arrow

मुख्यमन्त्रीले गुहारेपछि राष्ट्रपतिले देउवा, ओली र प्रचण्डलाई बोलाएर कुरा गर्ने दिए वचन 

logo
निरञ्जन साह,
प्रकाशित २०८० असोज ८ सोमबार
ramchanda-janakpur.jpg

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले गुहारे पछि राष्ट्रपति रामचन्द्र पौडेलले तीनै दलका शीर्ष नेताहरूसँग कुरा गर्ने वचन दिएका छन् । राष्ट्रपतिको सम्मानमा जनकपुरधाम उपमहानगरपालिकाले आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो वचन दिएका हुन् । 

समारोहमा मधेसका मुख्यमन्त्रीले सङ्घीय संविधान माथि खतरा रहेको भन्दै बचाई दिन गुहार गरेपछि राष्ट्रपतिले काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बोलाएर कुरा गर्ने बताएका हुन् । राष्ट्रपति पौडेलले प्रदेश र स्थानीय सरकारका लागि संविधानले सुरक्षित गरेको सम्पूर्ण अधिकार प्रदान गर्ने प्रक्रियामा विलम्ब गर्न नहुने समेत बताए ।

मधेस प्रदेशका मुख्यमन्त्रीको गुहारलाई मौखिक रूपमा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले मुख्यमन्त्रीले उठाएको कुरा संविधानको रक्षकको नाताले आफूलाई साह्रै मन परेको बताउँदै देउवा, ओली र प्रचण्डलाई बोलाएर यस विषयमा आफू कुरा गर्ने बताए । 'वहाँ तीनै जना मिल्नुपर्ने न हो ?' भन्दै राष्ट्रपतिले भने, ‘म भन्छु तीनै जना मिल्नु भयो भने देशको विकास र संविधानको कल्याण सबै सम्भव छ ।’

त्यस अगाडि मुख्यमन्त्री यादवले संविधानमा उल्लेख भएको कर्मचारी र प्रहरी प्रशासन बिना काम गर्न अप्ठेरो हुँदा जनताहरूको विश्वास प्रदेश सरकारबाट हट्न थालेको भन्दै संविधानको रक्षकको नाताले सङ्घीयता बचाउन सक्रिय भइदिन राष्ट्रपतिलाई आग्रह गरेका थिए । मुख्यमन्त्री यादवले प्रदेश सरकार नरहे सङ्घीयता धरापमा पर्ने भन्दै संविधानमा उल्लेख अधिकार प्रदान गर्न लगाई काम गर्ने वातावरणको निर्माणका लागि पहल गरिदिन आग्रह गरेका छन् ।

जानकी मन्दिर दर्शन र पूजापाठ सहित विभिन्न कार्यक्रमका सरिक भएका पौडेलले आफ्नो नागरिक अभिनन्दन समारोहमा सचिवालयले लेखेको लिखित मात्र होइन मौखिक रूपमा बोलेका थिए । राष्ट्रपति खुलेर बोल्दा नेताहरू उत्साहित भएका थिए । 

'म राष्ट्रपति भएपछि देशमा भाइचारा र सबै क्षेत्रको अपनत्वका लागि पशुपतिनाथ, स्वयम्भू नाथ, गोरखनाथ र गोरखकालीका साथै जानकी मन्दिरको दर्शन गरेको छु ' पौडेलले भने । देशको सीमामा बसेर सीमाको रक्षा गर्ने सच्चा राष्ट्रवादी मधेसी जनतालाई सिंहदरबारको शासकले चिन्नु पर्ने र सम्मान गर्नुपर्ने उनको भनाई थियो ।

राष्ट्रपति पौडेलले कुनै पनि बाहानमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर गर्ने कार्य हुन नदिने बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ