arrow

तराईमा खानेपानीको समस्या कोरोना महामारीभन्दा बढी भयावह

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १९ शुक्रबार
water-tap.jpg

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकालगायत तराईका जिल्लामा देखिएको पानीको समस्यालाई तत्कालीन र दीर्घकालीनरूपमा समाधान गर्न पर्साका जनप्रतिनिधिहरूले सङ्घ सरकारलाई अपिल गरेका छन् । 

वीरगञ्ज महानगरपालिकाले बिहीबार वीरगञ्जमा आयोजना गरेको ‘खानेपानी समस्या सम्बन्धमा सरोकारवालसँग छलफल’ विषयक कार्यक्रममा प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले सङ्घ सरकारलाई यस्तो आग्रह गरेका हुन् ।

कार्यक्रममा सहभागी नेपाल सरकारका खानेपानीमन्त्री महिन्द्र राय यादवलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्यद्वय प्रदीप यादव र अजयकुमार चौरसियालगायतका जनप्रतिनिधिले तराईका जिल्लामा देखापरेको खानेपानीको समस्या कोरोना महामारीभन्दा बढी भयावह अवस्थामा देखिएकाले यसको तत्कालीन र दीर्घकालीनरूपमा समाधान गरी सर्वसाधारणको ज्यान रक्षा गर्न सङ्घ सरकारलाई आग्रह गरेका हुन् ।

 जनप्रतिनिधिले सर्वसाधारणले खोनेपानीको अभाव खेपिरहेको र  वर्षा नहुँदा कृषि कार्यमा समेत समस्या देखिएकाले यस क्षेत्रलाई सुक्खा क्षेत्र घोणा गर्ने गरी किसानलाई राहत प्रदान गर्न माग गरेका छन् ।

खानेपानीको समस्या दिनानुदिन भयावह हुँदै गएको र आउने दिनमा यो समस्या विकराल हुँदै जाने भएकाले तराईलाई मरुभूमि र तराईवासीलाई अकाल मृत्युबाट जोगाउन सरकारले तत्कालै अग्रसरता देखाउन प्रतिनिधिसभा सदस्यद्वयले आग्रह गरे ।

कार्यक्रममा जनप्रतिनिधिले राखेका जिज्ञासा तथा विभिन्न मागका विषयमा मन्त्री यादवले तराईका विभिन्न जिल्लामा देखिएको खानेपानीको समस्याप्रति सरकार अत्यन्त गम्भीर रहेको र खानेपानी समस्यालाई तत्काल सम्बोधन गर्न आवश्यकताका आधारमा डिपबोरिङ र स्यालोट्युबवेल जडान गराउने तयारीमा सरकार रहेको जानकारी दिए । उनले नेपाल खानेपानी संस्थानको क्षमतालाई वृद्धि गर्दै त्यसको पहुँचलाई बढाउँदै लैजान संस्थालाई निर्देशन दिए ।

 उनले तराईका जिल्लामा देखिएको खानेपानीको अभाव चुरेक्षेत्रको अत्यधिक दोहनले गर्दा भएको र सो क्षेत्रको संरक्षण गर्दै पानीको सतहलाई बढाउन रिजर्भ ड्याम बनाउने सोचमा नेपाल सरकार रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ