arrow

मलङ्गवामा कर्फ्यू हट्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २४ आइतबार
bayalbas-sarlahi.PNG

सर्लाही । सर्लाही सदरमुकाम मलङ्गवामा शनिबारदेखि लगाइएको कर्फ्यू आज आइतबार बिहान ८ बजेदेखि हटाइएको छ । 

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कर्फ्यू हटाइए पनि निषेधाज्ञा भने जारी रहने जानकारी दिए । 

कर्फ्यू हटाइएपछि मलङ्गवाको जनजीवन सामान्य बन्दै गएको छ । बजार, पसल खुल्न थालेका छन् भने यातायातका साधन चलन सुरु भएका छन् । 

सर्वसाधारणहरु आ-आफ्नो दिनचर्यामा व्यस्त हुन थालेका छन् । मलङ्गवाका विभिन्न स्थानमा अहिले पनि व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । 

व्यक्तिहरुले हिँडडुल गर्न पाउने, बजार पसल खोल्न पाउने तर बिरोध जुलुस, धर्ना, आमसभा लगायतका कार्यक्रम गर्न नपाइने गरी निषेधाज्ञा जारी गरिएको सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । 

मलङ्गवामा दुई पक्षबीच ढुङ्गा हानाहान तथा झडप हुन थालेपछि स्थानीय प्रशासनले हिजो शनिबार साँझ ५ बजेदेखि आज आइतबार बिहान ८ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको थियो । 

अस्ति शुक्रबार साँझ कृष्ण जन्माष्टमीका मूर्ति सेलाएर फर्किने क्रममा झडप भएको थियो । त्यसै विषयलाई लिएर शनिवार पनि प्रदर्शन तथा झडप हुन थालेपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ