arrow

फेरि कहीँ, कतैबाट कमजोर बनाउने काम नहोस् भन्नेमा हामी सचेत हुनुपर्छ: राष्ट्रपति

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ३ बुधबार
ramchandra-poudel-president-always.jpg

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जनआन्दोलनका उपलब्धिहरू माथि कहीँ, कतैबाट कमजोर बनाउने काम नहोस् भन्नेमा सचेत हुनुपर्ने बताएका छन् । बुधवार शितलनिवासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले जनअनुमोदित संविधानसभाबाट निर्माण भएको लोकतान्त्रिक संविधानका व्यवस्थाहरूलाई निस्तेज पार्ने काम कतैबाट हुन नपाओस् भन्नेमा पनि चनाखो हुनुपर्ने स्पष्ट पारे । उनले लोकतन्त्रको पवित्रतालाई स्थापित गर्दै यसलाई अझ परिणाममुखी बनाउन आवश्यक रहेको बताए । उनले सुखद भविष्य प्राप्त गर्न राजनीतिक उपलब्धिहरूलाई जोगाउँदै र संविधानको रक्षा गर्दै अगाडि जानुको विकल्प नरहेको जिकिर गरे । 

उनले भने, ‘अहिले जनआन्दोलनका उपलब्धिहरू माथि फेरि कहीँ, कतैबाट कमजोर बनाउने काम नहोस् भन्नेमा हामी सचेत हुनुपर्छ । जनअनुमोदित संविधानसभाबाट निर्माण भएको लोकतान्त्रिक संविधानका व्यवस्थाहरूलाई निस्तेज पार्ने काम कतैबाट हुन नपाओस् भन्नेमा पनि हामी चनाखो हुनुपर्छ । यस्तो अवस्था किन र कसरी आउन सक्छ ? यो प्रश्नमा हामी सबै जिम्मेवार हुनु आवश्यक ठान्दछु ।'

उनले सबै किसिमका बेथितिलाई अन्त्य गर्दै सुशासनको माध्यमबाट जलस्रोत र ऊर्जा शक्तिको उचित व्यवस्थापन गर्न सके नेपाल दुनियाँको समुन्नत राष्ट्रको कोटीमा पुग्ने सम्भावना रहेको बताए । उनले सन्तुलित र प्रभावकारी परराष्ट्र नीतिका माध्यमबाट द्विपक्षीय र बहुपक्षीय अन्तर्राष्ट्रिय सम्बन्धलाई अझै सुदृढ गरी राष्ट्रिय अर्थतन्त्रलाई सबलीकरण गर्दै युवा जनशक्तिलाई देशभित्रै रोजगारी र आम्दानीका अवसर सृजना गर्न आग्रह गरे । 

उनले जलवायु परिवर्तनको प्रभावका कारण विगत केही वर्षयता प्राकृतिक प्रकोपहरूले देश र विश्वलाई प्रभावित पारिरहेको उल्लेख गर्दै जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि विश्व समुदायलाई साथ लिँदै अगाडि बढ्नु अहिलेको अर्को महत्त्वपूर्ण आवश्यकता भएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ