arrow

प्रचण्डले जवाफ दिएसँगै सकिँदै माओवादी बैठक, सुन तस्करलाई पार्टीलेसमेत छानबिन गर्न सुझाव

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २१ आइतबार
maoist-meeting-2080-04-17a.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सुन तस्करीजस्तो गम्भीर अपराधको विषयमा संसदभित्रको छलफल रोकेर आन्तरिक बैठकमा जुटेको माओवादीभित्र सुन तस्करीसँग जोडिएका नेताहरुलाई कारबाही हुनुपर्ने माग उठेको छ । 

पछिल्लो पाँच दिन केन्द्रीय सदस्यहरुले स्थायी समिति, सचिवालयमा रहेका नेताहरुनै विवाद मुछिएपछि उनीहरुको विषयमा पार्टीलेसमेत छानबिन गर्नुपर्ने आवाज उठेको हो । 

बुधबारदेखि राजधानीको प्रज्ञा भवन, कमलादीमा जारी नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको चौथो पूर्ण बैठकमा बोल्ने क्रममा सकिएपछि आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेर सकिन लाग्दा प्रचण्डबाट नेताहरुले सुन तस्करी र नेताहरुको सम्पत्ति छानबिन लगायतका विषयमा उत्तर खोजिरहेका छन् । 

शनिबार राति अबेरसम्म बसेको बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम अन्तिम चरणमा पुगेको थियो । आज एकाध नेताहरुले धारणा राखेपछि प्रचण्डले जवाफ दिने कार्यक्रम रहेको छ । 

शनिबार पदाधिकारीसहित ७४ जनाले प्रतिवेदनमाथि छलफलमा भाग लिएका थिए । चार दिन अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि २१५ जना सदस्यहरूले आफ्नो धारणा राखेको थिए । 

यो पटक माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा प्रचण्डले मौखिक रुपमा राखेको धारणामाथि केन्द्रीय सदस्यहरुले टिप्पणी गरिरहेका थिए । मौखिक भनाईलाई राजनीतिक प्रतिवेदन मानेर केन्द्रीय सदस्यहरुले धारणा राख्दा सरकारको प्रशंसा तर पार्टी संगठनको अवस्थामा आलोचना गरेका थिए । 

उद्घाटन सत्रको दिन प्रचण्डले मौखिक रुपमै राजनीतिक रुपमा प्रस्तुत गरेका थिए । प्रचण्डले मौखिक रुपमा राखेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमा तीन महिने ‘जनतासँग पार्टी, अभियान सञ्चालनको आगामी कार्ययोजना बनाउने बताएका थिए ।  पार्टी संगठनमा देखिएका राजनीतिक, वैचारिक तथा सांस्कृतिक चुनौती हल गर्दै जनताको भरोसायोग्य पार्टी निर्माणको आवश्यकता रहेको भन्दै उनले सो प्रस्ताव अगाडि सारेका हुन्  । 

संगठन विस्तार अभियानअन्तर्गत पार्टीका सबै तहका नेतालाई वडासम्म फर्काएर जनताको घरदैलोमै समय बिताउने त्यसमा उल्लेख गरिएको थियो । ‘भद्दा रहेको संगठनात्मक संरचनालाई चुस्तदुरुस्त बनाउने, पार्टीलाई जीवन्त र गतिशील बनाउने कुरा नै अध्यक्षको प्रतिवेदनको सार हो,’ पार्टीका सचिव देवेन्द्र पौडेलेले भने । 

सहर, सिंहदरबार, बालुवाटार, प्रदेश सदरमुकाममा नेता–कार्यकर्ता केन्द्रित हुने, पद र प्रतिष्ठाका लागि जेसुकै पनि गर्ने, अपारदर्शी जीवनशैलीजस्ता प्रवृत्ति बढेको भन्दै प्रचण्डले विधानको सम्मान गर्दै जनता माझ जानुपर्ने बताएका थिए । 
अभियानअन्तर्गत पार्टीको महाधिवेशनको दस्ताबेजमा आधारित रहेर व्यापक बहस, अन्तरक्रिया र प्रशिक्षण गर्ने, मंसिरमा हुने विधान अधिवेशनसम्म संगठन र त्यसपछि विशेष महाधिवेशनसम्म नयाँ वैचारिक संश्लेषणमा पुग्ने कार्ययोजनामा उल्लेख छ । त्यस्तै, पार्टी र जनस्तरसम्म गणतन्त्रका उपलब्धि प्रचार–प्रसार गर्ने, सूचना प्रविधिको विकास र समाजवादी आन्दोलनमा त्यसले पार्ने प्रभावका विषयमा छलफल, डिजिटल प्लेटफर्म, आईसीटी तालिम लगायतका विषयमा पनि प्रचण्डले धारणा राखेका थिए । यही विषयमा केन्द्रीत भएर केन्द्रीय नेताहरुले आफ्ना धारणा राखेका थिए । 

पाँच दिनसम्म चलेको बैठकमा केन्द्रीय सदस्यहरूले नीति र नेतृत्वको खुलेर आलोचना गरेका थिए । नेतृत्वको आलोचना सुनेका प्रचण्डले पार्टी एक ढिक्का रहेको अनुभूति भएको अभिव्यक्ति दिएका थिए । 

अधिकांश सदस्यहरूले पदाधिकारीदेखि वडा तहसम्म निर्वाचन प्रणालीबाट कार्यसमिति चयन गर्न प्रस्ताव गरेका थिए । उनीहरुले प्रचण्ड पनि निर्वाचन लड्न तयार हुनुपर्ने, नेतृत्वमा एकै व्यक्तिको हालीमुहाली रहेको जस्ता विषयमा पनि प्रचण्डको आलोचान भएको थियो । 

केन्द्रीय सदस्यहरुले विधान सम्मेलन नगरी विशेष महाधिवेशन गर्न सुझाव दिए । नेतृत्वको रूपान्तरणसहित पार्टी रूपान्तरणमा जोड दिए । 

तर उनीहरूले आफूले दिएको सुझाव कार्यान्वयन हुनेमा आशङ्का गरेका थिए । हिमाल शर्मा, लेखनाथ न्यौपाने, लेखनाथ दाहाल, रामप्रसाद सापकोटा, सरल सहयात्री पौडेल, माधव सापकोटा शिव बस्नेत, गोम्बू शेर्पा, पूर्ण कार्कीलगायत धेरै युवा नेताहरूले केन्द्रीय समितिमा लिखित दस्तावेज नआएकोमा प्रचण्डको आलोचना गरेका थिए । 

पाँच दिनसम्म उठेका प्रश्नहरुको जवाफ दिँदै प्रचण्डले आज बैठक समापन गर्नेछन् । 

‘आज बैठक सकिन्छ, प्रचण्डले जवाफ दिने कार्यक्रम रहेको छ’, सचिव पौडेलले भने ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ