arrow

एसिया कप क्रिकेट

नेपाल पाकिस्तानसँग भिड्दै, रोहित भन्छन् – हामी लायक छौँ त्यही भएर एसिया कपमा छौँ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १३ बुधबार
cricket-nepal-2080-04-03.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । एसिया कप क्रिकेटको १६ औँ संस्करण आजबाट शुरु हुँदैछ । उद्घाटन खेलमा नेपालले आयोजक पाकिस्तानसँग मुल्तानमा खेल्दैछ । 

खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे शुरु हुनेछ । पाकिस्तान एक दिवसीयको शीर्ष वरीयतामा रहेको छ भने नेपाल १५ औँ वरीयतामा रहेको छ । 

पाकिस्तानले पछिल्ला पाँच खेलमा चारमा जित हासिल गरेको छ भने नेपालले दुईमा जित तथा तीनमा हार बेहोरेको छ । 

मुल्तानमा गत वर्ष पाकिस्तानले वेष्ट इन्डिजलाई स्वागत गरेको थियो । तीन वटै खेल त्यही मैदानमा भएका थिए जुन मैदानमा नेपाल र पाकिस्तान खेल्दैछन् । 

जहाँ पहिलो इनिङ्समा २५० भन्दा बढी रन बनेको थियो । यो पिचलाई ब्याटिङ पिचका रुपमा लिने गरिन्छ । 

कप्तान रोहित पौडेलले पाकिस्तानविरुद्ध कडा चुनौती पस्किने भन्दै टिमको मनोबल बढाउने कामसमेत गरेका छन् । 

प्रिम्याच कन्फरेन्समा रोहितले भने, ‘एसिया कप नेपालका लागि ठूलो उपलब्धि हो । पाकिस्तान ठूलो टिम हो । तर पाकिस्तान विरुद्धको खेल प्रतिस्पर्धात्मक हुनेछ ।’

उनले एसिया कपमा आफूहरु सक्षम भएरै रहेको जिकिर गर्दै रोहितले भने, ‘हामी लायक छौँ, त्यही भएर एसिया कपमा छौँ ।’ 

नेपालले पहिलो पटक एसिया कपमा सहभागीता जनाउँदैछ । युवा खेलाडीहरुले भरिएको नेपाली टिम निकै नै उत्साही छ । 

जति उत्साह नेपाली टिममा छ त्यत्तिकै चुनौती पनि रहेको छ । किनकि नेपालले एसिया कपको समूह चरणमै विश्वकपका दुई पूर्व च्याम्पियनहरु भारत र पाकिस्तानसँग खेल्दैछ । 

नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एक दिवसीय वरीयताको शीर्ष स्थानमा रहेको पाकिस्तान र तेस्रो वरीयतामा रहेको भारतसँग खेल्न लागेको हो । 

एसियाका लागि यी दुई देशहरुले वर्षौँदेखि राज गर्दै आइरहेका छन् । भारतले दुईपटक तथा पाकिस्तानले एक पटक एक दिवसीय विश्वकप जितेको छ । 

यी देशहरुसँग खेल्नु नेपालका लागि चुनौती भन्दा पनि अवसर नै हो । किनकि पहिलो पटक एसिया कप खेल्दै गरेको नेपालले भारत र पाकिस्तानसँग पनि पहिलो पटक नै खेल्दैछ । 

युवा खेलाडीहरुले यी दुई खेलबाट धेरै कुरा सिक्न सक्छन् । हुनत मैदानमा उत्रिएपछि जित्न नै खेल्ने हो । तर सजिलै जितिन्छ भनेर त्यति ठूलो महत्वाकांक्षा पाल्नुभन्दा कम्तीमा विश्वका दुई दिग्गज टिमसँग प्रतिस्पर्धा गर्न सकियो भने विश्वले हेरिरहेको खेलमा नेपाली खेलाडीहरुको ‘एक्सपोजर’ पनि बढ्ने देखिन्छ । 

नेपालले जिते चमत्कारै हुन्छ 
क्रिकेटलाई अपत्याशित खेलका रुपमा लिइन्छ । यो खेलले कतिबेला कुन मोड लिन्छ भन्ने पत्तो नै हुँदैन । 

नपत्याएको बलरले एकै ओभरमा पाको निर्णय अन्तिमसम्म रहिरहन्छ । त्यसैले पनि यसको सम्भावना जस्तोसुकै पनि हुन सक्छ । 

५० ओभरको खेलमा एक विकेट नढल्न पनि सक्छ र एकै ओभरका छ बलमा पाँच विकेट लिएको पनि रेकर्ड छ । न्यूजिल्याण्डका नेल वाग्नर, बंगलादेशका अल अमिन हुसेन र भारतीय खेलाडी अभिमन्यु मिथुनले पाँच विकेट लिएर रेकर्ड राखेका छन् । 

त्यस्तै ब्याट्सम्यानले एकैओभरका छ बलमा छओटै छक्का हानेका रेकर्ड पनि छन् । अनि छक्कासँगै नोबल र वाइडबल हुँदा एकै ओभरमा ४७ रन बनेको रकेर्ड छ । 

यसको मतलब खेलमा एकै ओभरमा कायापलट हुन सक्छ । भारत र पाकिस्तानका नजरमा नेपाली खेलाडीहरु कमजोर हुन सक्छन् । तर हारको डर नभएका खेलाडीहरुले निष्फिक्रीका साथ खुलेर खेलेका खण्डमा परिणाम आफ्नो पक्षमा नपार्लान् भन्न सकिन्न । 

त्यसो त नेपाली टिम त्यही लयबाट नै अगाडि आएर एसिया कपमा छानिएको हो । भारतीय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टि देसाईले नेपाली टिम सम्हाल्नुअघिसम्म नेपालले एक दिवसीय मान्यता पनि गुमाउने अवस्था रहेको थियो । 

तर जब मोन्टि आए तब नेपाली युवा खेलाडीहरु यसरी सशक्त भएर खेले कि विश्वकप लिग २ का पछिल्ला महत्वपूर्ण १२ खेलमा ११ खेल नेपालले जित्यो । 

जसका कारण नेपाल लिग २ मा तेस्रो स्थानमा रहन सफल भयो । त्यही आधारमा नेपालले एक दिवसीय मान्यतामात्र बचाएन विश्वकप छनोटमा सिधै क्वालिफायर खेल्ने अवसर पायो । 

वेष्ट इन्डिज र जिम्बाब्वेजस्ता टिमहरुसँग नेपालले स्मरणीय प्रदर्शन गर्यो । भलै नेपालले एक खेलमात्र जितेर फर्कियो तर अनुभव भने धेरै नै बटुल्यो र विश्व क्रिकेटमा नेपालको छाप छोड्यो । 

निरन्तर फर्ममा देखिएको नेपालले गत बैशाखमा काठमाडौँमा सम्पन्न एसीसी प्रिमियर कपमा अपराजित बन्दै च्याम्पियन भएर एसिया कप क्रिकेटमा छानिएको हो । 

फाइनल खेलमा नेपालले युएईलाई ७ विकेटले हराएर एसिया कपमा स्थान सुरक्षित गरेको थियो । 

जसका कारण नेपालले १६ औँ संस्करणको एसिया कपमा भारत र पाकिस्तानको समूहमा रहेर खेल्ने अवसर पाएको हो । 

नेपाल र पाकिस्तान पाकिस्तानको भूमि मुल्तानमा बुधबार खेल्दै गर्दा दोस्रो खेलमा भारतसँग आगामी सोमबार श्रीलंकाको पल्लेकेलेमा खेल्नेछ । 

नेपालका एकसे एक खेलाडी
कुनै समय आइरिस नाटककार जर्ज बर्नार्ड शाले क्रिकेटलाई मूर्खहरुको खेल हो भनेका थिए । उनले भनेका थिए, ‘क्रिकेट ११ मूर्खहरुले खेल्ने र ११ हजार मूर्खहरुले हेर्ने खेल हो ।’

उनले भनिरहँदा क्रिकेट प्रत्यक्ष प्रशारण हुँदैनथ्यो । र सामाजिक संजाल पनि थिएनन् । साथै मैदान पनि ठूला बनेका छन् । अहिले एउटै खेल प्रत्यक्ष–अप्रत्यक्ष गरी एकै समयमा करोडौँले हेर्न सक्छन् । 

शाले मूर्खहरुको खेल भनिरहँदा यसले अनिश्चित नतिजाको अपेक्षा सधै गरिरहेको हुन्छ । 

यदि भारत र पाकिस्तानविरुद्ध नेपालले चमत्कारै गर्यो भने पनि आश्चर्य नमाने हुन्छ । किनकि आश्चर्य नभई कीर्तिमान बन्दैन । 

भारत र पाकिस्तानले पनि नेपाललाई कमजोर आँकेर पक्कै खेल्ने छैनन् । हुनत दुवै टिममा दिग्गज खेलाडीहरु छन् । सबैका आफ्नै रेकर्ड छन् । सबैमा खेल जिताउने क्षमता छ । तर जब मैदानमा पुगिन्छ विपक्षीलाई कमजोर आँकेर बेवास्ता गर्ने धेरै नटिक्न पनि सक्छ । 

नपत्याउने खोलाले बगाएका उदाहरण धेरै भएकाले पनि भारत र पाकिस्तानसमेत सजग भएर खेल्नेमा दुईमत नहोला । 

नेपाली युवा खेलाडीहरुमा कमी छ भने केबल अनुभवको मात्र हो । इतिहास हेर्ने हो भने पनि नेपालले उमेर समूहमा टेष्ट मान्यताप्राप्त राष्ट्रहरुलाई हराइसकेको छ । 

जोशले भरिएका एकसे एक खेलाडीमा जोकोही पनि जम्न सक्छ । प्रशिक्षक देसाईले खेलाडीहरुलाई आफ्नो भूमिका सम्झाएका हुन्छन् । सोही अनुसार खेलाडीहरुले खेल्ने हुन् । 

मोन्टिको अनुभवमा पनि खेलाडीहरुले खुलेर खेलिरहेका छन् । रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाली टिममा एकसे एक प्रतिभा छन् । आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरीसँगै रोहितको ब्याटिङ तारिफयोग्य छ । 

गुल्सन झा, सोमपाल कामी, करण केसी र सन्दीप लामिछानेको अलराउन्ड प्रदर्शनको प्रभाव यसअघिका खेलहरुमा परिसकेको छ । 

त्यस्तै ललितनारायण राजवंशी, आरिफ शेख, प्रतिश जीसी, सन्दीप जोराले पनि आफ्नो भूमिका निभाएकै छन् । किशोर महतो, अर्जुन साउद र श्याम ढकालले अवसर पाएका खण्डमा आफूलाई सशक्त देखाउने नै छन् । 

भारत र पाकिस्तानसँग आकर्षक ब्याटिङ र बलिङ गर्ने खेलाडीले अन्तर्राष्ट्रिय एक्सपोजर त पाउने छ नै विभिन्न फ्रेन्चाइज क्रिकेटमासमेत ढोका खोल्न सक्नेछन् । 

बस् खेलाडीहरुले शतप्रतिशत खेल्नुपर्यो । नेपाली सिंगो टिमलाई विश्वले हेरिरहँदा खेलाडीहरुको मापन पनि भइरहने छ । जसले जादू देखाउँछ उसले नेपालको मात्र हैन आफ्नो भाग्समेत खोल्नेछ । 

एकसे एक खेलाडीहरुले नेपाली मनलाई पककै पनि निराश पार्ने छैनन् । भलै उनीहरुले अभ्यासका लागि भरपूर समय नपाएका किन नहोउन् मेहनतले गरेको भाग्यको ढोका कुनै पनि खुल्न सक्छ । 

त्यो मेहनतको भाग्यले नेपाली क्रिकेटको अबको दिशासमेत तय गर्ने निश्चित छ । गतिलो प्रदर्शनले मन जितेर यदि भारत र पाकिस्तानका खेलाडीहरुसँग कुममा कुम मिलाउने हैसियत नेपालले राख्ने हो भने भारत र पाकिस्तानसँग नेपालमै एक दिवसीय श्रृंखला हुन धेरै समय कुर्नुपर्ने छैन । 

साथै भारत र पाकिस्तानबीचको खेलका लागि नेपाली भूमि जहिले पनि तटस्थ स्थल रहनेमा दुईमत नहोला । 

सन् १९८४ देखि भइरहेको एसिया कपका १५ औँ संस्करणसम्म भारतले सात पटक, श्रीलंकाले छ पटक तथा पाकिस्तानले दुई पटक उपाधि जितेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ