arrow

 पढ्नलाई उमेरले छेक्दैन

सहपाठी नाति नातिनीसँगै बसेर क, ख सिक्दै दुजीकुमारी

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १२ शुक्रबार
dujikumari.jpg

बाँके ।  वरिपरि सानासाना नानीहरू, तिनै नानीहरूको बीचमा बसेर क, ख, ग र १, २, ३ सिक्दै गरेकी दुजीकुमारी ओली । उमेरले उनी ५० वर्ष नाघिसकेकी छन् । हेर्दा लाग्छ, उन ती नानीबाबुलाई सिकाउने शिक्षिका हुन् । तर उनी शिक्षिका नभई नातिनातिना उमेरका तिनै साना नानीहरूसँगै बसेर वर्णमाला र अङ्कगणित सिक्ने कक्षा १ को विद्यार्थी हुन् ।
 
दुजी ओली यतिबेला बाँकेको कोहलपुरस्थित ज्ञानज्योति माध्यामिक विद्यालयमा कक्षा १ मा पढिरहेकी छन् । उमेरले ५१ वर्ष पुगीसकेकी दुजीकुमारीलाई उनका नातिले पढ्नका लागि हौसाएको बताउँछिन् । “नातिलाई विद्यालयको गृहकार्य गर्न लगाउँदा तपाईँलाई एक, दुई, तीन त आउँदैन, मलाई के पढ भन्छिन् भनेर जवाफ फर्काएपछि सिक्नकै लागि स्कुल भर्ना भएँ”, दुजी भन्छिन् ।

बाँकेको कोहलपुर नगरपालिका–११ सैनिकटोलकी दुजीलाई छ वर्षको नातिले लगाएको बचनले स्कुलको कक्षा कोठासम्म पुर्याएको उनको भनाइ छ । “मलाई पढ्न मन त पहिलादेखि नै थियो तर त्यो दिन नातिले त्यसो नभनेको भए म अझै पनि घरधन्दामै अल्झिरहन्थे होला”, उनी भन्छिन् ।

आफ्नो सहपाठी आफ्नै उमेर समूहको नभई नातिनातिनी उमेरको हुँदा नजानेको कुरा सोधेर सिक्नलाई सजिलो भएको दुजी बताउँछिन् । “मलाई धेरै कुरा आउँदैन । नजानेको कुरा सिक्नलाई साना उमेर भएका यिनै साथीहरूले राम्ररी सिकाउँछन्”, उनले भनिन्, “ठूलालाई नजानेको कुरा सोध्न लाज लाग्छ तर सानाबाट नजानेको कुरा सिक्न लाज नलाग्ने रहेछ”, उनले भनिन्, “मेरा साथीहरू साना उमेरका भएको हुनाले नै मैले छोटो समयमा धेरै कुरा सिकेको छु ।”

पच्चीस वर्षदेखि एकल महिला भएर छोराछोरीको जिम्मेवारी पूरा गर्दै आउनुभएकी दुजीकुमारीले अहिले पनि घरको काम सकेर स्कुल आउने जाने गर्छिन् । कक्षा १२ सम्मको पढाइ पूरा गरेर कम्प्युटर सिक्ने इच्छा भएको उनले बताइन् । सुरुमा पढ्नलाई छोराले आनाकानी गरे पनि अहिले भने साथ दिएको र बेला–बेला सिकाउने गरेको पनि उनले बताइन् । 

उनले अहिले बाह्रखरी अक्षर चिन्नुका साथै अङ्कहरू मज्जाले लेख्न र पढ्न सक्नुहुन्छ । इकार र आकारका मात्राहरू सिक्न र आधा अक्षरहरू चिन्न बाँकी रहेको उनले बताइन् । स्कुल पढ्न गएदेखि आफूले जानेको कुरा अरुलाई सुनाउन पाउँदा पनि खुसी लागेको उनको भनाइ छ । 

शिक्षिका गीता श्रेष्ठले पनि पढाएको कुरालाई छिट्टै बुझ्ने र सिक्ने क्षमता भएको हुनाले दुजीले कक्षा १ राम्रै अङ्क लिएर पास गर्ने बताइन् । कक्षामा उन शिक्षकले पढाएको मज्जाले बुझ्छिन् । दिएको गृहकार्य पनि सबै गरेर आउछिन् । अक्षर पनि निकै सफा छ उनको । दश वर्षमा एसइई परीक्षा उत्तीर्ण गर्ने उनको जीवनको एउटै धोको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ