arrow

सिसामा खलनायकको भूमिकामा जम्दै सुशील देवकोटा

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १२ मंगलबार
sushil-devkota-artist.jpg

काठमाडौँ । गत महिनादेखि प्रसारणमा आएको नयाँ टेलिश्रृंखला ‘सिसा’ ले विस्तारै दर्शकलाई आफूतिर आकर्षित गर्न थालेको छ । सामाजिक कथामा निर्माण भएको यो टेलिश्रृंखला ओम प्रतीक गुरुङको निर्देशनमा तयार भएर नेपाल नेटवर्क टेलिभिजन (एनएनटिभी) बाट प्रत्येक शनिबार राति ८:४५ बजेदेखि प्रसारण भैरहेको छ ।

निर्देशक ओम प्रतिकका अनुसार यो श्रृंखला विषयवस्तु तथा निर्माण शैलीको दृष्टिकोणले अन्य श्रृंखलाभन्दा पृथक बनेको छ । ५२ भागसम्म निर्माण गरिने यो श्रृंखलाको चार वटा भाग प्रसारण भैसकेको छ भने गत शनिबार श्रृंखलाको पाँचौं श्रृंखला प्रसारण भएको छ ।

यो श्रृंखलामार्फत समाजका हरेक घटनाहरु सिसा जस्तै पारदर्शी किन हुँदैनन् ? भन्ने मुख्य प्रश्न उठाइएको छ । यो श्रृंखलामा पटकथाकार तथा संवाद लेखकका रुपमा सहभागी भएका कलाकार हुन् शुशील देवकोटा ।

छक्का पञ्जा ४ मा नेताको भूमिका निर्वाह गरेर चर्चामा आएका लेखक देवकोटा ‘सिसा’ मा कलाकारको रुपमासमेत प्रस्तुत हुने बताउँछन् । उनले आफू ‘सिसा’ को सातौँ भागदेखि दर्शकमाझ आउने बताएका छन् ।

देवकोटाको प्रवेश हुने श्रृंखला असार २३ गतेदेखि प्रसारण हुनेछ ।उनी यो श्रृंखलामा मुख्य खलनायकको रुपमा भित्रिँदैछन् ।

पुराना कलाकार र चलचित्र लेखक सुशील देवकोटा यो श्रृंखलामा ‘रुद्रजङ्ग’ नामको पात्रको रुपमा दर्शकमाझ आउँदैछन् । रुद्रजङ्ग यो श्रृंखलाका मुख्य खलनायक हुन् । 

सुशील कुनै बेला चलचित्र पत्रकारको रुपमा स्थापित थिए । देवकोटाले ‘रोशनी’ पाक्षिकबाट २०४८–४९ सालदेखि चलचित्र पत्रकारिता थालेका थिए ।

तर पत्रकारितामा आउनुअघि नै उनले काठमाडौँको रङ्गमंचमा कलाकारको रुपमा नाटकमा अभिनय गरिसकेका थिए । त्यस्तै रेडियो नाटकमा पनि काम गरिसकेका थिए ।

चलचित्र पत्रकार बन्नु अगाडि नै उनले गीतकारको रुपमा आफ्नो नाम स्थापित गरिसकेका थिए । छापा माध्यमको चलचित्र पत्रकारितापछि सुशील अडियो माध्यममा एफएम रेडियोमा आए र छाए पनि ।

उनले सयौँ विज्ञापनमा आफ्नो आवाज दिए । थुप्रै फिल्ममा विभिन्न कलाकारलाई आवाज दिए । केही फिल्ममा उद्घोषणसमेत गरे ।

चलचित्र ‘शिवशक्ति’ अभिनेता निखिल उप्रेतीलाई यिनै सुशील देवकोटाको आवाज लिइएको छ भने लीलबहादुर क्षेत्रीको अमर कृति ‘बसाईँ’ चलचित्रको थालनी तथा अन्त्य पनि सुशील कै आवाजबाट हुन्छ ।

दृश्य माध्यममा उनले च्यानल नेपालबाट निर्माता तथा प्रस्तोताको रुपमा  काम गर्न थालेका हुन् ।

त्यसपछि उनले नेपाल वान, नेशनल र हिमालय टेलिभिजनमा पनि निर्माता तथा प्रस्तोताको रुपमा लामो समय काम गरे ।

तर लेखक र कलाकार बन्ने चाहना बोकेर चलचित्र क्षेत्रमा होमिएका सुशील त्यतिबाट सन्तुष्ट भएनन् र संघर्ष गर्दै गए । 

लगभग ११ वर्ष चलचित्र क्षेत्रबाट हराएका सुशील देवकोटा गत वर्षदेखि पुनः चलचित्र लेखन र अभिनयमा सक्रिय भएका छन् । त्यसको थालनी उनले कृष्ण मल्लको निर्देशन रहेको ‘ब्ल्याल एण्ड ह्वाइट’ श्रृंखलाको कथा, पटकथा तथा संवाद लेखकको रुपमा गरे ।

त्यसपछि उनले ओम प्रतीक गुरुङको टेलिश्रृंखला ‘सिसा’ मा पटकथाकार तथा संवाद लेखकको रुपमा आवद्ध भएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ