arrow

भावुक हुँदै प्रचण्डले भने – सीताले शान्त मृत्यु रोजिन् [भिडियो] 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २ मंगलबार
prachanda-renu-ganga-sokma.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको स्मरणमा श्रद्धाञ्जली सभा गरिएको छ । गत असार २७ गते स्वर्गारोहण भएकी सीताको स्मरणमा मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा श्रद्धाञ्जली सभा गरिएको हो । 

श्रद्धाञ्जली सभामा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्ययाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरु, प्रदेश प्रमुख र मुख्यमन्त्रीहरु, सांसदहरु, राजदुत तथा कुटनीतिक नियोगका प्रतिनिधिहरु लगायत शुभेच्छुक तथा शुभचिन्तकहरुको उपस्थिति रहेको थियो । 

श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफ्नो जीवनसंगिनीको उपचारमा संलग्न चिकित्सकहरुलाई धन्यवाद दिए । 

उनले स्व. दाहालको उपचार राज्यबाट कुनै सुविधा नलिइकन सबै खालको उपचार पद्धतिबाट गरिएको स्मरण गरे । 

उनले जीवनसंगिनी सीताले शान्त मृत्यु रोजेको उल्लेख गरे । 

उनले भने – ‘पछिल्ला वर्षहरुमा हामीले एक छोरी र छोरासहित दुई सन्तानको असामयिक र अकल्पनीय मृत्यु व्यहोर्यौँ । शरिरले साथ दिएसम्म यो पीडामा उनी पनि दृढतापूर्वक उभिइ नै रहिन् । र त्यो पीडाको सामना गरिरहिन् । उनी बिरामी भएपछि राज्यबाट कुनै सुविधा नलिइकनै हामीले उपलब्ध र लाभदायी हुनसक्ने सबैखाले पद्धतिबाट उपचारको प्रयास पनि गरि नै रह्यौँ । उनी थला नै परेपछि उनको अन्तिम अवस्था दुःखदायी र कष्टप्रद हुन्छ कि भन्ने हामीलाई चिन्ता थियो । अन्तिम अवस्थामा अस्पतालको आइसियु वा भेन्टीलेटरमा पीडादायी मृत्युवरण देख्नुपर्छ कि भन्ने हामीलाई चिन्ता थियो । तर बाँच्दासम्म अरुलाई पीडा दिन नजानेकी सीताले मृत्युपनि निकै शान्त रोजिन् । साढे ७ बजे हामीले हस्पिटल लगेको झन्डै ८ः३० बजे उनी हामी सबैबाट बिदा भइन् । म आज उनको उपचारमा संलग्न चिकित्साकर्मी लगायत सबैलाई हृदयदेखि धन्यवाद ज्ञापन गर्न चाहन्छु । अस्पतालदेखि पार्टी कार्यालयसम्म, आर्यघाटदेखि बालुवाटारसम्म उनले पाएको सम्मान र श्रद्धाञ्जली उनको त्याग, तपस्या र बलिदानप्रति जनताको न्याय र सम्मान हो भन्ने हामीले ठानेका छौँ । उनको मृत्युमा प्रकट भएको जनअभिव्यक्ति र जनउभारले मलाई र मेरो परिवारलाई देश र जनताप्रति अझ ठूलो जिम्मेवारीबोध गराएको छ ।’

प्रधानमन्त्री दाहालले अस्पतालदेखि पार्टी कार्यालय र आर्यघाटदेखि बालुवाटारसम्म स्व.सीता दाहालले पाएको सम्मान र श्रद्धाञ्जली उनको त्याग, तपस्या र बलिदानप्रति जनताको न्याय र सम्मान भएको आफूहरुले ठानेको उल्लेख गरे । 

उनले यस घडीमा पाएको जनअभिव्यक्ति र जनउभारले आफू र परिवालाई देश र जनताप्रति अझ ठूलो जिम्मेवारीबोध गराएको बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ