- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । आज दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्ने कार्यक्रम छ । सङ्घीय संसद भवन, नयाँ बानेश्वरमा प्रतिनिधि सभा बैठक ३ बजे बोलाइएको छ ।
सङ्घीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार शुक्रबारको बैठकमा तीन वटा विधेयक प्रस्तुत हुनेछन् । राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिनेछ ।
केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि ज्ञानबहादुर शाही, प्रेम सुवाल, सोविता गौतम, सुमना श्रेष्ठबाट प्राप्त विरोधको सूचना निर्णयतार्थ प्रस्तुत गरिनेछ । भने कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक,२०८० पेस गर्ने,राष्ट्रिय सभामा उत्पत्ति भएको मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
उक्त विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्माणार्थ प्रस्तुत गर्ने, कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राष्ट्रिय सभामा उत्पत्ति भएको मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
साथै राष्ट्रिय सभाको बैठक आज बिहान ११ बजेबाट शुरु हुनेछ । आजको राष्ट्रिय सभा बैठकमा राष्ट्रिय योजना आयोग, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्, राष्ट्रपति, उपराष्ट्रपति, रक्षा, गृह, कृषि तथा पशुपक्षी,कानून, न्याय तथा संसदीय मामिला, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, अर्थ, खानेपानी, ऊर्जा, जलश्रोत तथा सिँचाइ, परराष्ट्र, सञ्चार तथा सूचना प्रविधि, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका बजेटमाथि छलफल हुनेछ ।
तर चार दिनदेखि एमालेले दुवै सदनको बैठक अवरुद्ध गर्दै आएको छ । हिजो पनि एमालेले दुवै सदन अवरोध गरेको थियो । त्यसैबीच तीन दलका शीर्ष नेताबीच सिंहदरबारमा सदन सुचारु गर्ने विषयमा छलफल भएको थियो ।