arrow

हिजो सीलाई भेटेका प्रचण्ड आज बेइजिङ जाँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ७ आइतबार
pm-prachanda-nepal-xi-china.jpg

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन भ्रमणमा छन् । प्रचण्ड आज चीनको राजधानी शहर बेइजिङ जाँदैछन् ।  उनी  बिहान ११:१० बजे त्यहाँ जानेछन् । 

त्यहाँ उनले नेपाल-चीन बिजनेस समिटको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । चीनस्थित नेपाली राजदूतावासको समन्वयमा नेपाल उद्योग वाणिज्य महासङ्घ र चिनियाँ उद्योगी व्यवसायीहरूको संस्था सिसीपिआइटीले सो सम्मेलनको आयोजना गरेका हुन् । उक्त लगानी सम्मेलनमा नेपाल र चीनका एक सयभन्दा बढी उद्योगी-व्यवसायी सहभागी रहने जनाइएको छ ।  आइतबार नै चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले प्रधानमन्त्री र चीन भ्रमणमा रहेको नेपाली प्रतिनिधिमण्डलको सम्मानमा आयोजना गरेको रात्रि भोजमा सहभागी हुने कार्यक्रम रहेको छ । 

संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा सहभागी भई नेपालका तर्फबाट सम्बोधन गरेपछि प्रचण्ड न्यूयोर्कबाट नै चीन  पुगेका हुन् ।  प्रचण्डको भ्रमण दलमा परराष्ट्र मन्त्री नारायणप्रकाश साउद र अन्य सदस्यहरू पनि छन् ।
शनिबार स्थानीय समयअनुसार बिहान साढे १० बजे उन सो सहरको हाङ्चाओ विमानस्थलमा अवतरण गरेका थिए। शनिबारै प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका छन्  । उनीहरूबीचको सो वार्तामा द्विपक्षीय हित र चासोका साथै नेपाल-चीन सम्बन्धका विविध विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । 

त्यसैगरी शनिबारै हाङ्चाउमा नै प्रचण्डले चिनियाँ राष्ट्रपति सी चीनफिङले आयोजना गरेको दिवा भोजमा सहभागी भएका थिए । त्यस अवसरमा नेपालको भ्रमण दलका अन्य सदस्यहरू पनि सहभागी भएका थिए । त्यसैगरी शनिबारै प्रचण्ड सोही सहरमा आयोजना गरिएको १९औँ एसियन गेमको समुद्घाटन समारोहमा पनि सहभागी भएका थिए ।

त्यस्तै सोमबार प्रचण्डले चीनको नेसनल पिपुल्स कांग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लेजीसँग भेटवार्ता गर्ने छन् । त्यस्तै सोमबार नै प्रचण्डले आफ्ना चिनियाँ समकक्षी चिनियाँ प्रधानमन्त्री लि छ्याङसँग द्विपक्षीय भेटवार्ता गर्ने छ । सोही दिन नेपाल चीनका विविध सहयोग सम्झौतामा पनि हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।   छोङछिङ्ग महानगरपालिकामा चीनले कृषि र औद्योगिक क्षेत्रमा गरेको विकासको अवलोकन, तिब्बत पुगेर त्यहाँका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । प्रचण्ड असोज १३ गते नेपाल फर्कनेछन् । 



नयाँ