arrow

सबैलाई घर पुर्याउने सडक किन जोखिमयुक्त बन्छ ? 

logo
डा बद्रीप्रकाश ओझा
प्रकाशित २०८० भदौ ९ शनिबार
article-badriprakash-ojha-2080-05-09a.jpg

सडकले मानव जीवनमा सुधार ल्याएको विषय सर्वस्वीकार्य नै छ । सबैलाई घरघरसम्म लैजान सहयोग गर्ने माध्यमका रुपमा परिचित सडक आफैँमा जोखिमयुक्त पनि बन्दछ । सडक आफैँ त कसरी बनोस्, हामीबाटै सडकलाई जोखिमयुक्त स्थान बनाइन्छ । 

सडकलाई जोखिममा पार्नेमा पहिलो तत्व हो, मानिसको गल्ती, कमजोरी । मानिसले जानाजान वा नजानेर गर्ने गल्तीले सडकलाई मानिसको ज्यान लिने ठाउँ बनाइएको छ । अमेरिकाको राष्ट्रिय राजमार्ग सुरक्षा विभागले गरेको अध्ययन अनुसार सडक प्रयोगकर्ता मानिसले गर्ने गल्तीले सडक परिघटनाको ९४ प्रतिशत भार ओगटेको छ । अथवा भनौँ ९४ प्रतिशत सडक परिघटना चालकको गल्तीबाट हुन्छन् । हामी सडकमा हिँड्दा वा सवारी साधनमा यात्रा गर्दा अरुले चलाएको सवारी साधनबारे कुराकानी गर्न सक्छौँ वा देख्न सक्छौँ । 

अरुले चलाएको सवारी साधनले दिएको बत्तीको संकेत सबैभन्दा बढी देखिने विषय हो । कुनै घुम्तीमा दायाँ वा बायाँ जाने संकेत दिएको सवारी साधनको चालकले सोही संकेत दिएर सवारी चलाइरहेको पाइन्छ । उसले शुरुमा बालेको बत्तीसंंकेत बन्द गर्न बिर्सन्छ । खास गरी दुई पांग्रे सवारीका चालक यसो गर्दछन् । मष्तिष्कमा एउटा कुरा खेलाउँदै सवारी चलाउनु चालकको ध्यान अन्यत्र केन्द्रित हुने सबैभन्दा पहिलो अड्चन हो । 

गाडी चलाउँदै फोनमा कुरा गर्ने जीपीएस सेट गर्ने, रेडियो वा क्यासेट प्लेयर वा अन्य विद्युतीय सामग्री चलाउने, यात्रीसँग कुरा गर्ने, ऐना वा लुकिङ ग्लास मिलाउने, ऐना हेरेर मेकअप गर्ने, खानेकुरा खाने तथा बालबालिकाको खेलौना मिलाइ दिने, लुगा मिलाइ दिने आदि चालकको ध्यान अन्यत्र केन्द्रित हुने विषय हुन् । त्यस्तै मादक पदार्थ वा लागू औषधको प्रयोग, मस्तिष्कलाई शिथिल बनाउने औषधिको प्रयोग, कल्पना वा दिवा सपना देख्ने, सडकतर्फ नहेर्ने, सडक किनारमा राखिएको विज्ञापन, होर्डिङ बोर्ड, साइनबोर्ड, बिलबोर्ड आदितर्फ ध्यान दिने तथा प्राकृतिक दृष्यतर्फ ध्यान दिने आदि कार्यले चालकको ध्यान अन्यत्र केन्द्रित हुन्छ । 

यसबाट मानिसको ज्यान जोखिममा पर्दछ । त्यस्तै थाकेको चालकलाई सवारी हाँक्न लगाउनु, चालकले बढी गतिमा हाँक्नु, सवारीमा रहेका यात्रीहरुले सिट बेल्ट नबाँध्ने वा शरीरको अंग बाहिर निकाल्ने जस्ता अनुपयुक्त व्यवहार प्रदर्शन गर्नु, पैदल यात्रीले उपयुक्त मापदण्ड नअपनाइ बाटो काट्नु, मोबाइल फोन प्रयोग गर्दै बाटो काट्नु आदि पनि जोखिमयुक्त व्यवहार हुन् । यस बानीले सवारी चालक वा पैदलयात्री जुनसुकै बेला पनि ज्यान गुमाउन बाध्य हुन्छन् । 

हामीले सडक प्रयोग गर्दा अरुलाई पनि यसको असर परेको छ भन्ने विषयमा सवारी साधन प्रयोगकर्ताहरु गम्भीर नबन्नु नै विश्वमा सडक सुरक्षालाई कमजोर बनाउने तत्व हो । 

अध्ययनहरुले कुनै पनि सवारी साधन कुन गतिमा रहेका बेला एक्कासी रोक्नु परे कति दूरी पार गरेपछि मात्र रोक्न सकिन्छ भन्नेबारे जानकारी दिएका छन् । त्यसमा पनि चालकको अवस्थाले पनि प्रभाव पार्दछ । सवारी साधन रोक्नुपर्ने निर्णय निमेष भरमै गर्नुपर्दछ । 

निकै चनाखो चालक भए उसले एक सेकेन्डमै रोक्नुपर्ने निर्णय लिन सक्दछ । सामान्य किसिमको मानिसले करिब डेढ सेकेन्डमा निर्णय लिन सक्दछ । थाकेको वा उमेर बढी भएको चालकले दुई सेकेन्ड भित्रमा निर्णय लिन सक्दछ । साढे दुई सेकेन्ड भित्रमा पनि गाडी रोक्नुपर्दछ भनेर निर्णय गर्न नसक्ने चालकले मानिसको ज्यान लिन्छ । यो अवस्था चारपांग्रेका हकमा मात्र लागू हुन्छ । 

त्यस्तै सवारी साधनको अवस्थाले पनि रोकाइमा प्रभाव पार्दछ । चक्का र ब्रेक राम्रो अवस्थामा रहेको सवारी साधन ब्रेक लगाउँदा सामान्यतया सात मिटर प्रतिसेकेन्डका दरले रोकिन्छ । 

त्यस्तै कुन गतिमा रहेको सवारी साधन कति मिटर टाढा गएर रोकिन्छ भन्ने पनि अध्ययनहरुले देखाएका छन् । सुविधा सम्पन्न सडकमा ४० किलोमिटर प्रतिघण्टाको गतिमा रहेको सवारी सधानमा एक्कासी ब्रेक लगाउँदा २६ देखि ३० मिटर अगाडि पुगेर साधन रोकिन्छ । बाटो सुख्खा भए २६ र भिजेको ३० मिटर टाढा पुग्छ । एवंरितले सवारी गतिका अनुपातमा रोकिने दूरी बढ्दै जान्छ । 

५० किलोमिटर किलोमिटर प्रतिघण्टाको गतिमा रहेको साधन एक्कासी रोक्नुपरे ३५ देखि ४१ मिटर टाढा पुग्छ । ६० को गतिमा भए ४५ देखि ५४ मिटर टाढा पुग्छ भने बढीमा एक सय किलोमिटर प्रतिघण्टाको गतिमा रहेको सवारी साधनमा एक्कासी ब्रेक लगाउनु परे एक सय १३ देखि एक सय ४३ मिटर टाढा पुगेर रोकिन्छ । 

यो नियम कम आय भएका मुलुकमा बनाइएका कमसल सडकमा लागु नहुन पनि सक्दछ तर यसैलाई आधार मानेर आफ्नो सडक र सवारी साधनको अवस्था हेरी सवारी चलाए सम्भावित समस्याबाट मुक्त भइन्छ । 



नयाँ