arrow

प्रदीप ढकालविरुद्ध अख्तियारबाट विशेष अदालतमा मुद्दा दर्ता 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ११ सोमबार
pradip-dhakal-pashupati-former-member-secretary.jpg

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्यसचिव डा प्रदीप ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ । 

ढकालविरुद्ध आयोगले १ करोड ४४ लाख रुपैयाँ बढीको अकुत सम्पत्ति आर्जनमा विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । 

पूर्व सदस्यसचिव ढकालकै कार्यकालमा पशुपतिमा जलहरीमा सुन राखिएको थियो । 

उनलाई सरकारले २०७४ को साउनमा पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा नियुक्त गरेको थियो । 

उनले पेश गरेको सम्पत्ति विवरण अमिल्दो तथा अस्वाभाविक देखिएको अख्तियारका प्रवक्ता भोला दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

ढकाल सार्वजनिक सेवा प्रवेश गरेको २०७४ साउन ३२ देखि सम्पत्ति विवरण पेश गरेको २०७९ जेठ ३० सम्मको अवधिको आम्दानी खर्च जाँच गर्दा आयतर्फ ६ करोड ३९ लाख ९३ हजार ३ सय १२ रूपैयाँ ४१ पैसा देखिएको र खर्च ७ करोड ८४ लाख ५ हजार ९४ रूपैयाँ १२ पैसा देखिएकोले एक करोड ४४ लाख ११ हजार ७८१ रूपैयाँको वैधानिक स्रोत नदेखिएको अख्तियारको ठहर छ ।

उक्त स्रोत नखुलेको बिगो ढकालको नाममा हाल कायम रहेको घररजग्गाबाट जफत गराउन मागसहित विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

पूर्वीय दर्शनमा भारतको बनारसस्थित हिन्दु विश्वविद्यालयबाट विद्यावारिधि गरेका ढकाल पूर्वीय दर्शन तथा संस्कृतिका विज्ञ हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ