पोखरा । हिमाल पारिको जिल्ल्ला मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङ गाउँपालिकाको लोवथाङमा रहेको ‘मुस्ताङ गल्फ कोर्स’ लाई ‘वर्ल्ड रेकर्ड’ कायम गराउने उद्देश्यले ‘गल्फ च्यालेन्ज’ आयोजना हुने भएको छ ।
समुद्री सतहदेखि चार हजार छ सय ४५ मिटर (१५,२३९.५ फिट) को उचाइमा अवस्थित सो गल्फ कोर्समा यही भदौ ३० गते दोस्रो संस्करणको गल्फ प्रतियोगिता गर्न लागिएको आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
गण्डकी प्रदेश गल्फ सङ्घले लोमान्थाङ गाउँपालिकासँगको सहकार्यमा प्रतियोगिता आयोजना गरेको गण्डकी प्रदेशसभाका पूर्वसदस्य एवं प्रदेश गल्फ सङ्घका संयोजक इन्द्र धारा विष्टले जानकारी दिए ।
उनका अनुसार मुस्ताङ गल्फ कोर्सको थप प्रचारप्रसार र प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको प्रतियोगिताको विश्वस्तरमा प्रचार गरी उच्चस्तरीय पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने विश्वास लिइएको छ ।