arrow

समय

logo
शीतल गिरी,
प्रकाशित २०८० असोज २७ शनिबार
sheetal-giri-2080-06-26.jpg

मैले समयको बारेमा
घोत्लिएर
धेरै कुरा सोचेको छु

सर्पको षड्यन्त्रभन्दा
पहिले समय
चिन्न सक्यो आदि–मानवले

परिश्रमको महत्व र आवश्यकता
नर–वानरले चिनेको हुँदा
पृथ्वी दोहन गर्दैछ आधुनिक मानव

हरियो भरिलो थियो
प्रत्येक नदी स्वच्छ र सफा
फलफूल खाँदै खेल्दै
प्रकृतिको काखमा
प्राग् गीत गाउँथे
हाम्रा पुर्खा

एक दिन वनमा आगो लाग्यो
पहिले फिलिंगो पस्यो मस्तिष्कमा
हो त्यहीबाट जन्मियो घमण्ड
आगो चिनेको म महान् हुँ

अलिकति समय बुझेर
धुँवाको धर्सो आँखामा
सायद
घमण्ड आदिम मानवमा
उदायो घिन लाग्दो विचार

ऋतु चक्र रोक्ने
पहाड खण्ड खण्ड बनाउने
रमणीय स्थान रोज्यो बस्न
उजाड्दै प्रकृति

सौर–मण्डल बुझ्न थाल्यो
जति जति बुझ्दै गयो
उति उति डढाउँदै गयो
सम्पूर्ण जंगल
खायो धेरै जंगली जीवजन्तु

घाँटी थिचेर सम्पूर्ण नदीलाई
क्षत विक्षत बनायो
पृथ्वीको गर्भ

समय चिन्दै जाँदा घमण्ड पनि बढ्दै गयो
समयको साथ अत्याचार पनि
घर भत्किए शहर उजाडिए
सम्पूर्ण प्रतिमान धुजा धुुजा
सम्पूर्ण विधान
निःसर्गको
गतिमान देखा पर्दैछ
शहर शहर भग्नावशेष
मारेर झुण्डायो प्रकृतिको पुत्रलाई

आँखा हुनुको अर्थ रहेन
जे देखायो त्यही हेर्न विवश
समयको

यति दानवीय बनेको छ समय
हेर्दा हेर्दै मानव सिर्जना

  ध्वस्त हुन पुग्दछ

समय चिनेर रुने गर्दछ माछा पानीमा
आफूले बुझेको यथार्थको
घमण्डमा
जहाँ पनि ताण्डव देखाउन सक्यो
निर्भर हाँस्ने गर्छ समय

आफ्नै विगत बिगार्छ
वर्तमान माटोमा मिलाउँछ

सगरमाथा खेलौना भयो
प्रकृतिका सम्पूर्ण सम्पदा
दोहन गर्न चाहन्छ
समय
विनाशको उन्मादले
पृथ्वी ध्वस्त बनाएर
रमाउने चाहना राख्दछ ।
 



नयाँ