arrow

श्रम स्वीकृति स्थानीय तहबाटै

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १० बुधबार
banke.png
तस्वीर-फाइल

बाँके । वैदेशिक रोजगारीमा जान चानहेलाई बाँकेका आठ स्थानीय तहमध्ये अधिकांश स्थानीय तहले श्रम स्वीकृति दिन थालेका छन् । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका, जानकी गाउँपालिका, बैजनाथ गाउँपालिका, नरैनापुर गाउँपालिकालगायतले श्रम स्वीकृति दिएको स्थानीय तहले जनाएका छन् । 

नेपालगञ्ज उपमहानगरपालिकाको रोजगार प्रवर्द्धन सेवा केन्द्रले हालसम्म १३ जनाको श्रम स्वीकृति भएको जनाएको छ । उनीहरुले जापान, कतार, साउदी अरब र कुवेत जान श्रम स्वीकृति लिएको नेपालगञ्ज उपमहानगरपालिकाका रोजगार सहायक अनुप बर्माले जानकारी दिए । 

“विदेश जान श्रम स्वीकृति लिनेको सङ्ख्या दिनप्रतिदिन बढ्दो क्रममा छ”, उनले भने । बर्माले धेरैलाई यस विषयमा जानकारी नभएकाले काठमाडौँ धाउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै वडा वडामा यसको प्रचारप्रसार आवश्यक भएको बताए । 

सेवा केन्द्रमार्फत कल्याणकारी सेवा सञ्चालन भएको जानकारी दिँदै उनले विदेशमा मृत्यु भएकाको शव नेपाल ल्याउनसमेत सहयोग गरिएको बताए । सेवा केन्द्रले गरेको सिफारिसका आधारमा वैदेशिक रोजगारीका क्रममा अङ्गभङ्ग भएका ११ जना र मृत्यु भएका आठ जनाले वैदेशिक रोजगार बोर्डबाट क्षतिपूर्तिसमेत पाएका छन । 

त्यस्तै जिल्लाको जानकी गाउँपालिकामा पनि वैदेशिक रोजगारमा जान चाहनेलाई श्रम स्वीकृति दिन सुरु गरिएको छ ।

अहिलेसम्म कुनै सेवाग्राहीले उक्त सुविधा नलिएको जानकी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले जानकारी दिए । 

वैजानाथ गाउँपालिकामा पनि करिब १२ जनाले श्रम स्वीकृति लिएका छन् । प्रमाणीकरण भएका सबैले श्रम स्वीकृति पाएको वैजानाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौापानेले बताए ।

राप्तीसोनारी गाउँपालिकामा श्रम स्वीकृतिको प्रक्रिया अघि बढेको तर सफ्टवेयर नभएकाले केही समस्या भएको छ । 

“केही दिनमा टुङ्गो लाग्ला त्यसपछि काम सुरु हुन्छ”, राप्तीसोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले भने । नरैनापुर गाउँपालिकामा पनि वैदेशिक रोजागारीमा जान चाहनेका लागि श्रम स्वीकृति दिन थालिएको छ । 

गाउँपालिकाका रोजगार सेवा केन्द्र संयोजक मकबुल अहमद मुकेरीले मन्त्रालयको परिपत्रअनुसार १३ जनाले श्रम स्वीकृतिको लिएको उल्लेख गर्दै श्रम स्वीकृतिका लागि सम्बन्धित व्यक्तिले पासपोर्ट र भिसासम्बन्धी कागजात आवश्यक भएको बताए । 

“सम्बन्धित व्यक्तिले ल्याएको कागजातका आधारमा रोजगार केन्द्रले सोसम्बन्धी स्वीकृतिका लागि आवश्यक सहजीकरण गरिदिनेछ”, उनले भने ।

वैदेशिक रोजगारमा जाने युवायुवतीले यसअघि काठमाडौँ गएर यस्तो स्वीकृति लिनुपर्ने बाध्यता रहेकामा अब गाउँघरमै रहेका स्थानीय सरकारमार्फत उक्त सेवा पाउने छन् ।  

“यसअघि अन्यत्रै गएर यससम्बन्धी स्वीकृति लिनुपर्दा सेवाग्राहीलाई झण्झट हुन्थ्यो । लागत पनि बढी पथ्र्यो तर अब स्थानीय सरकारबाटै सेवा सुरु भएपछि सहज भएको छ”, उनको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ