arrow

सर्वाधिक उचाइमा गल्फ

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २० बुधबार
Gulf.jpg
तस्बिर-फाइल

पोखरा । हिमाल पारिको जिल्ल्ला मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङ गाउँपालिकाको लोवथाङमा रहेको ‘मुस्ताङ गल्फ कोर्स’ लाई ‘वर्ल्ड रेकर्ड’ कायम गराउने उद्देश्यले ‘गल्फ च्यालेन्ज’ आयोजना हुने भएको छ ।

समुद्री सतहदेखि चार हजार छ सय ४५ मिटर (१५,२३९.५ फिट) को उचाइमा अवस्थित सो गल्फ कोर्समा यही भदौ ३० गते दोस्रो संस्करणको गल्फ प्रतियोगिता गर्न लागिएको आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

गण्डकी प्रदेश गल्फ सङ्घले लोमान्थाङ गाउँपालिकासँगको सहकार्यमा प्रतियोगिता आयोजना गरेको गण्डकी प्रदेशसभाका पूर्वसदस्य एवं प्रदेश गल्फ सङ्घका संयोजक इन्द्र धारा विष्टले जानकारी दिए । 

उनका अनुसार मुस्ताङ गल्फ कोर्सको थप प्रचारप्रसार र प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको प्रतियोगिताको विश्वस्तरमा प्रचार गरी उच्चस्तरीय पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने विश्वास लिइएको छ ।

प्रतियोगितामा पोखरा, काठमाडौँ, धरान, बुटवललगायतका सहरका ४० गल्फ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । 

जसमा चार जना महिला खेलाडीसमेत सहभागी बन्नेछन् । 

यस वर्ष राष्ट्रिय खेलाडीमा सीमित प्रतियोगितामा आगामी वर्ष विदेशी खेलाडीसमेत सहभागी बन्ने विश्वास आयोजकको छ ।

आयोजकका अनुसार इभेण्ट नौ होलमा तीन/चार ह्याण्डी क्यापको साथ स्थिर फोर्ड ढाँचामा खेलाइनेछ । 

प्रतियोगितामा ‘होल इन वन’को विजेतालाई घोडा वा सो बराबरको रु एक लाख नगद पुरस्कार प्रदान गरिने छ ।

यसैगरी विजेता, उपविजेता, महिला विजेता, वेष्ट ग्रस, नियर टु दि होल, लङ ड्राइभ र वर्डिजका विजेतालाई ट्रफी प्रदान गरिने छ । 

‘मुस्ताङ गल्फ कोर्स’ विश्वकै सर्वाधिक उचाइमा रहेको छ । 

यद्यपि यो ‘गिनिज बुक्स अफ वर्ल्ड रेकर्ड’ मा दर्ज हुन बाँकी छ । 

यसअघि भारत सिक्किमको याक गल्फ कोर्सलाई सर्वाधिक उचाइको गल्फ कोर्ष मानिन्छ । 

सो गल्फ कोर्ष तीन हजार नौ सय ७० मिटरको उचाइमा छ ।

“गत वर्षको प्रतियोगिताले नै विश्वका गल्फ प्रेमीको ध्यान खिचिसकेको छ”, विश्वस्तरमा प्रचार भएको छ । 

एक पटक मुस्ताङको गल्फ कोर्समा गएर खेल्छु भन्ने गल्फरमा रहर जाग्नेछ ।

यसलाई निरन्तरता दिएर प्रचारप्रसार हुनसके मुस्ताङमा गल्फ पर्यटनको ढोका खुल्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ