arrow

कोशीको सकस: 'एस'लाई मनाउने प्रयासमा एमाले, कांग्रेससँग पनि छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ५ शुक्रबार
Hikmat-karki-cm-koshi.jpg

काठमाडौं । सङ्घीय सरकारमा नेपाली कांग्रेसको प्रमुख सहयोगमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका छन् । सात वटै प्रदेशमा सङ्घीय सत्ता गठबन्धनको सहकार्य चलिरहेको छ । तर कोशी प्रदेशको सरकारमा भने सत्ता गठबन्धनको सहकार्य कठिन हुँदा दुई पटक एमाले प्रदेश संसदीय  दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री बनेका छन् । 

पछिल्लो पटक कोशी सरकारको नेतृत्व गरेका कार्कीले विश्वासको मत लिने समय अब १५ दिन मात्रै छ । गत भदौ २२ गते एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की सर्वोच्च अदालतको परमादेशपछि मुख्यमन्त्रीमा नियुक्त भएका थिए  । उनले संविधानको धारा १६८ (४) अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ तर आवश्यक सङ्ख्या अपुग रहेको छ । जुन अवस्था र व्यवस्थालाई टेकेर उनी मुख्यमन्त्री नियुक्ति भए त्यही व्यवस्था अनुसार विश्वासको मत लिँदा राप्रपाले साथ दिएमा उनको भागमा ४५जना सांसद सङ्ख्या पुग्नेछ । यसअघि ४६ जना हुँदा बराबरी थियो । विश्वासको मत पुर्‍याउन आवश्यक सङ्ख्या ४७ हुनुपर्नेछ । त्यो कांग्रेससहितका विपक्षसँग पनि छैन । 

विश्वासको मत लिने समय नजिकिँदै गर्दा एमालेले आफ्नो सरकार टिकाउन कांग्रेस र एमालेबाटै विभाजित नेकपा (एकीकृत समाजवादी) पार्टीसँग छलफल गरिरहेको छ । संविधान दिवसको अवसरमा मुख्यमन्त्री कार्कीले प्रदेशको अस्थिर राजनीतिले सङ्घीयताप्रति वितृष्णा बढाइरहेको भन्दै सबै मिल्नुको विकल्प नभएको धारणा राखेर विश्वासको मत दिन आग्रह गरेका थिए । सबै दलसँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताइरहे पनि उनले र उनको पार्टी एमालेले माओवादी केन्द्रसँग भने अहिलेसम्म कुनै छलफल गरेको छैन । 

‘कोशीमा एमालेले यतिबेला एमालेबाटै बाहिरिएको नेकपा 'एस'लाई प्राथमिकतामा राखेको छ’, एमालेका एक सांसदले भने । तर सङ्घीय सरकारमा कांग्रेस माओवादीको गठबन्धनमा रहेको नेकपा एस सजिलै एमालेलाई मत दिने पक्षमा रहेको छैन । ‘एमालेले आधा आधा कार्यकाल गरौँ भन्ने प्रस्ताव गरेको छ’, एमालेका ती सांसदले भने । यद्यपि यो विषयमा नेकपा 'एस'का नेताहरू पनि जानकार रहेका छन् ।

सङ्घीय सरकारमा माधवकुमार नेपाल आफै प्रधानमन्त्री हुन खोजिरहेकाले कोशीमा उनकै विश्वासपात्र रहेका राजेन्द्र राईले एमालेलाई सहयोग गर्छन् भन्ने विश्वास कांग्रेस माओवादीका नेताहरूलाई छैन । तर एमालेले यो विषयमा निरन्तर पहल गरिरहेको छ । एमालेबाट यसअघिको सरकारमा प्रतिनिधित्व गरेका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीका अनुसार प्रयास गरेको भए पनि 'एस'ले मानेको अवस्था छैन । ‘हामीले कांग्रेससँग पनि सहकार्य गरौँ भनिरहेका छौ, 'एस'का साथीहरुसँग पनि छलफल गरिरहेका छौ’, पूर्वमन्त्री राजभण्डारीले भने । 
एमाले नेता शेरधन राईले नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्रकुमार राईसँग धरानमा छलफल गरेका थिए । छलफलमा राईद्वयबीच प्रदेश सरकार कसरी टिकाउने विषयमा छलफल भएको थियो ।  त्यहाँ एमाले नेता राईले प्रदेशमा आलोपालोको प्रस्ताव गरेका  थिए ।

नेपाली कांग्रेससँग पनि एमाले नेताहरुले औपचारिक भन्दा अनौपचारिक रुपमा विभिन्न हिसाबले छलफल गरिरहेका छन् । पछिल्लो पटक यसअघि एमालेको गठबन्धनमा रहेको राप्रपाले विश्वासको मत दिने नदिने केही बताएको छैन । पहिलो पटक कार्की नेतृत्वमा सरकार गठन हुँदा राप्रपा पहिलो चरणमै सरकारमा सहभागी भएको थियो । यस्तै गठबन्धनले संविधान विपरीत सभामुखलाई सहभागी गराएर सरकार गठन भएको विषयमा राप्रपा पनि एमालेसँगै अदालत गएको थियो । यस पटक भने राप्रपा मौन मात्रै छ । साथै एमाले नेतृत्वको सरकारमा सहभागी पनि भएको छैन ।  

कोशी प्रदेशमा एमालेको सरकार टिकाउने विषयमा छलफल गर्न एमाले अध्यक्ष केपी शर्मा ओली यतिबेला झापा पुगेका छन् । उनले कोशी प्रदेशमा रहेका पार्टी शीर्ष नेताहरुसँग यो विषयमा छलफल गर्ने बताइएको छ । २०७९ पुस २४ मा प्रदेशसभाको दोस्रो कार्यकालको लागि कार्की पहिलो मुख्यमन्त्री बनेका थिए । त्यसबेला नेकपा माओवादी, जनता समाजवादी पार्टी, राप्रपा र जसपाको समर्थन थियो । उनी केन्द्रमा संयुक्त सरकार बनेपछि असार १५ मा पदमुक्त बनेका थिए पछि अदालतको परमादेशबाट मुख्यमन्त्री नियुक्ति भएका हुन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ