arrow

राखीको चहलपहल

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १३ बुधबार
rakhi1.jpg
तस्बिर-फाइल

धनुषा । तराई-मधेसमा यतिबेला राखी (रक्षाबन्धन) पर्वको चहलपहल सुरु भएको छ । 

साउन शुक्लपक्ष सुरु भएसँगै तराई-मधेसका गाउँ, नगरबस्तीमा दिदीबहिनी र दाजुभाइबीच प्रेम दर्शाउने गीतको धुन गुञ्जिरहेका छन् । 

दिदीबहिनीले भोलि बिहीबार राखी पर्व धुमधामका साथ मनाउने तयारी गरेका छन् । 

भाइबहिनीको पवित्र एवं अटुट बन्धनको प्रतीकका रुपमा रक्षाबन्धन पर्वलाई मानिन्छ ।

अहिले धनुषासहित तराई-मधेसका नगर, गाउँ र बस्तीका पसल रङ्गीविरङ्गी राखीले भरिभराउ भएका छन् ।  

राखीसँगै विभिन्न प्रकारका मिठाइ तथा फलफूलले बजारको रौनकता बढाएको छ । 

मानिसको भिडभाडले बजारमा अरुबेला भन्दा बढी चहलपहल देखिएको छ । 

हरेक वर्ष जस्तै यस वर्ष पनि बजारमा राखी किन्ने र बेच्नेको उपस्थिति बढेको देखिन्छ ।

ग्राहकको रोजाइँ अनुसार राखी उपलब्ध गराउन व्यस्त रहेको राखी पसल सञ्चालक सुरेश साहले बताए । 

उनले २० वर्षदेखि चाडपर्व लक्षित अस्थायी पसल गर्दै आएका छन् । उनले प्रति राखी रू ५० देखि रू दुई सयसम्म पर्ने बताए । 

“बच्चालाई लोभ्याउने खालका विभिन्न कार्टुन वा खेलौना जडित राखी पनि बजारमा पाइन्छन् । यसको मूल्य अरुभन्दा केही कम हुन्छ”, उनले भने ।

दाजुभाइ तथा दिदीबहिनीबीच प्रेम, समर्पण र आपसीसम्बन्ध कहिल्यै नटुट्ने प्रतिबद्धता जनाइने यस पर्वलाई यस क्षेत्रको महान् सांस्कृतिक पर्व मानिने मिथिला लोकसंस्कृतिका ज्ञाता बताउँछन् । 

विवाह भएर गएका चेलीले आफ्ना दाजुभाइलाई राखी बन्धनमा राखी बाध्न निम्तो दिने गर्दछन् भने अविवाहित चेलीले पर्वको अवसरमा दाजुभाइलाई मन पर्ने परिकार बनाएर खुवाउने प्रचलन रहेको छ ।

स्थानीय मञ्जु यादवले राखी पर्वको तयारी १५ दिन अघिदेखि गरेको सुनाउनुभयो । अहिले बजारमा पाइने रङ्गीविरङ्गी राखीले घरमा राखी बनाउने झन्झट हटेको उनको भनाइ थियो ।

सत्य युगमा तीनै लोक (स्वर्ग, मत्यु र पाताल) को अधिपति दानवराज बलिलाई उनका बहिनी गङ्गा र यमुनाले युद्धमा जानुअघि विजयको कामना गर्दै हातमा रक्षाबन्धन बाँधिदिएकाले युद्धमा बलिको जीत भएको सम्झनामा प्रत्येक वर्ष साउन शुक्लपूर्णिमाका दिन दिदीबहिनीले आफ्ना दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै राखी बाँधीदिने परम्परा छ । 

यस पर्वमा ब्राह्मण पुरोहितले शास्त्रोक्त विधिबाट अभिमन्त्रित गरिएको डोरा यजमानलाई बाँधिदिने परम्परा भए पनि मिथिलामा भने मुख्य आकर्षण दिदीबहिनीकै हातबाट राखी बाँधिनु रहेको छ । 

मधेसी समुदायले मनाउने यस रक्षाबन्धन पर्व पछिल्ला दिनमा पहाडी समुदायमा पनि मनाउन थालिएको छ ।

रक्षाबन्धन पर्वलाई मध्येनजर गरी जिल्ला प्रशासनले ठाउँ-ठाउँमा चेकजाँचमा कडाइ गर्नुका साथै प्रहरीले निगरानीसमेत बढाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ