arrow

गौर हत्याकाण्डको फाइल

प्रचण्डको अडानमा उपेन्द्र अताल्लिए, सरकार छाडे राप्रपा र रास्वपालाई ल्याउने दाबी 

नक्कली भुटानी शरणार्थीको प्रकरण जोडेर देउवालाई फकाउँदै उपेन्द्र, ओलीसँग नजिकिँदै, गठबन्धनमा हेरफेरको संकेत  

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २५ बिहिबार
gathabandhan-2080-03-21.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । गौर हत्याकाण्डको फाइल खोल्ने तयारपछि सरकारमा रहेको जनता समाजवादी पार्टी जसपा र माओवादी केन्द्रबीच खटपट शुरु भएको छ । भर्खरैमात्र समाजवादी मोर्चा बनाएर एउटै निर्वाचन चिन्ह लिएर आउँदो निर्वाचनमा भाग लिने तयारसमेत गरेका यी दुई पार्टीबीच खटपट शुरु भएको हो । 

बुधबार साँझ जसपाका अध्यक्ष उपेन्द्र यादवले सरकारमा बसिरहनुको कुनै अर्थ नभएको भन्दै आफ्ना पार्टीका नेताहरुसँग कुराकानी गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सरकार छाड्ने सन्देश पुर्याएका थिए । 

जनता समाजवादी पार्टीले समर्थन फिर्ता लिए पनि रौतहटको गौरमा २७ जनाको मृत्यु भएको घटनाको फाइल खोल्ने चेतावनी दिँदै प्रचण्डले सरकार छाडे पनि फाइल खोलिछाड्ने जवाफी सन्देश फर्काएको स्रोतको दाबी छ । 

१७ वर्षअघि भएको हत्याकाण्डबारे छानबिन गर्ने गरी गृह मन्त्रालयले घटनाका पीडितसँग मंगलबार पाँच बुँदे सहमति गरेपछि जसपाका अध्यक्ष यादव झस्किएका थिए । 

मन्त्रालयमा भएको सहमतिको १ नम्बर बुँदाले गौर हत्या काण्डको फाइल खोल्ने देखिएको छ । 

‘उक्त घटनाको विषयमा तत् समयमा दर्ता भएको जाहेरी समेतलाई छानबिन र अनुसन्धान गरी तथ्य र प्रमाणको आधारमा दोषीलाई कानून बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउने’, सहमतिमा उल्लेख गरिएको छ । 

यो सहमति आफू र आफ्ना कार्यकर्ता फसाउनका लागि नै भएको भन्दै जसपा अध्यक्ष यादव झस्किएर सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामार्फत प्रधानमन्त्री प्रचण्डलाई गौर हत्याकाण्डको फाइल खोलेमा सरकार छाड्ने सन्देश पठाएकोमा प्रचण्डले पनि जवाफी सन्देश फर्काएको स्रोतको दाबी छ । 

बुधबार यादवले कांग्रेस सभापति देउवासँग भेटवार्ता गरेर प्रधानमन्त्री प्रचण्डलाई यस्तो सन्देश पठाएका थिए । देउवासँगको भेटमा यादवले ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा तपाईंलाई अप्ठ्यारो पारेजस्तै अहिले आफूलाई अप्ठेरो पार्न प्रधानमन्त्री दाहाल उद्धत रहेकोे’ भन्दै फाइल खोल्ने सुरसार भएकाले सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने बताएका थिए ।  

स्रोतका अनुसार देउवाले आफूले प्रधानमन्त्रीसँग कुरा गर्ने भन्दै तत्काल सरकार छाड्ने निर्णय नलिन यादवलाई आग्रह गरेको भए पनि प्रचण्ड सकारात्मक बन्न नसकेको र पार्टीभित्र यो फाइल खोल्न दबाब रहेको बताएका थिए । देउवा र प्रधानमन्त्री प्रचण्डबीच बालुवाटारमा भएको भेटमा प्रचण्डले जसपा गए पनि रौतहट काण्डको फाइल खोल्ने बताएका थिए ।

माओवादीले उपेन्द्र यादवलाई बाहिर राखेर राप्रपालाई सरकारमा ल्याउन सक्ने भन्दै गौर हत्याकाण्डको फाइल खोल्न तयार भएको स्रोतको दाबी छ । 

यद्यपि राप्रपा संघीय सरकारमा माओवादीसँग सहकार्य तयार भएको छैन । स्रोतले जसपा बाहिरिए राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सरकारमा ल्याउने तयारी प्रचण्डले गरेको सूचना देउवामा पुर्याएको छ ।  

राप्रपालाई केन्द्र सरकारमा समावेश गराउँदा कोशी प्रदेशमा पनि गठबन्धन बलियो हुने र कांग्रेस नेतृत्वको सरकार टिक्ने वचन प्रचण्डले देउवालाई दिएको स्रोतको दाबी छ । 

यादवले प्रधानमन्त्री प्रचण्ड आफूसँग सकारात्मक नदेखिएपछि मंगलबार राति एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका भन्दै देउवाकोमा खबर पठाइएको पनि प्रधानमन्त्री निकट स्रोतको दाबी छ । 

तर ओली निवास बालकोटमा उपेन्द्र यादव नगएको र ओलीसँग भेटघाट नभएको एमालेका एक उपाध्यक्षले बताए । 

सरकारबाट बाहिरिनेबारे बुधबार पार्टी कार्यालय बालकुमारी यादवले उपलब्ध केन्द्रीय कार्यकारिणी सदस्यसँग छलफल गरेका थिए । 

१७ वर्षअघि रौतहटको गौरमा माओवादीको सभा बिथोल्ने क्रममा भएको आक्रमणमा २८ जना माओवादी कार्यकर्ताको मृत्यु भएको घटनामा यादवको हात रहेको पीडितहरूले बताउँदै आएका छन् ।

के हो गौरहत्या काण्ड ? 
गौरस्थित राइस मिल्स चौरमा फोरमले २०६३ चैत ७ गतेका लागि आमसभा आयोजना गरेको थियो । फोरमको जिल्ला कमिटीले आयोजना गरेको सो आमसभाका लागि उसले केही दिन अघिदेखि नै प्रचार पनि गरिरहेको थियो । माओवादीले पनि सो स्थानमा कार्यक्रम जुधाएको थियो ।  

पार्टी निकट मधेसी राष्ट्रिय मुक्ति मोर्चाले त्यहाँ कार्यक्रम गर्ने भन्दै अघिल्लो दिन मात्रै प्रचार गरेको थियो । 

कार्यक्रमका लागि चौरमा दुवैले १०० मिटरको दूरीमा मञ्च पनि बनाएका थिए । दुवै दलको मनोबल उच्च रहेको अवस्थामा कार्यक्रम स्थलमा झडप हुनसक्ने अनुमान धेरैको भए पनि नरसंहार नै होला भन्ने केही सोचेका थिएनन् । 

७ गतेको शुरुआत सामान्य थियो ।  बिहान ११ बजेदेखि नै फोरमको जुलुसले नगर परिक्रमा गरिरहेको थियो । फोरमको कार्यक्रममा सहभागी हुन गाउँगाउँबाट मानिसहरु आएका थिए । 

पौने २ बजे माओवादीको जुलुस शुरु भयो । कार्यक्रमका लागि उसले विभिन्न जिल्लाबाट ट्रकमा वाइसीएल कार्यकर्ता ल्याएको थियो । दुवैको जुलुस जम्काभेट हुँदा एकअर्कालाई ताली बजाएर स्वागत गरेका थिए ।

माओवादीले जुलुस गरिरहेकै समयमा यता फोरमको कार्यक्रम शुरु भयो । फोरमका केही कार्यकर्ताले माओवादीको मञ्च भत्काइदिए । माओवादी कार्यकर्ताले सहन सकेनन् । 

केही बेरमै उनीहरु पनि फोरमको मञ्चमाथि जाइलागे, तोडफोड गरे हानाहान भयो । कार्यक्रम स्थलमा गोली पड्कियो ।  

कार्यक्रमस्थल एकै छिनमा रणभूमिका परिणत भयो, भागभाग भयो । पछि त्यहीँ ६ जनाको लास भेटिएको थियो । 

त्यस्तै गौर नगरपालिका क्षेत्रभन्दा बाहिर तत्कालीन हजमुनिया गाविसमा ११, मुडवलवा गाविस जाने बाटोमा २ जना, लक्ष्मीपुर बेलविछुवा गाविसमा २ जना तथा उपचारको क्रममा गौर अस्पतालमा ४ जना र भरतपुर लैजाँदै गर्दा बाटोमा २ जनाको मृत्यु भयो । 

कूल २७ जनामा ५ महिला र २२ पुरुषको मृत्यु भएको थियो । घटनास्थलबाट भागेका माओवादी कार्यकर्तालाई फोरम पक्षले नियन्त्रणमा लिँदै बर्बरतापूर्वक हत्या गरेको थियो । 

आक्रमणकारीसँग राइफल, भाटा र लाठी थिए भन्ने धेरै घाइतेहरुले बताएका थिए । सो घटनामा उपेन्द्र यादवको हात रहेको भन्दै माओवादीले लामो समयसम्म कुरा उठाए पनि यसको सुनुवाई भएको थिएन ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ