arrow

जानकीमा अनुगमनको फाइलमा भेटियो उपाध्यक्षकै कीर्ते हस्ताक्षर 

logo
सौरभ गिरी, 
प्रकाशित २०८० असार ३० शनिबार
gaupalika-banke-2080.jpg

नेपालगञ्ज । बाँकेको एक गाउँपालिकामा योजनाको अनुगमनमा उपाध्यक्षको कीर्ते हस्ताक्षर गरेको पाइएको छ। जिल्लाको जानकी गाउँपालिकामा रकम निकासा अघिको योजना अनुगमन समितिको प्रतिवेदनमा उपाध्यक्ष रामप्यारी यादवको हस्ताक्षर कीर्ते गरिएको पाइएको हो ।

गाउँपालिका भवनको मुख्य प्रवेशद्वार निर्माणको योजना अनुगमन समितिको प्रतिवेदनमा उपाध्यक्ष यादवको कीर्ते हस्ताक्षर गरिएको हो । प्रवेशद्वार निर्माण गरिसकेपछि भुक्तानी निकासा माग अघिको फाराममा उपाध्यक्षको कीर्ते हस्ताक्षर गरेपछि रकम निकासा रोकिएको छ । 

आफ्नो हस्ताक्षर कीर्ते गरेको थाहा पाएपछि उपाध्यक्ष यादव कीर्ते हस्ताक्षर गर्नेलाई कारबाही गराउन प्रहरी लगायत विभिन्न निकायमा धाइरहेकी छिन्  ।

किर्ते हस्ताक्षर गर्नेलाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिए पनि प्रहरीले निवेदन दर्ता नगरेको उपाध्यक्ष यादवले बताइन् । ‘मेरो फाइल दुई दिनसम्म प्रहरी कहाँ रह्यो, प्रहरीले दर्ता गरेन, उपाध्यक्ष यादवले भनिन्, ‘प्रहरीले दर्ता नगरेपछि फाइल फिर्ता ल्याएको छु । अब अदालत जान्छु ।’

गाउँपालिकाले पत्रकार सम्मेलन गरेर उपाध्यक्षको हस्ताक्षर ठेकेदार कम्पनीका मानिसले किर्ते गरेको बताएको छ । गाउँपालिकाका अध्यक्ष छब्बल खाँले ठेकेदार कम्पनीका मानिसले उपाध्यक्षको हस्ताक्षर कीर्ते गरेकाले कारबाहीका लागि आफूहरु लागिपरेको बताए ।

गत बैशाख १० गते प्रवेशद्वार बनाउने ठेक्का सम्झौता गरिएको प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले बताए । सिंहका अनुसार असार १५ गते सम्पन्न गर्ने भनिएकोमा ८ गते नै सम्पन्न गरेर रकम माग गरिएको थियो । 

योजना तथा अनुगमन समितिको प्रतिवेदनमा अनुगमन समितिका संयोजक उपाध्यक्ष रामप्यारी यादव, पूर्वाधार संयोजक टीकानाथ यादव, कार्यपालिका सदस्य कान्ति काँदु, प्राविधिक शाखा प्रमुख धनबहादुर रोकाय, योजना शाखा प्रमुख शोभा पौडेलको हस्ताक्षर छ ।

योजना अनुगमन समितिका संयोजक उपाध्यक्ष यादवकै हस्ताक्षर कीर्ते गरिएपछि गाउँपालिकाले भुक्तानी रोकेको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ