प्रधानमन्त्री प्रचण्डले भने-भ्रष्टाचारविरुद्धको लडाई रोकिने छैन
हाम्रा कुरा
प्रकाशित २०८० असार १३ बुधबार
1.4k
Shares
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचार विरुद्धको लडाई अझै नरोकिने बताएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, मिटरब्याजी प्रकरणमा सरकारले एकपछि अर्को सफलता हात पारिरहेको उल्लेख गर्दे उनले वर्षदेखि डुङ्गुरको रूपमा रहेको भ्रष्टाचारलगायतका विकृतिहरु विरुद्धको लडाई नरोकिने बताएका हुन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, उपराष्ट्रपति कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणमा सफलता हातपारेसँगै उच्चपदस्थहरू र देशका एउटा वर्ग कानुनभन्दा माथि छ भन्ने निराशावादी मान्यता गलत प्रमाणित हुँदै गएको दावी समेत गरे ।
उनले आफूले सरकार सञ्चालन गरेयता सबैभन्दा ठूलो उपलब्धि जनतामा राज्य र व्यवस्थाप्रति भरोसा जगाउनु रहेको जिकिर समेत गरे । प्रधानमन्त्री दाहालले भने, ‘मैले संसद्मा सङ्कल्प गरेको थिएँ–सुशासन सरकारको उच्च प्राथमिकता हुनेछ । मैले सरकारको यस बीचको सबभन्दा ठूलो उपलब्धि व्यवस्थाप्रति जनतामा जगाएको भरोसालाई मानेको छु । मैले नेतृत्व लिँदै गर्दा जनतामा राज्यप्रति र सरकारप्रति जुन निराशा, असन्तोष र आवेग थियो । अहिले त्यसमा सुधार भएको छ । र, यसलाई मैले जनतामा राज्यप्रति र सरकारप्रति भरोसामा जो अभिवृद्धि भएको छ । यसबीचको सबैभन्दा ठूलो उपलब्धिको रूपमा मानेको छु ।
हाई प्रोफाइल व्यक्तिहरू कानुनभन्दा माथि छन् आम मनोविज्ञान बनिरहेको थियो । त्यसले जनतामा ठूलो आक्रोश जन्माइरहेको थियो । त्यो असन्तोषले लोकतन्त्रप्रति नै नकारात्मक धारणा बनिरहेको थियो । र, नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले गरेको इतिहासकै ठूलो अनुसन्धान र कारबाही पछि जनतामा विश्वास जाग्न सुरु भएको छ । नक्कली भुटानी शरणार्थी काण्डको सफल अनुसन्धानबाट सरकारले कानुनको सर्वाेच्चतामात्रै प्रमाणित गरेको छैन । लोकतन्त्रको सर्वोच्चता पनि स्थापित भएको छ ।'
'लोकतन्त्र भित्र देखा पर्ने समस्याको समाधान पनि लोकतन्त्रबाट नै प्राप्त हुन्छ भन्ने एउटा ऐतिहासिक मापदण्ड यो राम्रोसँग स्थापित भएको छ । उच्चपदस्थहरू र देशका एउटा वर्ग कानुनभन्दा माथि छ भन्ने निराशावादी मान्यता गलत प्रमाणित हुँदै गएको छ । यो काण्डको सफल अनुसन्धानसँगै अव लोकतन्त्रको सर्भिसिङ र शुद्धि रण पनि सूरु भएको छ । संसद र आम जनसमुदायलाई म यही रोष्टमबाट विश्वास दिलाउन चाहन्छु–यो शुद्धि रण यतिमा रोकिने छैन । यो निरन्तर अगाडि बढ्नेछ । हिजोबाट प्रधानमन्त्री निवास नै निल्न खोज्ने ललिता निवास काण्डको अभियुक्तहरू पक्राउ पर्न थालेका छन् । मिटरब्याजी र सहकारीका ठगहरूमाथि कारबाही सुरु भइसकेको छ । वर्षौँदेखि विकृतिको डुङ्गुर सफा गर्ने सुशासनको यो लडाइँमा मलाई सदन र जनताको अझ धेरै समर्थनको आवश्यकता रहेको मैले महसुस गरेको छु । र, यो लडाइँमा मलाई सदनको पनि र आम जनताको पनि अझ ठूलो हौसला र सहयोग प्राप्त हुने विश्वास पनि म व्यक्त गर्न चाहन्छु ।’
प्रधानमन्त्री दाहालले मुलुकमा सुशासनका लागि अभियान नै सुरु गरेको उल्लेख गर्दै त्यसमा सदन र आम नेपाली जनताले सरकारलाई अझ धेरै साथ दिनुपर्ने आवश्यकता पनि औँल्याए ।