arrow

जिपी अस्पतालमा २० शय्याको डेंगी वार्ड

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १९ शुक्रबार
hospital-gp-koirala-tanahu.jpg

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका-५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा २० शय्याको डेंगी सङ्क्रमित वार्ड सञ्चालनमा आएको छ ।

डेंगी सङ्क्रमितको सङ्ख्या बढेपछि अस्पतालले छुट्टै डेंगी वार्ड सञ्चालन गरेको हो । 

अस्पतालका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले शुक्लागण्डकी क्षेत्रमा पनि पछिल्ला दिनमा डेंगीबाट सङ्क्रमितको संख्या बढ्दै गएको जानकारी दिए । 

अस्पतालमा हालसम्म सात सय जनाको परीक्षण गर्दा एक सय १७ जनामा डेंगी सङ्क्रमण देखिएको उनले जानकारी दिए । 

यसअगाडि १० शय्याको वार्ड सञ्चालनमा रहेकामा त्यसलाई विस्तार गरी २० शय्या पुर्‍याइएको छ । 

पचास शय्या क्षमताको सो अस्पताललाई तीन सय शय्या क्षमतामा विस्तारका लागि प्रक्रिया अगाडि बढाइएको जानकारी दिँदै उनले उक्त प्रस्ताव अर्थ मन्त्रालयमा पुगेर अड्किएको जानकारी दिए । 

यसैबीच नेपाली कांग्रेस तनहुँ क्षेत्र नं २ क्षेत्रीय समितिले अस्पताललाई डेङ्गु किट प्रदान गरेको छ ।

सो किटले दुई सय पाँच जनाको परीक्षण गर्न सकिनेछ ।

प्रतिनिधिसभा सदस्य शङ्कर भण्डारीको पहलमा उक्त किट अस्पताललाई प्रदान गरिएको छ । 

नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति चुडामणि खनालले अस्पतालका कार्यकारी निर्देशक श्रेष्ठलाई उक्त सामग्री हस्तान्तरण गरेका थिए । 

सो अवसरमा क्षेत्रीय सभापति खनालले व्यास नगरपालिकामा डेंगीका बिरामी बढ्दै गएको सन्दर्भमा यस क्षेत्रमा पनि महामारी हुनसक्ने भन्दै पार्टीको पहलमा सहयोग गरिएको जानकारी दिए ।

जिल्लामा डेंगीबाट सङ्क्रमित हुनेको सङ्ख्या तीन हजारभन्दा बढी पुगिसकेको छ । 

जिल्लाका १० वटै स्थानीय तहमा सङ्क्रमितको सङ्ख्या दैनिक बढेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए ।

असोज सुरु भएसँगै विशेषगरी जिल्लाको व्यास नगरपालिका डेंगीको ‘हटस्पट’ बनेको छ । 

दमौली अस्पतालमा परीक्षणको ६५ प्रतिशतमा डेंगी सङ्क्रमण पुष्टि हुने गरेको छ ।

“डेंगी सङ्क्रमण हुने क्रम बढ्दो छ, डेङ्गु नियन्त्रणका लागि चेतनामूलक कार्यक्रमसँगै खोज र नष्ट गर अभियान पनि चलिरहेको छ”, अधिकारीले भने ।

डेंगी नियन्त्रणका लागि दैनिक सचेतनाका कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ । 

अधिकारीले भने, “खोज र नष्ट गर अभियान सञ्चालन भइरहेको छ, जनचेतनामूलक कार्यक्रम टोल-टोल र विद्यालयसम्म पनि सञ्चालन भइरहेको छ ।” 

जिल्लामा अन्य स्थानीय तहमध्ये व्यास नगरपालिकामा बढी सङ्क्रमण फैलिएको छ ।

कुल सङ्क्रमितमध्ये ८८ प्रतिशत सङ्क्रमित व्यास नगरपालिकाभित्र छन् । 

त्यसमा पनि बजारका वडा नं १, २, ३ र ४ मा बढी सङ्क्रमित छन् ।

एक्कासी तीनदेखि पाँच दिनसम्म ज्वरो आउनु यो रोगको मुख्य लक्षण हो । 

यसरी आएको ज्वरो पाँचदेखि सात दिनसम्म रहिरहन सक्दछ । 

यसका साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरुचि हुनु, जोर्नी तथा मांशपेशी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेंगीको लक्षण हुन् ।

दमौली अस्पतालका प्रमुख डा परिवर्तन बरालका अनुसार डेंगीबाट बच्नका लागि मुख्यतयाः लामखुट्टेको टोकाइबाट जोगिनुपर्दछ । 

पूरा शरीर ढाकिने गरी कपडा लगाउनु, लामखुट्टेको टोकाइबाट बच्न मल्हमजस्ता सामग्री प्रयोग गर्नु, सधैँ राति र दिउँसो पनि झुलभित्र सुत्ने, घरवरपर खेतबारीमा काम गर्न जाँदा लामखुट्टेको टोकाइबाट बच्न ध्यान पुर्‍याउनु यसबाट बच्ने प्रमुख उपाय हुन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ