arrow

राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति अवलम्बन गर्नुपर्छ : अध्यक्ष नेपाल

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ४ बिहिबार
madhavkumar-nepal-2080-02-26.jpg
तस्बिर-फाइल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा बढ्दै गएको वैदेशिक हस्तक्षेपले राष्ट्रिय हित तथा सुरक्षामा चुनौती आउन सक्ने बताएका छन् ।

पार्टी निकट राष्ट्रिय हित तथा सुरक्षा विभागले आज आयोजना गरेको राष्ट्रिय हित तथा सुरक्षा विषयक अन्तक्र्रियामा उनले देशको राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राखेर परराष्ट्र नीतिमा सबै दलको साझा दृष्टिकोण बनाउनुपर्ने बताए ।

कुनै पनि मुलुकको दबाब र प्रभाव स्वीकार्य नहुने भन्दै उनले हस्तक्षेप न्यूनीकरण गर्न असंलग्न पञ्चशीलका आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढीकरण गर्नुपर्नेमा जोड दिए ।

पूर्वप्रधानमन्त्री नेपालले एमसिसीमार्फत अमेरिकाले नेपाललाई इन्डोप्यासिक अङ्गको रूपमा विकास गर्न केही पार्टीलाई प्रभावित गर्न खोजेको बताउँदै अनुगमन गर्दा व्याख्यात्मक टिप्पणी कार्यान्वयन नभए आफूहरूले सशक्त विरोध गर्ने प्रतिबद्धता व्यक्त गरे ।

पृथ्वीनारायण शाहले राष्ट्रिय सुरक्षाका नीति बनाएर नेपाललाई स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्रका रूपमा स्थापित गरेको उनको भनाइ थियो । 

अध्यक्ष नेपालले पृथ्वीनारायण शाहको राष्ट्रिय स्वार्थ र वैदेशिक नीतिलाई अवलम्बन गर्नुपर्ने विचार व्यक्त गरे । नेपालको भूमि कुनै पनि मित्र राष्ट्रका विरुद्ध प्रयोग हुन नदिने उनको भनाइ थियो ।

पार्टीका उपाध्यक्ष प्रमेश हमालले हस्तक्षेप न्यूनीकरण गर्न आत्मनिर्भर अर्थतन्त्रको विकास गरी विदेशबाट स्वार्थबिनाको सहयोग लिनुपर्नेमा जोड दिँदै देश र जनताका हितमा राष्ट्रिय नीति तर्जुमा गर्नुपर्ने बताए ।

विभागका प्रमुख पुष्पा कर्णले राष्ट्रिय सुरक्षासम्बन्धी विषयमा संवेदनशील हुनुपर्ने भन्दै सैन्य गठबन्धन तथा सहयोग लिन नहुने बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ