arrow

स्थानीय सरकारसँग विकासमा समन्वय : मुख्यमन्त्री यादव

logo
निरञ्जन साह,
प्रकाशित २०८० साउन २० शनिबार
Saroj kumar yadhav.jpg

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले स्थानीय सरकारसँग समन्वय गरी विकास कार्य अघि बढाइने बताएका छन् ।

प्रदेश समन्वय परिषदको बैठकलाई शुक्रबार सम्बोधन गर्दै मुख्यमन्त्री यादवले जनताकै लागि विकास गर्ने भएकोले प्रदेश सरकारले स्थानीय सरकारसँग समन्वय गरेर अघि बढ्न चाहेको स्पष्ट पारे । 

मुख्यमन्त्री यादवले युवा र कृषिलाई जोडेर आएको बजेट एवम् प्रदेशका योजनाहरु नियमन गर्न निरन्तर अनुगमन समिति सक्रिय बनाइने घोषणासमेत गरे । 

उनले प्रदेशको विकास कार्यमा देखापरेको अनियमित क्रियाकलापलाई नियमन गर्न दुई वटा गाडी निरन्तर अनुगमनका लागि खटाइने बताए । 

‘अनुगमन समितिको काम चेकिङ जस्तो हुनेछ’, उनले भने, ‘१५ दिनको काम २५ दिनभन्दा माथि जानुहुँदैन ।’ 

प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री मोहम्मद समिमले प्रदेश सरकारले स्थानीय निकायसँग समन्वय नगरेको प्रसंगमा प्रदेश सरकारलाई मात्र दोष दिएर नुहने बताए ।

स्थानीय तहलेसमेत कुनै कार्य गर्दा प्रदेशसँग समन्वय गर्नुपर्नेमा गृहमन्त्री समिमले जोड दिए । तीन वटै तहका सरकार मिलेर जानुको विकल्प नरहेको भन्दै उनले एकअर्काको परिपूरक हुन आवश्यक रहेको बताए । 

प्रदेश सरकारलाई स्वामित्व ग्रहण गर्ने वातावरण बनाउन स्थानीय तहलेसमेत समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ ।

निमित्त मुख्यसचिव किशोर कुमार चौधरीले प्रदेश समन्वय परिषद्को बैठक नियमित बनाउन कार्यविधि बनाउने प्रतिवद्धता जनाए ।

परिषद् सदस्य सचिव एवम् प्रदेश सचिव रामकृष्ण पुडासैनीले बैठकले सवालहरुलाई सहिरुपमा पहिचान गर्न सघाउ पुर्याउने विश्वास व्यक्त गरे ।

सो अवसरमा जिल्ला समन्वय समिति सिराहाका प्रमुख दिनेशकुमार महतो, कलैया नगरपालिकाका नगर प्रमुख विनोद साह, गौर नगरपालिकाका प्रमुख शम्भु साह, गणेशमान चारनाथ नगरपालिकाका उपप्रमुख तुलसा कुमारी पाण्डेय, गौशाला नगरपालिकाका उपप्रमुख रेनुकुमारी महतो, हनुमाननगर कंकालिनी नगरपालिकाका उपप्रमुख सरिताकुमारी यादव लगायतले परिषद्को बैठक नियमित गर्नुपर्नेमा जोड दिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ