arrow

भूकम्पले हल्लाएपछि अस्पताल बाहिरको चौरमै डेलिभरी गराउँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १६ मंगलबार
bajhang-earthquake-delivery.jpg
तस्बिर – साइपाल एफएमको फेसबुकबाट ।

काठमाडौँ । बझाङमा लगातार दुई पटक ठूलो भूकम्पको धक्का महसुस गरिएपछि अस्पतालभित्रसमेत बस्न सक्ने अवस्था नहुँदा बिरामी मर्कामा परेका छन् । 

सोही क्रममा दोस्रो ठूलो झड्का आएपछि जिल्ला अस्पताल बझाङमा एक जना बच्चा पाउने गर्भवती महिलालाई अस्पताल बाहिर चौरमा ल्याएर डेलिभरी गराउने प्रयास भएको छ । 

भूकम्पले अस्पतालभित्र बस्ने अवस्था नभएपछि स्वास्थ्यकर्मीहरुले नर्मल डेलिभरी गराउने कोसिस गरेका हुन् । 

बझाङमा लगातार दुई पटक गएको ठूलो क्षमताको भूकम्पको धक्काले केन्द्रविन्दु भएको क्षेत्र वरपरका घरहरु भत्काएको छ । त्यस्तै विद्यालयका भवन पनि भत्किएका छन् । 

भूकम्पले जयपृथ्वी राजमार्गको विभिन्न ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । 

आज दिउँसो २६ मिनेटको अन्तरमा दुई ठूला भूकम्पका धक्का महसुस गरिएका हुन् । त्यस्तै एक भूकम्पको धक्का भने ४ रेक्टर स्केल भन्दा कमको भएको जनाइएको छ । 

पहिलेको भन्दा दोस्रो पटकको धक्का ठूलो महसुस गरिएको हो । यो भूकम्पले भारतको राजधानी नयाँदिल्ल्लीसमेत हल्लिएको छ ।

दिउँसो २ः४० बजे बझाङको तलकोट केन्द्रविन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

त्यसलगत्तै २६ मिनेटपछि ६.३ रेक्टरको भूकम्प सोही ठाउँमै केन्द्रविन्दु भएर गएको हो । 

भूकम्पको धक्का सुदूरपश्चिमसँगै कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका केही भागमासमेत धक्का महसुस गरिएको हाम्रा संवादताताहरुले जनाएका छन् । 

यो भूकम्पको धक्का भारतमासमेत महसुस गरिएको छ । भारतीय केही संचारमाध्यमका अनुसार नेपालमा आएको भूकम्पको धक्का भारतको उत्तरप्रदेशसँगै राजधानी नयाँ दिल्लीमा ४.६ रेक्टर स्केल मापन गरिएको थियो । 



नयाँ