arrow

उद्योग दर्तामा कमी

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३ बुधबार
Tanahun_District.png

तनहुँ । तनहुँमा उद्योग दर्ता गर्ने क्रम घटेको छ । आर्थिक वर्ष २०७९/८० मा जिल्लामा छ सय तीन उद्योग दर्ता भएका छन् । अघिल्लो वर्षको तुलनामा यो वर्ष उद्योग दर्ता ह्वात्तै घटेको पर्यटन तथा उद्योग कार्यालय तनहुँले जनाएको छ । 

देशको पछिल्लो आर्थिक अवस्थाको असर यहाँका उद्योग स्थापनामा पनि परेको हुन सक्ने कार्यालय प्रमुख दुर्गाराज सुवेदीले बताए । आर्थिक वर्ष २०७८/७९ को भन्दा गतवर्ष आठ सय ११ वटा उद्योग कम दर्ता भएका उनले जानकारी दिए । 

आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा एक हजार चार सय १४ उद्योग दर्ता भएका थिए । आर्थिक वर्ष २०७९/८० मा जिल्लामा सबैभन्दा धेरै कृषि तथा वन पैदावरमा आधारित उद्योग दर्ता भएका छन् । उक्त अवधिमा कृषि तथा वन पैदावरतर्फ तीन सय १८ उद्योग दर्ता भएका छन् । 

कृषि उद्योगतर्फ युवाहरुको आकर्षण बढेकाले यसतर्फ धेरै उद्योग दर्ता भएको उनको भनाइ छ । उनले भने, “वैदेशिक रोजगारीबाट फर्किएका युवाहरु पशुपालनतर्फ आकर्षित भएका छन् । यसले गर्दा कृषि तथा वन पैदावरमा आधारित उद्योग दर्ता बढेको छ ।”

कृषि तथा वनजन्यतर्फ दुग्ध डेरी, गाईपालन, बाख्रापालन, कुखुरापालन, मौरीपालन, माछापालन, तरकारी खेतीतर्फ आकर्षण बढ्दो छ ।

यो अवधिमा उत्पादनमूलकतर्फ ५०, कृषि तथा वन पैदावरतर्फ तीन सय १८, पर्यटनतर्फ एक सय १९, सेवातर्फ एक सय दश, पूर्वाधारतर्फ तीन र सूचना तथा सञ्चार प्रविधिमा आधारित तीन उद्योग दर्ता भएको कार्यालयले जनाएको छ । 

तनहुँमा थपिएका उद्योगको कूल पूँजी रु एक अर्ब २५ करोड ५७ लाख २९ हजार पाँच सय रहेको छ । ती उद्योगको वार्षिक उत्पादन क्षमता रु एक अर्ब २० करोड ४४ लाख १४ हजार एक रहेको छ । थपिएका उद्योगमा छ सय २८ जनाले रोजगारी पाएका छन् । 

गत आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा एक हजार चार सय १४ उद्योग दर्ता भएका थिए । त्यसमध्ये उत्पादनमूलक एक सय छ, कृषि तथा वन पैदावरमा आधारित आठ सय दश, पर्यटनतर्फ दुई सय ५६, सेवातर्फ दुई सय ३८ र सूचना प्रविधिमा आधारित चार उद्योग दर्ता भएका थिए । 

आर्थिक वर्ष ०७८/७९ मा जिल्लामा दुई हजार एक उद्योग दर्ता भएका थिए । त्यस्तै आर्थिक वर्ष ०७६/७७ मा जिल्लामा तीन हजार पाँच सय १५ उद्योग थपिएका थिए ।  

यसैगरी आर्थिक वर्ष २०७९/८० मा वाणिज्यतर्फ नौ सय ९८ फर्म दर्ता भएका छन् । त्यस्तै एक हजार ७२ नवीकरण, २५ नामसारी, छ ठाउँसारी, एक सय ६४ को पूँजीवृद्धि, २२ को नाम परिवर्तन, ६३ को उद्देश्य थप भएको कार्यालयले जनाएको छ । -रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ