arrow

मधेसमा लम्पी स्किनले लियो दुई हजार बढी गाईबस्तुको ज्यान

logo
निरञ्जन साह,
प्रकाशित २०८० साउन १५ सोमबार
lumpi-vaccine-cows.jpg

धनुषा । मधेस प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेस सरकारले आठ वटै जिल्लामा लम्पी स्किन रोगविरुद्धका आठ–आठ हजारका दरले कूल ६४ हजार खोप पठाएको बताएका छन् ।

सोमबार रोग विरुद्वको खोप अभियानलाई जनकपुरधामस्थित सिताराम गाई गौशालामा उद्घाटन गर्दै मन्त्री न्यौपानेले यो समस्या पहिलादेखिनै भए पनि अहिले भयावह भएको बताउँदै यस्ता समस्याहरु दीर्घकालीन रुपमा समाधान गर्न सरकारले पहल गरिरहेको जानकारी गराए ।

स्थानीय सरकारहरुलेसमेत रोग विरुद्वको खोप आफ्नो पहलमा लगाइरहेको भए पनि प्रदेश सरकार अभियानका रुपमा खोप लगाउन सुरु गरेपछि रोग नियन्त्रण हुने विश्वास मधेस सरकारको रहेको मन्त्री न्यौपानेले बताए । 

लम्पी स्किन रोगका कारण मधेश प्रदेशमा दुई हजार भन्दा बढी गाईबस्तु सहितका पशुहरुको मुत्यु भएको तथ्याङ्कले देखाएको छ । 

खडेरीको चपेटामा परेको मधेस प्रदेशको आठ वटै जिल्लामा यस रोगका कारण गाईबस्तुको व्यापक क्षति भएपछि किसान मर्कामा परेका हुन् ।  
सोमबार जनकपुरधाममा मन्त्री न्यौपानेले लम्पी स्किन रोगका कारण मधेस प्रदेशमा दुई हजार भन्दा बढी गाईबस्तु सहितका पशुहरुको मुत्यु भएको तथ्याङ्कले सार्वजनिक गरे।

मधेस प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले उपलब्ध गराएको जानकारीअनुसार सिराहामा सबैभन्दा बढी १ हजार १ सय १८ गाई, भैँसी सहितका पशुको मृत्यु भएको हो भने पर्सामा सबैभन्दा कम दुई पशुको मृत्युसहित मधेस प्रदेशमा हालसम्म यो रोगबाट २ हजार २५ पशुको मृत्यु भइसकेको छ ।

लम्पी स्किनका कारण सबैभन्दा बढी गाईगोरुको मृत्यु भएको देखिन्छ । मृत्यु भएको २ हजार २५ पशुमा भैसी–राँगा मात्र छ छन् भन्ने २ हजार १९ वटा गाई–गोरुको मात्र मृत्यु भएको छ । 

मधेस प्रदेशका आठ वटै जिल्लाहरुमा हालसम्म ४५ हजार ८ सय २५ पशुलाई लम्पी स्किन विरुद्वको खोप लगाइसकिएको समेत पशु अधिकृत चिकित्सक डा रञ्जितकुमार अधिकारीले बताए ।

अहिलेसम्म सप्तरी, सिराहा, महोत्तरी र पर्सामा खोप लगाउन सुरु गरिएको छैन भने सर्लाहीमा सबैभन्दा बढी १२ हजार ३ सय २५ पशुलाई खोप लगाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ