- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ युरोप भ्रमणमा रहेका बेला नेपाल आइपुगेको चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को उच्च स्तरीय टोलीले नेकपा (माओवादी केन्द्र)का नेतासँग भेटवार्ता गरेको छ । सीपीसीका राजनीतिक ब्युरो सदस्य युयान च्या च्युन नेतृत्वको प्रतिनिधिमण्डलले आइतबार साँझ होटेल द्वारिकाजमा माओवादी केन्द्रका नेतासँग भेटवार्ता गरेको हो ।
त्यस्तै इटालीमा रहेका प्रचण्डसँग भर्चुअल संवाद गरेको छ । संवाद क्रममा प्रधानमन्त्रीले चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलको नेतृत्व गरेर नेपाल भ्रमणमा रहेका च्या च्युनलाई न्यानो स्वागत गरे । भेटमा दुई देशको आपसी हितका विषयमा छलफल भएको थियो । इटाली गएका प्रचण्ड साउनको १२ गते मात्र फर्किने कार्यक्रम रहेको छ । युरोपबाट फर्केपछि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा जाने तयारीमा रहेका छन् । भ्रमणको आधिकारिक मिति भने तय भएको छैन।
द्वारिकाजमा माओवादी नेताहरूले नेपालको विकास प्रक्रियामा यसअघि चीनबाट हुँदै आएको सहयोगको सराहना गर्दै आगामी दिनमा विविध क्षेत्रमा सहकार्य बढाउन आग्रह गरेका थिए ।
“भेटवार्तामा आगामी दिनमा माओवादी केन्द्र र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्धलाई थप प्रगाढ, दुई देशबीचका सरकारबीचको सम्बन्धलाई सुमधुर तथा जनस्तरको सम्बन्धलाई अझ मजबुत बनाउने बारेमा छलफल भयो”, भेटमा सहभागी माओवादी केन्द्रका सचिव दीनानाथ शर्माले भने, “नेपालको विकास प्रक्रियामा चीनले दिँदै आएको सहयोगलाई आगामी दिनमा अभिवृद्धि गर्नेलगायत विषयमा कुराकानी भयो ।”
चीनले अख्तियार गरेको समाजवादको मोडल नेपालका लागि पनि अनुकरणीय हुन सक्छ भन्दै माओवादी नेताहरूले नेपालको समाजवादको यात्रामा चीनले पनि सहयोग गर्नुपर्नेमा जोड दिएका थिए । माओवादी नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार मुलुकको समृद्धिमा केन्द्रित रहेको उल्लेख गर्दै त्यसमा चीनको सहयोग महत्त्वपूर्ण हुने बताएका थिए।
चिनियाँ प्रतिनिधिमण्डलले नेपालको विकासमा चीनले सहयोग गर्दै आएको र आगामी दिनमा त्यसलाई निरन्तरता दिइने विश्वास दिलाएको नेता शर्माले जानकारी दिए । चिनियाँ पक्षले दुई देशका सरकार, राजनीतिक पार्टी र जनस्तरको सम्बन्ध अझ कसिलो बन्नुपर्नेमा जोड दिएका थिए ।
भेटमा माओवादी केन्द्रका कार्यवाहक अध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपाध्यक्षद्वय कृष्णबहादुर महरा र अग्नि सापकोटा, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिव वर्षमान पुन र हरिबोल गजुरेल, सचिव शर्मा र गणेश साह लगायतको सहभागिता थियो ।
यसअघि चिनियाँ नेता च्युनले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका थिए । सो अवसरमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्ध मजबुत बनाउने विषयमा छलफल भएको थियो ।
यस्तै कार्यवाहक प्रधानमन्त्री खड्कासँग चिनियाँ नेता च्युनले शिष्टाचार भेटवार्ता गरेका थिए । चिनियाँ नेता च्युन नेतृत्वको प्रतिनिधिमण्डल श्रीलङ्काको भ्रमण सम्पन्न गरी आइतबार काठमाडौं आइपुगेको हो ।
चिनियाँ नेता नेपालमा बीआरआई परियोजनालाई सुदृढ बनाउन लागि परेका छन् । यद्यपि नेपाल सरकाले भने बीआरआई परियोजना शुरु नभएको तर प्रक्रिया रहेको बताउँदै आएको छ ।
अमेरिकाको एमसीसी परियोजना नेपालमा पहिलो पटक शुरु हुन लागेको बेला युयान काठमाडौँ आएका हुन् । नेपालमा पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनेपछि नेपाल भ्रमणमा आउने उनी सबैभन्दा वरिष्ठ नेता हुन् ।