arrow

टाटाका नयाँ भेरियन्टमा ग्राहकको आकर्षण, जोड ईभीमा [तस्बिरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २८ बिहिबार
tatamotors-2080-05-28 (9).jpg

काठमाडौँ । प्रवेशद्धारबाट भित्र छिर्नासाथ शुरुमै देखिने नेक्सन ईभी म्याक्स एक्स जेड प्लस, टियागो ईभी र पञ्चले अधिकांशको मन लठ्याउँछ । हेरेरमात्र आउँ त भन्ने मनस्थिति बनाएर घरबाट निस्केको भए पनि त्यो दृष्य देखेपछि बुकिङ नै गरेर फर्कने मनहरु धेरै पुगेका छन् । 

हो, राजधानीको भृकुटीमण्डपमा मंगलबारदेखि जारी रहेको १५औँ संस्करणको अटो शो ‘टाटा मोटर्स जेन्युइन आयल नाडा अटो शो २०२३’ मा टाटा मोटर्सका यी गाडीहरुमा मन गएपछि अन्त नगएको दाबी टाटा मोटर्सकी बजार प्रमुख अभिरुची गिरीले बताइन् । 

उनले उत्साही हुँदै भनिन्, ‘मन्दीमा कति जना पो आउनुहुन्छ होला र भन्ने सोचेका थियौँ । अप्रत्याशित भयो । हामीले त कल्पना गरेभन्दा बाहिरकै भयो । निकै मन पराइरहनु भएको छ । बुकिङ गरिरहनु भएको छ । हामी निकै उत्साही छौँ ।’

बिहीबार बिहान उनले यसरी भनिरहँदा भदौ ३१ गते आइतबारसम्म चल्ने नाडा शोमा टाटाको बुकिङ थप उत्साही हुनेमा थप आशावादी छिन् । 

हुन पनि चाडपर्व आइरहेका छन् । त्यसका लागि सबैले केही न केही योजना बनाएकै हुन्छन् । त्यही योजनाअनुसार टाटाका आकर्षक गाडीमा आँखा पुग्नु स्वभाविकै हो । 

प्रदर्शनीमा भएका टाटाका प्रतिनिधिले अहिलेसम्मको अवस्था र ग्राहकको उत्साहबारे भने, ‘कोही कोही त यहाँ आउनु हुन्छ, हेर्नुहुन्छ, अनि के गरौँ के गरौँ जस्तो हाउभाउ देखाउनु हुन्छ, अनि जानुहुन्छ । तर एकछिनपछि सबैतिर घुमेर फेरि आउनु हुन्छ र खुशीले बुकिङ गराएर जानुहुन्छ । यसले हामीलाई पनि खुशी लागेको छ ।’

उनले अगाडि भने, ‘हाम्रो इन्स्टल शुरुमै छ । मनस्थिति बनाएर आउनु भएका ग्राहकले त गाडीभित्र हेरेर बुकिङ गरेर जानुहुन्छ । तर के गरौँ भनेर निर्णय नलिइ आएका ग्राहकहरु जताततै घुमेर फेरि फर्केर आउँदा भने खुशी लाग्दो रहेछ ।’

रिया महर्जन पनि बुकिङ गराउने ग्राहकको संख्या हेरेर खुशी व्यक्त गर्छिन् । दैनिक बढ्दौ क्रममा रहेको यो माहोलले उनलाई खुशी तुल्याएको हो । 

पेट्रोलियम भन्दा विद्युतीय सवारीमा जोड
वायु प्रदूषणका कारण विश्व नै त्रसित भइरहेका बेलामा इलेक्ट्रिक भेहिकल (ईभी) अर्थात् विद्युतीय सवारीमा जोड जानु स्वभाविक हो । 

नेपाल सरकारलेसमेत विद्युतीय सवारीमा जोड दिँदै आएको छ । नभन्दै ग्राहकको मन पनि त्यतैतिर गएको छ । टाटाका एक बजार प्रतिनिधि भन्छन्, ‘अहिले त सबैको ध्यान ईभीतिरै गएको छ । निकै कममात्र पेट्रोलियमबाट चल्नेतर्फ आकर्षक हुनु भएको छ । तर जति पेट्रोलियमबाट चल्नेमा हुनुहुन्छ उहाँहरु टाटा पञ्चमै लाग्नुभएको छ ।’

यसै नाडा शोलाई लक्षित गरेर टाटा मोटर्स प्यासेन्जर भेहिकलले तीन ओटा गाडीहरू टाटा टियागो ईभी, टाटा नेक्सन ईभी एक्स जेट प्लस र टाटा पञ्च सार्वजनिक गरेको हो । 

ग्राहकका आँखा पनि यिनै तीन गाडीमा गएको छ । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालीले टाटाका बहुप्रतिक्षित गाडीहरू टाटा टियागो ईभी र टाटा पञ्च नेपाली बजारमा सार्वजनिक गरेको हो ।

स्रोतका अनुसार सिप्रदीले अहिले डिजेल पेट्रोलबाट चल्ने गाडीहरु निकै कम मात्रामा आयात गरिरहेको छ । बजार प्रमुख गिरी भन्छिन् ‘हामी त ग्राहकको चाहनाअनुसार चल्ने हो । अहिले टियोगो ईभी धेरैको रोजाइमा छ ।’

यसको प्रमुख कारण भने तुलनात्मक रुपमा सस्तो र माइलेज बढी दिनु नै हो । यसको रेन्ज र फिचर पनि बढी भएको टाटाका बजार प्रतिनिधि बताउँछन् । यही गतिले बिक्री हुने हो भने आगामी वर्ष पेट्रोल डिजेलबाट चल्ने गाडीहरुको बिक्री न्यूनजस्तै हुनेछ ।  

ईभीको गाडीको भाउ विस्तारै बढ्दो क्रममा भएकाले पनि त्यतातर्फ ग्राहकको मन गएको टाटाका बजार प्रतिनिधिको बुझाइ छ । उनले भने, ‘रेट बढ्ने भएकाले पनि अहिले फ्लो ईभीतिर गएको छ । हामी नेपालको ईभी मार्केटमा लिडिङमा छौँ ।’

कस्ता छन् त टाटाका गाडीका विशेषताहरु ? 
 सिप्रदीका अनुसार अत्याधुनिक जिपट्रन प्रविधियुक्त टियागो ईभीमा पाँच ओटा मुख्य विशेषताहरू रहेका छन् । जसमा कार्य कुशलता, प्रविधि, विश्वास, चार्जिङ्ग र आरामदायीयता रहेका छन् । 

क्रुज कन्ट्रोल सहितको टियागो ईभीमा अत्याधुनिक टेलिम्याटिक्स, कन्ट्रयास्ट रुफ, पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल, प्रोजेक्टर अटो हेडल्याम्पलगायत विशेषताहरू रहेका छन् । 

यो गाडीको इन्टेरिएर आरामदायी तथा एक्स्टेरिएर आकर्षक रहेको छ । यस टियागो ईभी एमआरएक्सईको सीमित अवधिका लागि शुरुआती मूल्य रु २१.९९ लाख राखिएको छ । 

त्यस्तै टियागो ईभी एम आर एक्स टीको २२.९९ लाख, टियागो ईभी एल आर एक्स टीको २५.४९ लाख, टियागो ईभी एल आर एक्स जेड प्लसको २६.९९ लाख र टियागो ईभी एल आर एक्स जेड प्लस टेकको २७.९९ लाख रहेको छ ।

यस्तै, अर्को गाडी नेक्सन ईभी एक्स जेट प्लस को ब्याट्री क्षमता ४०.५ किलोवाट र रेन्ज ४५३  किलोमिटर रहेको छ । टियागो ईभी जस्तै अत्याधुनिक जिपट्रन प्रविधि भएको यस एसयूभीको बनावट आकर्षक रहेको छ । 

आरामको लागि पावर विन्डो र पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल लगायत अन्य   विशेषताहरू भएको नेक्सन ईभी एक्स जेट प्लसले अन्य भन्दा उत्कृष्ट सुरक्षाको प्रत्याभूति गर्दछ । सुरक्षाको लागि यसमा एन्टि–लक ब्रेकिङ्ग सिस्टम, चाइल्ड सेप्टी लक, ट्रयाक्सन जस्ता व्यवस्थाहरू छन् । नेक्सन ईभी म्याक्स एक्स जेड प्लसको शुरुआती मूल्य ४५.९९ लाख राखिएको छ । नेक्सन ईभी म्याक्स एक्स जेड प्लस लक्सको ४८.९९ लाख रहेको छ भने यसकै प्राइम एडिसनको मूल्य ४५.९९ लाख रहेको छ । 

त्यसैगरी, टाटाको ‘न्यू फरेभ” रेञ्ज अन्तर्गतको टाटा पञ्चको चार आधार स्तम्भहरू हुन् आकर्षक डिजाइन, विशेष कार्यक्षमता, फराकिलो इन्टेरिएर र पूर्ण सुरक्षा रहेका छन् । नयाँ युग सुहाउँदो सोच र प्रविधिमा आधारित यो गाडीले ग्राहकहरूको बदलिँदो इच्छा एवं आकांक्षाहरुको परिपूर्ति गर्दछ । 

टाटा पञ्च हाल भारतीय बजारमा सबैभन्दा बढी बिक्री भइरहेको सब कम्प्याक्ट एसयूभी रूपमा पनि परिचित छ । 

टाटा पञ्च पियोरको मूल्य ३३.९९ लाख, पञ्च एड्भेन्चर एमटीको ३७.४९ लाख, पञ्च एकम्प्लिष्ट एमटीको ४०.४९ लाख र पञ्च क्रिएटिभ एमटीको ४३.४९ लाख रुपैयाँ रहेको छ । 

उत्साहपूर्वक नेपाली बजारमा बिक्री भइरहेको टाटाका यी उत्पादनबाट खुशी हुँदै टाटा मोटर्सको इन्टरनेशनल बिजनेस हेड मयंक वाल्डी भन्छन्, ‘नेपालकै  प्रख्यात नाडा अटो सोमा भाग लिई टाटाका अत्याधुनिक गाडीहरू नेपाली ग्राहकहरू समक्ष प्रस्तुत गर्न पाउँदा हामी अत्यन्त हर्षित छौँ । हरित यातायातको विकासमा  निरन्तर नयाँ–नयाँ आयामहरू थप्दै गर्ने हाम्रो प्रतिबद्धतालाई टाटा टियागो ईभीले प्रतिनिधित्व गर्छ । त्यसैगरी, टाटा पञ्चले नेपाली बजारमा हाम्रो एसयूभी पोर्टफोलियोलाई थप बलियो एवं बृहत् बनाउँदै जाने प्रयासलाई दर्शाउँछ । यी दुवै गाडीहरूले नेपाली ग्राहकहरूको मन र मस्तिष्कमा अमिट छाप छोड्ने छन् भन्नेमा टाटा पूर्ण आश्वस्त छ ।’

त्यसैगरी सिप्रदी ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ भन्छन्, ‘टाटा टियागो ईभी र टाटा पञ्चले टाटा र सिप्रदीको नेपाली ग्राहकको ड्राइभिङ्ग अनुभवलाई  नवीन र दिगो ढङ्गले रूपान्तरण गर्ने साझा प्रतिबद्धताको प्रतिनिधित्व गर्छ । टाटा मोटर्ससँगको सहकार्यमा नेपालको समग्र यातायात क्षेत्रको विद्युतीकरण र यसको हरित भविष्यको लागि योगदान गर्न पाउँदा सिप्रदी खुशी र गौरवान्वित महसुस गर्दछ ।’ 
 

tatamotors-2080-05-28 (1).jpg
tatamotors-2080-05-28 (2).jpg
tatamotors-2080-05-28 (3).jpg
tatamotors-2080-05-28 (4).jpg
tatamotors-2080-05-28 (5).jpg
tatamotors-2080-05-28 (6).jpg
tatamotors-2080-05-28 (7).jpg
tatamotors-2080-05-28 (8).jpg
tatamotors-2080-05-28 (10).jpg
tatamotors-2080-05-28 (11).jpg
tatamotors-2080-05-28 (12).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ