arrow

‘मुलुकको समृद्धिका लागि दिगो शान्ति अपरिहार्य’

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १६ मंगलबार
Bimalendra nidhi.jpg

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुले मुुलुकको विकास र समृद्धिका लागि दिगो शान्ति आवश्यक रहेकामा जोड दिएका छन् । 

महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले १५४औँ गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उनीहरुले अहिंसाका माध्यमबाट भएका राजनीतिक परिवर्तन मात्र स्थायित्व र दिगो हुने धारणा व्यक्त गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं प्रतिष्ठानका मानार्थ अध्यक्ष विमलेन्द्र निधिले महात्मा गान्धिले क्रान्ति र परिवर्तन अहिंसाका माध्यमबाट पनि सम्भव छ भनी सफल प्रयोग गरेर देखाउनुभएको उल्लेख गरे ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका निधिले भने, “सशस्त्र क्रान्ति तत्कालका लागि सफल होला, तर दिगो हुन सक्दैन्, नेपालमा पनि २०६२/०६३ सालको आन्दोलन शान्तिपूर्ण रुपमा नै सफल भयो र त्यही आन्दोलनकै बलमा नेपालको संविधान जारी भएको हो ।”

कांग्रेसका नेता एवं परराष्ट्र मन्त्री एनपी साउदले महात्मा गान्धिले सत्य, निष्ठा र विचारका आधारमा भारतबाट तत्कालीन ब्रिटिस साम्राज्यलाई विस्थापित गर्न मात्र नभइ विश्वमा शान्तिको सन्देश दिन सफल भएको स्मरण गरे । 

उनले गान्धिको नेपालको प्रजातान्त्रिक आन्दोलनमा पनि योगदान रहेको उल्लेख गर्दै गान्धिका विचार र अहिंसाको सन्देश आज पनि विश्वका लागि प्रेरणाको स्रोत भएको उल्लेख गरे ।

कांग्रेसका अर्का नेता एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले नेपालमा भएका परिवर्तन पनि शान्तिपूर्ण आन्दोलन र राष्ट्रिय एकताका आधारमा सफल भएको उल्लेख गर्दैै विकास र समृद्धिका लागि राष्ट्रिय एकताको खाँचो औंल्याए । 

अहिलेको राजनीतिक उपलब्धी दलहरुबीचको एकताको परिणाम भएको उनको भनाई थियो ।
    
नेकपा (एमाले)का उपमहासचिव एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले जीवनभर अहिंसाका लागि लड्नुभएका गान्धिको जीवनको अन्त्य हिंसामा परेर भएको प्रसङ्ग उल्लेख गर्दै कुनै पनि अतिवादले विपद् निम्त्याउने धारणा राखे । 

उनले विविधतायुक्त नेपालमा पनि कुनै पनि अतिवादलाई टाउको उठाउन दिन नहुने बताए । 

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवं पूर्वमन्त्री वर्षमान पुनले पुनले शान्ति प्रक्रियाका अधिकांश काम सकिए पनि संक्रमणकालीन न्यायसम्बन्धी काम सम्पन्न गर्न सबै दल एकै ठाउँ उभिनुको विकल्प नरहेकोमा बताए । 

उनले मुलुकको शान्ति, स्थायित्व, विकास, सुशासन र आपसी सदभावका लागि दलहरु मात्र नभई सबै राष्ट्रिय शक्तिबीच सहकार्य हुनुपर्नेमा जोड दिए । 

साथै उनले पछिल्लो समय मुलुकमा धार्मिक र सामाजिक सदभाव भड्काउने खालका गतिविधि भइरहेको भन्दै त्यसमा सरकार र राजनीतिक दल चनाखो हुनुपर्ने उल्लेख गरे ।

अन्तर्राष्ट्रिय सहयोग परिषद्का महासचिव श्याम पराण्डेले कर्म गर फलको आश नगर भन्ने श्रीमद्भगवत गीताको भावानुसार गान्धिले जीवनभर गरेको सेवा, त्याग र निष्ठा भावी पुस्ताका लागि आदर्श र प्रेरणाका रुपमा रहिरहने बताए ।

गान्धिका विषयमा विधावारिधी गरेका प्राडा आनन्द आचार्यले मुख्य प्रवचन दिँदै अराजकता बढेको र राजनीति दिशाहीन बनेको भन्ने आलोचनाका सन्दर्भमा गान्धिका विचार थप सान्दर्भिक भएको उल्लेख गरे । 

प्रतिष्ठानका संस्थापक अध्यक्ष भानुभक्त ढकालले गान्धिका विचारबाट प्रभावित महेन्द्रनारायण निधिले नेपालको प्रजातान्त्रिक आन्दोलनमा गर्नुभएको महत्वपूर्ण योगदानको चर्चा गर्दै प्रतिष्ठान बारेमा जानकारी गराएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ