उनले नेपाल योग सम्बन्धी ज्ञान विज्ञानको अध्ययन गरिरहेका विश्वभरका अध्येताहरुका लागि नेपाल मुल गन्तव्य बन्नसक्ने प्रचुर सम्भावना रहेको बताए ।

प्रधानमन्त्री दाहालले योगमाया आयुर्वेद विश्वविद्यालयले भविष्यमा विश्वस्तरीय विश्वविद्यालयका रुपमा आफूलाई स्थापित गर्दै यस क्षेत्रमा प्राज्ञिक नेतृत्व गर्ने विश्वास व्यक्त गरे । उनले योग शारीरिक अभ्यासमात्रै नभइ निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक जीवनशैली र जीवनपद्धति भएको बताए । 

उनले भने, ‘यहाँका पुराना शहर र भवनको निर्माणमा पनि योगको ज्ञान, विज्ञान एवं वास्तु इन्जिनियरिङको प्रयोग भएको देखिन्छ । मठ, मन्दिर, मूर्तिकलामा होस् वा चित्रकला, थांका होस् वा सबैतिर योगको जबरजस्त प्रभाव देखिन्छ । ढुंगेधारा, कुवा, इनार र राजकुलाका निर्माणमा पनि योग र तन्त्रको ज्ञानलाई प्रयोग गरेको हामी सबैले देख्न सक्दछौँ । त्यसैले योग नेपालकै अमूल्य सम्पती पनि हो । प्राकृतिक वातावरणको हिसावले पनि नेपाल संसारभरका मानिसका लागि योग अभ्यासका लागि एउटा सुन्दर भूमि पनि हो । यो देश योग सम्बन्धी ज्ञान विज्ञानको अध्ययन गरिरहेका विश्वभरका अध्येताहरुका लागि नेपाल मुल गन्तव्य बन्नसक्ने प्रचुर सम्भावना छ । हामीले परिकल्पना गरेको योगमाया आयुर्वेद विश्वविद्यालयले भोलिका दिनमा विश्वस्तरीय विश्वविद्यालयका रुपमा आफूलाई स्थापित गर्दै यस क्षेत्रमा प्राज्ञिक नेतृत्व गर्नुपर्दछ भन्ने हामीले ठानेका छौँ । योग शारीरिक अभ्यासमात्रै नभइ निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक जीवनशैली र जीवनपद्धति हो । स्वस्थकर जीवनयापनका लागि व्यक्तिलाई शारीकिर, मानसिक र मनोवैज्ञानिक रुपमा सबल बनाउन योगले महत्वपूणर् सहयोग पुर्‍याउँछ । शरीरलाई स्वस्थ र फुर्तिलो बनाउने तथा मनलाई स्वच्छ र शान्त बनाउने सबैभन्दा राम्रो उपाय योग हो भन्ने इतिहास सिद्ध छ । योग र ध्यानको महत्वलाई हाम्रो परम्परा र विरासतलाई, धरोहरलाई आत्मसाथ गरेर नै योग र ध्यानको विषयलाई प्राथमिक तहदेखि नै विद्यालय र विश्वविद्यालयसम्म पाठ्यक्रममा समावेश गर्नेकुरा गरिएको छ । मलाई विश्वास छ, नेपाल सरकारको यो निणर्यले योग आध्यात्मिक चिन्तनको महत्वलाई स्थापित गर्न गुणात्मक र दीर्घकालीन भुमिका खेल्नेछ ।’ 

प्रधानमन्त्री दाहालले योग सम्बन्धी नेपालले गरिरहेको अभ्यासको विश्वव्यापीकरणमा पर्याप्त ध्यान दिने हो भने नेपालमा योग पर्यटनमा गुणात्मक विकास गर्न सकिने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ