arrow

भूकम्पबाट बाजुरामा दुई जना घाइते, नौ घरमा पूर्ण क्षति

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १७ बुधबार
earthquake-bajhang-2080-06-16g.jpg
तस्बिर – फाइल ।

बाजुरा । मङ्गलबारदेखि बुधबार बिहानसम्म बझाङलाई केन्द्रविन्दु बनाएर आएको ११ वटा भूकम्पको पराकम्पनमा परी बाजुरामा दुई जना घाइते हुनाका साथै नौ घर पूर्ण रुपमा क्षति भएका छन् । 

घाइते हुनेमा बडीमालिका नगरपालिका–९ का प्रलोप डिजी र खप्तड छेडेदह गाउँपालिका–४ घर भई हाल बडीमालिका नगरपालिका–८ मा बस्दै आएका १३ वर्षीय सुन्दर सार्की रहेका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 

घाइते भएका डिजी घर अगाडिको आँगनमा खेल्दै गरेको बेला घरको छतबाट ढुङ्गा खसेर टाउकोमा चोट लागेको छ भने सार्की विद्यालय सञ्चालन भइरहेका बेला भूकम्प आएपछि आत्तिएर दौडिने क्रममा विद्यालयको सिँढीमा लडेर बायाँ हातको हड्डी चर्किएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिए । 

उनका अनुसार घाइते भएका दुवै बालकको जिल्ला अस्पतालमा सामान्य उपचारपछि घर फर्किएका छन् । भूकम्पका कारण जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा छ घर र बूढीगङ्गा नगरपालिकामा तीन घर पूर्ण रुपमा क्षति भएको प्रहरी निरीक्षक भण्डारीले बताए । 

जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरी चौकीलाई भूकम्पबाट क्षतिको विवरण सङ्कलनका लागि खटाएअनुसार प्रहरी टोलीले दिएको जानकारीअनुसार खप्तड छेडेदहमा ६ र बूढीगङ्गा नगरपालिकामा तीन घर पूर्ण रुपमा क्षति भएको बताए । उनका अनुसार भूकम्पका कारण १३ निजी घर र पाँच सरकारी भवन आंशिक रुपमा क्षति भएका छन् । 

भूकम्पबाट भएको थप क्षतिको विवरण सङ्कलन र स्थलगत अनुगमनका लागि जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल भूकम्पबाट प्रभावित क्षेत्रको अनुगमनमा गएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

भूकम्पबाट जिल्लाका बूढीगङ्गा नगरपालिका, खप्तड छेडेदह गाउँपालिका, त्रिवेणी नगरपालिका र बडीमालिका नगरपालिका प्रभावित बनेका छन् ।

भूकम्पले दर्जनौँ घर चर्किएर जोखिम हुनुका साथै फेरि भूकम्प आउने डरले खप्तड छेडेदह र बूढीगङ्गा नगरपलिकाका स्थानीय रातभर जाग्राम बसेका हुन् । रासस



नयाँ