arrow

डेंगी नियन्त्रणका लागि विद्यालय बन्द

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १७ बुधबार
dangue.jpg

सुनसरी ।  सुनसरीको धरान उपमहानगरपालिकामा डेंगी भाइरस नियन्त्रणका लागि पालिकाभित्रका सबै शैक्षिक संस्थाको पठनपाठन बन्द गरिएको छ । मङ्गलबार कार्यपालिका बैठकबाट उक्त निर्णय गरिएको हो । 

विद्यालयमा पठनपाठन बन्द गरी डेंगी नियन्त्रण अभियान चलाउने निर्णय गरेको धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङले जानकारी दिए । 

उपमहानगरले बिदाको बेला विद्यालयका शिक्षक, विद्यार्थीलाई डेंगी नियन्त्रणका लागि अभियानमा सहभागी गराउन आह्वान गरेको छ । बैठकले शिक्षक र विद्यार्थीसँगै सबै वडामा सामाजिक सङ्घसंस्था, टोल विकास समिति, स्थानीय समुदाय एकसाथ आ-आफ्नो वडाको टोलटोलमा खटिन अनुरोध गरेको छ ।

डेंगी फैलाउने एडिज एजिप्टाई जातको लामखुट्टेको फुल पार्ने स्थान, लार्भा र प्युपा बन्ने स्थान पहिचान गरी नष्ट गर्ने अभियान चलाउन विद्यालय बन्द गरिएको धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले बताए । 

वडा समिति कार्यालय आ-आफ्नो वडामा निःशुल्क जाँच र औषधि वितरणका लागि स्वास्थ्य शिविर सञ्चालन गरे पनि लामखुट्टेको फुल, लार्भा र प्युपा नै नष्ट नगरेसम्म डेंगी नियन्त्रण नहुने देखिएकले व्यापक जनपरिचालन गर्ने निर्णय गरिएको धरान-१५ का वडाध्यक्ष नरेशकुमार इवारामले बताए ।

धरानमा डेंगीबाट गत जेठ तेस्रो सातायता एक बालिकासहित आठजनाको मृत्यु भइसकेको छ । निजी क्लिनिक, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतमा डेंगीका बिरामीले शय्या पाउन मुश्किल भएको छ । 

यही साउन १५ गतेसम्ममा चार हजार दुई सय १८ जनाको जाँच गर्दा दुई हजार चार सय ९५ जनामा डेंगी पोजिटिभ पाइएको धरान उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ