arrow

प्रचण्डको विकल्पबारे बहसः बैठकभित्र चर्को आवाज, बाहिर बोल्न अप्ठेरो

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २० शनिबार
maoist-meeting-2080-04-17a.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । संसदको अधिवेशन रोकेर माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा सरकारको आलोचना, नेतृत्व परिवर्तन र पार्र्टी रुपान्तरणको प्रश्न जोडतोडले उठाइएको छ । तेस्रो दिनको बैठकमा सहभागी केन्द्रीय सदस्यहरुले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यशैली, सचिवालयमा बसेका व्यक्तिहरुको व्यवहार र पार्टीभित्र मौलाएको सामान्तवादले विचार, शैली र व्यवहारमा रुपान्तरण खोजिरहेको बताएका थिए । 

शुक्रबार तेस्रो दिनको बैठक सकिँदा ४०७ मध्ये माओवादीका एक सय ३० जना भन्दा बढी केन्द्रीय सदस्यहरूले अध्यक्ष प्रचण्डको मौखिक धारणालाई प्रतिवेदन मानेर आफ्ना धारणाहरु राखिरहेका छन् । 

प्रचण्डले लिखित प्रतिवेदन वितरण नगरेपछि उनीहरुले प्रचण्डको बोलीलाई पार्टीको राजनीतिक प्रतिवेदन मानिरहेका छन् । साउन १७ गते प्रचण्डले वाचन गरेको प्रतिवेदन सम्झिएका आधारमा उनीहरूले धारणा राख्नुपर्दा कतिपयले यस्तो अचाक्ली भएको भन्दै प्रचण्डको आलोचनासमेत गरेका थिए । 

पार्टीले चार पटक निर्वाचनमा भाग लिँदा अघिल्लो पटक भन्दा पछिल्लो पटक झन् खुम्चिएकाले नेतृत्वलाई सचेत बनाउनुपर्छ, भन्दै काठमाडौँमा आएका केन्द्रीय सदस्यहरुले लिखित दस्तावेज पनि पढ्न र हेर्न पाएका छैनन् । 

उनीहरुले अबको केही समयपछि पार्टीमा प्रचण्डको विकल्प खोज्नु पर्ने आवाज पनि उठाएका थिए । ‘सधै नेतृत्वमा प्रचण्ड रहँदैनन् अब विकल्प तयार हुनुपर्छ तर नेताहरु एकमत भएको देख्दैनौँ’, पार्टीका एक केन्द्रीय सदस्यले भने ‘हामीले यो आवाजभित्र पनि उठाएका छौँ तर बाहिर बोल्न अप्ठेरो भैरहेको छ ।’ 

बैठकमा तेस्रो दिनसम्म आइपुग्दा केन्द्रीय सदस्यहरूबाट पार्टीको पुनर्निर्माणको सम्भावनाबारे प्रचण्डले गरेको संकेतभन्दा विघटनको खतरामा बढी ध्यान दिइएको थियो । 

‘पार्टीभित्र रुपान्तरण र पुनर्निर्माणको विषय जोडतोडले उठेको छ’, केन्द्रीय सदस्य युवराज चौलागाईले भने । उनका अनुसार रुपान्तरण भएमा पार्टी निर्माणमा र पुनर्निर्माणमा कार्यकर्ताहरुको जोश जाँगर चल्नेछ । 

बैठकको पूरा समय प्रचण्डले दिन नपाए पनि महासचिव देव गुरुङ लगायतका नेताहरु बसेर केन्द्रीय सदस्यहरुको धारणा सुनिरहका छन् । उनीहरुले बेलाबखत केन्द्रीय सदस्यहरुलाई ट्रयाक बाहिर नजान आग्रहसमेत गर्दै आएका छन् । 

शुक्रबार बोल्ने अधिकांशले प्रचण्डको संगठनात्मक कार्यशैलीमाथि नै प्रश्न उठाएका थिए । केन्द्रीय सदस्य प्रकाशचन्द्र पाण्डेले पार्टी अध्यक्ष प्रचण्डबाट पुष्पकमल हुँदै छविलालमा पुगेर टुंगिने चरणमा रहेको भन्दै आलोचना गरे । 

उनी प्रचण्डको सुरक्षा प्रमुख पनि थिए । तर उनैले शुक्रबारको बैठकमा प्रचण्डको आलोचना गरेका थिए । अर्का केन्द्रीय सदस्य गोपाल शर्माले प्रचण्डकै नेतृत्वमा बनेको संगठन प्रचण्डकै नेतृत्वमा विघटन हुने ठाउँमा पुगेको बताउँदै सबैलाई सचेत रहन आग्रह गरेका थिए । 

शुक्रबारको बैठकमा नन्दकुमार प्रसाईँ, सत्य पहाडी, मुक्ति प्रधान, लेखनाथ दाहाललगायत ६२ जना सदस्यले विचार राखेका थिए । 

उनीहरुले पार्टीका नेताहरु तस्करीमा मुछिनु नै पार्टीको अधोगति भएको धारणा पनि राखेका थिए । पार्टीका केन्द्रीय सदस्य लेखनाथ दाहालले सुन प्रकरणमा मुछिएका नेताहरुको बारेमा सीआईबीले अनुसन्धान गर्नुपर्नेमा जोड दिएका थिए । बैठक अझै केही दिन लम्बिन सक्ने माओवादीका महासचिव देव गुरुङले जानकारी दिएका छन् । 

‘बैठकमा बोल्नेहरुको सूची लामो छ, धेरै पछि केन्द्रीय समितिको बैठक बसेको हो पार्टीको नेतृत्व तहको कुरालाई ध्यान दिनुपर्छ’, महासचिव गुरुङले भने ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ