arrow

संरक्षण पाँचधारे पोखरी र किरातेश्वर ढुङ्गे बगैँचाको

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १३ शनिबार
Bhojpur.jpg

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका-९ मा रहेको ऐतिहासिक पाँचधारे पोखरी र किरातेश्वर ढुङ्गे बगैँचाको संरक्षण थालिएको छ । एकीकृत पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेर संरक्षण थालिएको हो ।

विसं १९४४ मा स्थापना गरिएको उक्त पोखरी र किरातेश्वर ढुङ्गे बगैँचालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्दै आर्थिक पक्षसँग जोड्ने लक्ष्यका साथ संरक्षण गर्न थालिएको वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले बताए ।

यस वर्ष केन्द्र सरकारअन्तर्गत पर्यटन मन्त्रालयले पोखरीमा आवश्यक संरचना निर्माण गर्न तथा बगैँचाको विकासका लागि रू २० लाखका दरले बजेट विनियोजन भएको उनले जानकारी दिए ।

“पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न पोखरीको संरक्षण गरिरहेका छौँ”, वडाध्यक्ष माङ्गपाहाङ्गले भने, “यस क्षेत्रको विकासका लागि केन्द्र सरकारले केही बजेट दिएको छ । उक्त बजेटले थप संरचना निर्माणमा सहयोग पुग्नेछ ।” पोखरीको ऐतिहासिकस्वरुपलाई यथावत राख्दै नयाँ संरचना निर्माण गरिने उनको भनाइ छ । 

पोखरी नजिकै रहेको बगैँचालाई पनि पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न योजना बनाइएको वडाध्यक्ष माङ्गपाहाङ्गले बताए । “यो क्षेत्रको ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको एकीकृत विकासका लागि काम गरिरहेका छौँ”, उनले भने, “किरातेश्वर ढुङ्गे बगैँचा गुफाको संरक्षणका लागि यस वर्ष काम गर्ने योजना छ । यहाँ आउने पर्यटकले दुई स्थानको एकैसाथ अवलोकन गरेर आनन्द लिन सकुन् भन्ने हाम्रो लक्ष्य छ ।”

बाह्रै महिना पानी आउने पाँच मुहान रहेको पाँचधारे पोखरीमा दर्शन गरे मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको स्थानीय बाबुराम शाक्यले बताए । यहाँको पोखरीमा रहेका माछा कसैले मारेर खाए त्यसले बाधा पुग्ने जनविश्वास रहेको उनको भनाइ छ । 

“पाँचधारे एक ऐतिहासिक महत्व बोकेको धार्मिकस्थल हो”, शाक्यले भने, “यहाँ दर्शन गरे चिताएको पुग्ने धार्मिक विश्वास छ । यसलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नसके आर्थिक उपार्जन बढ्ने देखिन्छ ।” उनका अनुसार यस पोखरीमा किरात समुदायका वान्तावा माङ्गपाहाङ्ग राईहरुले वंशावली भेला भएर पूजाआजा गर्ने गर्दछन् । 

पोखरीको नामबाट महिनामा दुई पटक बजार लाग्ने गरेको स्थानीय जानकार अधिराज राईले बताए ।  यहाँ दैविशक्ति रहेको थाहा पाएपछि परापूर्वकालमा धनगञ्ज राईले यसको स्थापना गर्नुभएको उनको भनाइ थियो । वडा कार्यालयको पहलमा अहिले पोखरीको संरक्षण थालिएपछि स्थानीय खुसी भएका छन् ।

“किरातमा यो पोखरीप्रति आस्था छ”, राईले भने, “स्थानीय सरकारको पहलमा संरक्षण भएपछि हामीमा उत्साह थपिएको छ । पोखरीको अवलोकन तथा दर्शन गर्न विभिन्न ठाउँबाट मानिस यहाँ आउने गरेका छन् ।” 

विगतमा यस पोखरीको नाममा टेम्केमैयुङ-५ खावा केराबारीमा ८० मुरी धान फल्ने गुठी रहे पनि अहिले त्यो हराएको उनले जानकारी दिए । पोखरीको गुठीका रुपमा रहेको जग्गा खोजी गरेर त्यसको संरक्षण गर्नुपर्ने स्थानीय टङ्क घिमिरेले बताए । 

सरकारको एक सय घुम्नैपर्ने गन्तव्यभित्र पर्न सफल पर्यटकीयस्थल मुन्दुम पदमार्ग टेम्केमैयुङ गाउँपालिकामा रहेकाले यसले पनि पर्यटकको आवागमनमा थप टेवा पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्दीप न्यौपानेले जानकारी दिए । पालिकाले पर्यटकीय तथा ऐतिहासिक क्षेत्रको विकासका क्षेत्रमा काम गर्दै आएको उनको भनाइ छ ।

“यहाँका पर्यटकीय क्षेत्रको विकास गर्दै गाउँपालिकाको आयवृद्धि गर्ने योजनाका साथ काम गरिरहेको छौँ”, प्रशासकीय अधिकृत न्यौपानेले भने, “पर्यटकीय क्षेत्रको विकासले स्थानीयको सहज जीवनयापनमासमेत टेवा पुग्छ भन्ने हाम्रो लक्ष्य हो । यस्ता ठाउँको संरक्षणसँगै प्रचारप्रसारमा पनि ध्यान दिएका छौँ ।”

टेम्केमैयुङ गाउँपालिकामा धेरै पर्यटकीयस्थल रहेकाले त्यस्ता क्षेत्रको संरक्षण गर्दै विकासमा जोड दिइएको  गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन् । “हाम्रो गाउँपालिका प्राकृतिक स्रोतसाधनको क्षेत्रबाट निकै धनी छ”, उनले भनिन्, “भौगोलिकरुपमा ठूलो रहेकाले सबै ठाउँमा सोचेअनुसार बजेट विनियोजन गर्न सकिएको छैन । प्रदेश र केन्द्र सरकारसँग योजना माग गरेर पर्यटकीय महत्व भएका क्षेत्रको विकासमा जुटेका छौँ ।”

पाँचधारे प्रशस्त पर्यटकीय सम्भावना बोकेको क्षेत्र रहेकाले यहाँको संरक्षण र विकासमा गाउँपालिकाले जोड दिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए ।

“पर्यटन क्षेत्रका साथै पालिकाभित्र रहेका सबै सम्भावित क्षेत्रको योजनाबद्धरुपमा विकास थालनी गरेका छौँ”, उनले भने, “पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने प्रशस्त हरियाली चरन क्षेत्र छन् ।  यस्ता ठाउँको स्तरोन्नति गर्दै स्थानीयलाई कृषि तथा पशुपालनमा जोड्ने योजना छ ।” -रासस
 



नयाँ