arrow

एमालेको मधेस प्रदेशको नेतृत्वमा मण्डल, सबै पदाधिकारी सर्वसम्मत हुने संकेत

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २६ शुक्रबार
madhes-uml-2080-06-26.jpg

काठमाडौँ । नेकपा एमाले मधेस प्रदेशमा पदाधिकारी सर्वसम्मत हुने संकेत देखिएको छ । अध्यक्षमा सिराहाका चन्देश्वर मण्डल सर्वसम्मत गर्दै अन्य पदाधिकारीको पनि खाका तयार भैसकेको एमालेका एक नेताले बताए । 

मण्डललाई पोलिट्ब्युरो सदस्य लीलानाथ श्रेष्ठले अघि सारेका हुन् । स्रोतका अनुसार श्रेष्ठकै उम्मेदवारलाई रघुवीर महासेठले छाडिदिन आग्रह गरेपछि उनी निकटका उम्मेदवार यतिबेला पछि हटिसकेको र अध्यक्ष सर्वसम्मत हुने संकेत देखिएको हो । 

स्रोतका अनुसार उपाध्यक्षमा पर्साका विचारी यादव छानिएका छन् । उनी संविधान सभा सदस्य हुन् । उनी पहिला माधवकुमार नेपाल समूहमा थिए । उनलाई पार्टी सचिव तथा कोशी इञ्चार्ज रघुवीर महासेठले अघि सारेका हुन् । 

महासेठ समूहले उपाध्यक्षमा चित्त बुझाएको छ । सचिवमा बाराका मनोज पौडेल सर्वसम्मत भएका छन् । उनी एमाले पोलिटब्युरो सदस्य पुरूषोत्तम पौडेलनिकट भएकाले मण्डलको पक्षमा पौडेल पनि बाधक नबनेको स्रोतले जनाएको छ । 

उपसचिवमा रौतहटकी आरती भण्डारी र धनुषाका मोहम्मद कैस सर्वसम्मत भएका छन् । भण्डारी यसअघि पनि उपसचिव नै थिइन् । एमाले मधेस प्रदेश अधिवेशनले २ सय ३५ सदस्यीय पदाधिकारी चयन गर्ने छ । एमाले स्रोतका अनुसार आज साँझसम्म सबै पदमा सर्वसम्मत बनाइ घोषणा गर्ने योजना रहेको छ । मधेश प्रदेशमा अहिले योगेश भट्टराई इन्चार्ज रहेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ