arrow

सत्ता गठबन्धनमा हलचल, आफ्ना मन्त्रीसँग छलफल गर्दै नेकपा एस 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ७ बिहिबार
ncp-united-socialist-party-office.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सरकारले ल्याएको बजेटको चौतर्फी विरोध भैरहेका बेला नेकपा एसभित्र पनि त्यसको असर देखिएको छ । संसदमा बजेट सम्बन्धी छलफल अन्तिम अवस्थामा पुग्दा एस पार्टीका नेताहरुले पार्टीभित्र र बाहिर असहमति प्रकट गरिरहेका छन् । 

खासगरी राजेन्द्र पाण्डे, किसान श्रेष्ठ, प्रेम आलेले बजेटमा असहमति प्रकट गर्दै आएका छन् । बजेटको सवालमा पार्टी अध्यक्ष माधवकुमार नेपाल स्वयं पनि सन्तुष्ट हुन सकिरहेका छैनन् । 

सो विषयमा एस पार्टीले सरकारमा सहभागी आफ्ना मन्त्रीहरूसँग छलफल गर्ने भएको छ । एकीकृत समाजवादीले बिहीबार दिउँसो २ बजे संसदीय दलको बैठक बोलाएको छ । 

संसदीय दलको कार्यालय सिंहदरबारमा बोलाएको बैठकमा पार्टीका तर्फबाट मन्त्री बनेकाहरूसँग बजेटमा के–कस्तो योजना समावेश गरे, मन्त्रालयगत बजेटको अवस्था के छ ? भनेर छलफल गर्न लागिएको हो । 

पार्टीका तर्फबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेका प्रकाश ज्वाला र कृषिमन्त्री बेदुराम भुसालसँग छलफलको कार्यसूची रहेको छ । 

एस पार्टीका नेताहरुले बजेट निकै असन्तुलित रहेकाले यसलाई जस्ताको तस्तै पास गर्न नसकिने जनाउँदै आएका छन् । 

भौतिक पूर्वाधारको बजेट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र रहेको गोरखा, अर्थमन्त्री डा. प्रकाशशरण महतको गृहजिल्ला नुवाकोट र कांग्रेस सभापति शेरबहादुर देउवाको जिल्ला डँडेलधुरामा एकोहोर्याइएको भन्दै एकीकृत समाजवादीका सांसदहरुले असन्तुष्टि प्रकट गरेका छन् । तर भौतिक पूर्वाधार मन्त्री एवं नेकपा एसका नेता प्रकाश ज्वालाको जिल्लामासमेत बजेट पुगेको भन्दै विरोध भइरहेको छ । 

एस पार्टीका सांसदहरूले सार्वजनिक रूपमै बजेट विफल तुल्याउने चेतावनी दिन थालेपछि प्रधानमन्त्री प्रचण्डले उक्त दलका अध्यक्ष नेपाल लगायतका नेताहरूसँग छलफल गरेका थिए । 

नेताहरूका अनुसार प्रधानमन्त्रीले असन्तुष्टि सम्बोधन गर्न अर्थमन्त्रीलाई त्यही बैठकमा आग्रह गरेका थिए । एस पार्टी संसदीय दलका उपनेता राजेन्द्र पाण्डेले प्रधानमन्त्री र अर्थमन्त्री सहितको बैठकमै आफ्ना अध्यक्ष नेपाललाई आफूहरूले यथास्थितिमा बजेटको पक्षमा भोट नहाल्ने बताइसकेको स्रोतले जनाएको छ । 

अर्थमन्त्री महतले बजेट सच्याउने विषयमा कुनै पहलकदमी गरेका छैनन् । अर्थमन्त्री महतले बजेटको आकारभित्र रहेर विधि, ऐन र प्रावधानले दिने सीमाभित्र रहेर बजेट ल्याएको दाबी गर्दै सच्याउन नसकिने बताएपछि एसका नेताहरु थप चिढिएको स्रोतको दाबी छ । 

अर्थमन्त्री संशोधन गर्ने पक्षमा नदेखिएका बेला अध्यक्ष नेपालले असन्तुष्ट सांसद पाण्डेलाई नै सम्बोधन गर्नुपर्ने र सकिने विषयहरूबारे गठबन्धनका नेताहरूसँग छलफल गर्ने जिम्मा दिएको बताइए पनि एसका सांसदहरुले यो बजेटबारे पुनर्विचार नभए संसदमा बजेट पास नगर्ने अडान कायमै राखेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ