- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कोहलपुर । कोहलपुर बृहत खानेपानी उपभोक्ता संस्थाको निर्वाचनमा पाँच दल एक साथ लडेको प्यानललाई हराउँदै लोकतान्त्रिक प्यानलका टेकनारायण भुषाल विजयी भएका छन् । आज बिहान सम्पन्न भएको मतगणनामा भुषाल १ सय ९७ मतान्तरले विजयी भएका हुन् ।
अध्यक्षमा निर्वाचित भुषालले १ हजार २१४ मत प्राप्त गरेका छन् भने गठबन्धनका साझा उम्मेदवार रुद्र खनालले १ हजार १७ मत र स्वतन्त्र प्यानलका उम्मेदवार विष्णु तिवारीले ३८२ मत प्राप्त गरे ।
उपाध्यक्षमा लोकतान्त्रिक प्यानलकै विरबहादुर विष्ट विजयी भएका छन् । विष्टले १ हजार १४१ मत ल्याए भने उनका निकटम् प्रतिद्वन्दी साझा प्यानलबाट उम्मेदवार बनेका यम बहादुर रावत क्षेत्रीले ८९४ मत र स्वतन्त्र प्यानलका मोहन प्रसाद चापागाईंले ४९८ मत ल्याए ।
सचिवमा पनि लोकतान्त्रिक प्यानलकै गोविन्द वाग्ले निर्वाचित भएका छन् । वाग्लेले १ हजार ५६ मत ल्याउँदा साझा प्यानलका राम कृष्ण पाण्डेले ८९८ मत ल्याए । सहसचिवमा लोकतान्त्रिक प्यानलकै बाल कुमारी सापकोटा, कोषध्यक्षमा ध्रुव आचार्य, सहकोषाध्यक्षमा ईश्वर प्रसाद शर्मा निर्वाचित भएका छन् ।
कुल ५ हजार २७७ मतदाता रहेको कोहलपुर बृहत खानेपानी उपभोक्ता संस्थाको शुक्रबार भएको निर्वाचनमा २ हजार ८८७ मत खसेको थियो ।