arrow

बिरक्तिएका महादेव बसेको छायाँनाथ र ऋणीमोक्ष धाममा दर्शनार्थीको भीड

logo
नृपेन्द्र बहादुर मल्ल,
प्रकाशित २०८० भदौ १२ मंगलबार
mahadev-chayanath.jpg

मुगु । मुगु जिल्लामा रहेका हिन्दु तथा बौद्ध धर्मालम्विहरुका प्रमुख तीर्थ स्थलहरू छायाँनाथ र ऋणीमोक्ष धाममा दर्शनार्थीहरुको भीड लागेको छ । नित्य पूजाका लागी छायानाथ र ऋणीमोक्षका गाथ (शिव, पार्वती, बुद्ध र ३३ कोटी देउता र देवीका मूर्तिहरू) छायाँनाथ रारा नगरपालिका वडा नं २ चैन गाउँमा रहेका दुवै धामका मन्दिरमा ११ महिना राखिँदै आए पनि प्रत्येक वर्ष देश विदेशका हिन्दु धर्मावलम्बी हरूको दर्शनका लागी साउन महिनामा छायाँनाथ तथा ऋणीमोक्ष धाममा गाथ लिइने चलन छ । यो वर्ष पनि गाथको दर्शन गर्न र आफू शुद्धी हुन छायाँनाथ तथा ऋणीमोक्ष धाममा मानिसहरूको भीड लागेको हो ।

यी स्थानमा कणाली तथा सुदूर पश्चिममा मानिँदै आएका विभिन्न देवताका धामी तथा कुल देवताहरूलाई एक पटक छायाँनाथको दर्शन तथा शुद्धी गर्न ल्याउनै पर्ने परम्परा रीति रहेकाले साउन महिनाको शुक्ल अष्टमी देखि जनै पूर्णिमा सम्म छायाँनाथ जाने मानिसहरूको भीड लाग्ने गर्दछ । देउताका धामी, कुल देउताका साथै आफ्ना पृत्रीहरुको मोक्षका लागी छायाँनाथ र ऋणीमोक्ष भन्दा अर्को कुनै धार्मिक स्थल नभएको हिन्दुहरू विश्वास गर्छन् ।

जिल्लाको मुगुम कार्मारोङ्ग गाउँपालिका वडा नं १ अवस्थित ४८ सय मिटर उचाइमा रहेको छायाँनाथ हिमालमा रहेको छाँयानाथ धाम र छायाँनाथ रारा नगरपालिका वडा नं १० र ११ मा पर्ने ऋणीमोक्ष धाममा यो वेला देश भित्रका र छिमेकी देश भारतबाट समेत गरि हजारौँ त्रितालुहरू आफ्ना कुल देवताको शुद्धी, नयाँ धामी, झाँक्री औतार गर्न, आफुले चाहेको बर माग्न, जीवनमा जानेर नजानेर आफूबाट भएका पापबाट मोक्ष प्राप्त गर्न र आफ्ना पृत्रिहरुको सम्झना र मोक्षका लागी आउने भएकाले दुवै धामका गाथ दर्शनका लागी र नयाँ धामीलाई बिदो , पुरानालाई शुद्धी अनि दर्शनार्थीलाई वर दिन छायाँनाथ र ऋणीमोक्ष धाममा लगिँदै आएको छायाँनाथका पुजारी सनत कुमार हमाल बताउँछन् ।

हिन्दुहरूको धार्मिक ग्रन्थ श्री स्वस्थानी व्रत कथाको १० औँ अध्यायका अनुसार दक्षप्रजापतीले आफ्नो घरमा लगाएको महायज्ञमा आफ्ना ३३ कोटी ज्वाई देवता तथा देवीहरूलाई बोलाए पनि भगवान् महादेवलाई नवोलाउदा छोरी सतिदेवीले आफ्ना बुवा दक्षप्रजापतीलाई नबोलाउनुको कारण बारे सोध्दा दक्ष प्रजापतिले महादेव बारे नाना थरीका गाली, लाञ्छना, आरोप लगाउँदै त्यस्ता व्यक्ति महायज्ञमा आए आफ्नो बेइज्जत हुने भएकोले नबोलाएको जवाफ दिएपछि आफ्ना श्रीमान् बारेको वेइज्ज्ती सहन नसकी यज्ञको होम कुण्डमा हाम फाली प्राण त्याग गरेको उल्लेख छ । 

सती देवीले प्राण त्याग गरेपछि बिरक्तिएका महादेव सतिदेवीका शव बोकी पृथ्वी लोकतिर झरेको र सतिदेवीको शव गल्दै जाँदा जहाँ जहाँ सती देवीका अङ्गहरू पतन भए ती शक्ति पीठको रूपमा स्थापित भए । सोही क्रममा महादेव छायाँक्षेत्र हिमालमा पुगेको र त्यहाँ सती देवीका बाँकी रहेका सबै अङ्ग शरीर पतन हुँदा छायाँनाथ एक अदभुद शक्ति पिठका रूपमा स्थापित भएको उल्लेख छ । 

सतीदवीका अन्तिम शरीर सबै छायाँनाथमा पतन हलुङ्गो महसुस भई झस्केर बिउँझिएका महादेव आफ्नो पिठ्यूँमा सतिदेवीका शरीर नदेखेपछि झनै बिरक्तिएको स्वर्गलोगमा नगई छायाँनाथमा बसेको र सतिदेवीको सम्झना गदै अझै पनि महादेव छायाँनाथमा रहेको विश्वास हिन्दुहरूले गर्ने गर्छन् । त्यही भएर छायाँनाथमा दर्शन गर्न गएमा साक्षात् भगवान् शिवको दर्शन हुने विश्वास गरिन्छ ।

यता ऋणीमोक्ष तीर्थ स्थल बारे हिन्दु धर्मालम्विहरु छायाँनाथमा महादेव बसेकाले उहाँको ध्यान सतिदेवीबाट मुक्त गराउन र दक्षप्रजापती तथा ३३ कोटी देवी देवताले महायज्ञमा महादेव बारे गरेको पापबाट मोक्ष दिलाउन स्वर्गबाट भगवान्, विष्णु, बर्माले अप्सराहरू पृथ्वीमा पठाएको, ऋणीमोक्षमा अप्सराहरूले नाचगान गरेको, जति नाचगान गरे पनि महादेवले छायाँनाथ क्षेत्र नछोडेकाले अझै पनि ऋणीमोक्षमा अप्सरा तथा ३३ कोटी देवी देवता त्यही रहेको बताइन्छ र त्यही भएकाले मानिसहरू पूजाआजा गरि ऋणीमोक्षमा देवी देवतालाई खुसी पार्ने वर प्राप्त गर्ने, विभिन्न पापबाट मोक्ष पाउने, गौजो काट्ने गर्दछन् । शुद्ध मनले ऋणीमोक्षमा दर्शनार्थीले जे वर मागे त्यही पाउने अर्का पुजारी अश्विनी कुमार हमाल बताउँछन् ।

छायाँनाथ मन्दिर रहेको चैन गाउँबाट छायाँनाथ धाम ३ दिन टाढा हिमालमा रहेको र त्यहाँ बास, गाँसको व्यवस्था नभएकाले तिर्थालुहरुले आफै बास गाँसको व्यवस्था मिलाउनु पर्छ । छायाँनाथ हिमालबाट निस्केको छायाँनाथ खोला र ऋणीमोक्षमा रहेको ऋणीमोक्ष तालमा नुहाई धुवाई गरि शुद्ध ग्रहण गर्न गाथको दर्शन गरि तिर्थालुहरु घर फर्न्किन्छन ।

विश्वमा रहेका हिन्दु तथा ओमकार परिवारको प्रमुख तथा साझा आस्थाको केन्द्र रहेको छायाँनाथ धामको उचित प्रचार प्रसार र भौतिक विकासमा राज्यको ध्यान जाने हो भने देशले धार्मिक पर्यटक भित्राउन सक्ने ठुलो सम्भावना रहेको छ । कणालीमा रहेका यस्ता धार्मिक तथा पर्यटकीय स्थलहरूमा पर्यटकमैत्री विकासका पुर्वाधारको निर्माण गरि पर्यटक आकर्षक गर्न सकेमा कणाली प्रदेश सरकार र यहाँ रहेका स्थानीय सरकारहरूले सधैँ सङ्घीय सरकारको मुख ताक्ने दिन अन्त हुन सक्छ । 

साउन अष्टमीका दिन सशस्त्र प्रहरी, नेपाल प्रहरी सहित सरकारी टोली गाथ सहित छायाँनाथ र ऋणीमोक्ष धाम निस्केको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ