arrow

राष्ट्रपति पौडेलको उपचार खर्च सरकारले बेहोर्ने, आलोचना बढ्दो

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २० बुधबार
ramchandra-poudel-president-always.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गराएको उपचार बापतको खर्च सरकारले बेहोर्ने भएको छ । उपचारमा खर्च भएको ५५ लाख रुपैयाँ सरकारले नै बेहोर्ने भएसँगै उक्त रकम भुक्तानी गरिदिन परराष्ट्र मन्त्रालयले सोमबार अर्थ मन्त्रालयलाई पत्र लेखेको छ । 

परराष्ट्र सचिवस्तरीय निर्णयअनुसार सोमबार परराष्ट्रले अर्थ मन्त्रालयलाई पत्र पठाएको हो । सरकारको यो निर्णयपछि सामाजिक सञ्जालमा राष्ट्रपतिको चर्को आलोचना भएको छ । 

तर सरकारको भने कम आलोचना भएको छ । 

राष्ट्रप्रमुखको खर्च प्रायः सरकारले नै बेहोर्ने भए पनि राष्ट्रपति पौडेलले स्वास्थ्योपचार खर्च आफैँले बेहोर्न चाहेको भन्दै उनको स्वकीय सचिवालयले जनाएको थियो । तर राष्ट्रपतिको तर्फबाट उपचार खर्च तिर्ने पहल भएको थिएन ।

पौडेल गत बैशाख ६ गते स्वास्थ्य परीक्षणका लागि श्री एयरलाइन्सको विमान चार्टर्ड गरेर भारत गएका थिए । उनी त्यहाँ १० दिन उपचार गराई बैशाख १७ गते नेपाल एयरलाइन्सको नियमित उडानबाट नेपाल फर्केका थिए । 

उक्त अवधिमा लागेको खर्चको बिल भर्पाइ भुक्तानीका लागि पेस भएको भन्दै परराष्ट्रले खर्चका लागि यसअघि अर्थको सहमति मागेको थियो । 

उक्त खर्च रकम स्वास्थ्य उपचारलगायतको खर्चका लागि प्रचलित कानून तथा स्वीकृत मापदण्डबमोजिम खर्च गर्न भन्दै अर्थ मन्त्रालयले परराष्ट्रलाई गत ११ गते सहमति दिएको थियो ।

सोही सहमति अनुसार खर्च रकम सम्बन्धितलाई भुक्तानी दिने प्रयोजनका लागि ५५ लाख २ हजार २७९ रुपैयाँ निकासा गरिदिन परराष्ट्रले पत्राचार गरेको हो । 

बैशाख १९ गते राष्ट्रपतिका तर्फबाट प्रेस संयोजक प्रेस विज्ञप्ति जारी गरेर उनको उपचारमा लागेको खर्च आफैँले तिर्न चाहेको उल्लेख गरेका थिए । 

त्यतिबेला पनि तिर्न चाहनु र तिर्नुमा फरक हुने भन्दै विभिन्न खाले टिप्पणी भएका थिए । 

तर यसपटक खर्च नै सबै सरकारले बेहोर्ने फेहरिस्त आइसकेपछि फेरि एक पटक राष्ट्रपतिको आलोचना भएको छ । 

छायाँमा पर्दै उनका राम्रो कामका कदम, देखिँदै गलत प्रवृत्ति 
गत वर्षको फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएपछि रामचन्द्र पौडेलको सादगीपनको प्रशंसा भएको थियो । 

उनले जनतालाई बिना कारण दुःख दिनु हुन्न भन्ने हेतूले जहाँ गए पनि सडक नरोकि निर्वाध रुपले चल्न दिने नीति बनाएसँगै उनको प्रशंसा भयो । 

राजधानीबासी यसअघिकी राष्ट्रपति विद्यादेवी भण्डारीको कदमबाट आजित थिए । उनले संस्था स्वीकारेपछि आदर पनि गर्नुपर्छ भन्ने भनाइ खुलेआम सञ्चारमाध्यममै भनेकी थिइन् । त्यसलाई प्रत्यक्ष नियालेका रामचन्द्रले आफ्नो कार्यकालमा पहिलो सुधार गरेका थिए । 

तर त्यसपछि भने उनी पाँच पटक बिमार भएर अस्पताल भर्ना भइसकेका छन् । उनलाई स्वास्थ्यले त्यति साथ दिएको छैन । उपचार भइसकेकाले अब कुनै समस्या नपर्ने आशा गर्न सकिन्छ । 

तर उनको आलोचना तब भयो जतिबेला उनले जेठ १४ गते तीनै तहका अदालतले हत्याका दोषी भनी फैसला गरेर जन्मकैद सजाय भएका नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीलाई गणतन्त्र दिवसको अवसरमा सजाय माफी गरिदिए । जबकि सर्वोच्च अदालतको पूर्णपाठसमेत आइसकेको थिएन । 

त्यसको लगत्तै जेठ १७ गते उनले गत साल तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी त्यत्तिकै थन्काएको नागरिकता विधेयकलाई सोही कागजमा प्रमाणीकरण गरे । 

आफू कसैको दबाबमा नपरी संविधानअनुसार चल्ने भनी शपथ आएको दिनमै प्रण गरे पनि उनी राजनीतिक प्रभावमा चलिरहेका छन् भन्ने यसले देखाउँदै गएको भन्दै सामाजिक सञ्जालहरुमा उनको ब्यापक आलोचना भइरहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ