arrow

घरघरमा खानेपानी

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २८ आइतबार
Pani-tap.jpg
तस्बिर-फाइल

गुल्मी । लिफ्टिङ प्रविधिबाट घरघरमा खानेपानी पुगेपछि गुल्मी धुर्कोटका स्थानीयवासीमा खुशी थपिएको छ । यसअघि अधिकांश समय पानीको खोजीमा रित्तो गाग्री बोकेर टाढा-टाढासम्म पुग्नुपर्ने बाध्यता अब हटेको छ । 

गाउँमा खानेपानीको मुहान नहुँदा समस्यामा परेका यस क्षेत्रका बासिन्दाका लागि धुर्कोट गाउँपालिकाले ‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत लिफ्टिङको माध्यमबाट वडा नं ५ अन्तर्गत वस्तुको हर्रैका घरघरमा खानेपानी पुर्‍याइएको गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेलले बताए । 

उनका अनुसार यहाँका एक सय आठ घरधुरीमा खानेपानी पुगेको छ ।

लामो समयसम्म टाउकोमा नाम्लो र पिठ्यूँमा गाग्रो बोकेर सधैँ पानीको जोहो गर्न बाध्य यस क्षेत्रका स्थानीय घरको धारामा पानी आएपछि दङ्ग छन् । 

चाडबाडको समयमा पानीको अभावमा घण्टौँसम्म लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य भएको स्थानीय कमला भण्डारीले बताए । 

पानीका लागि जिल्लामा धुर्कोट गाउँपालिका सुक्खा क्षेत्रअन्तर्गत पर्दछ । सातवटा वडा रहेको धुर्कोट गाउँपालिकाका सबै वडामा खानेपानीको चरम अभाव थियो । 

विकास र अन्य पूर्वधारका हिसाबले धुर्कोट अगाडि भए पनि खानेपानीका क्षेत्रमा पछाडि परेको थियो । 

पालिकाभित्रका नागरिकको मुख्य समस्यालाई पहिचान गरी पालिकाले पानीको मुहान नभएका स्थानमा लिफ्टिङ प्रविधिको माध्यमबाट घरघरमा पानी पुर्‍याउन थालिएको अध्यक्ष पोख्रेलले बताए ।

“खानेपानीका लागि मूल नभएकाले सुक्खा याममा यहाँका अधिकांश मानिसको दैनिकी पँधेरा र कुवाबाट पानी बोकेर बित्ने गर्दथ्यो”, स्थानीय तारा पाण्डेले भने, “जीवनमा पहिलोपटक यसरी आफ्नै घरआँगनमा खानेपानीको धारासँगै शुद्ध पिउने पानी आएपछि निकै खुसी लागेको छ ।” 

यसरी आफ्नै पालामा घरघरमा धाराबाट यसरी पानी आउँला भन्ने आफूले कल्पना नगरेको भन्दै विगतका दुःखलाई बिर्साइदिएको उनको भनाइ थियो ।

सङ्घीय र प्रदेश सरकार, धुर्कोट गाउँपालिका र स्थानीय जनश्रमदानसमेत गरी कुल रू एक करोड ५९ लाख तीन सय २४ लागतमा खानेपानी आयोजना सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष अध्यक्ष पोख्रेलले जानकारी दिए । 

योजना सुरु गरिएको चार वर्षमा सम्पन्न भएको जनाउँदै उनले आयोजनाबाट अहिले एक सय आठ घरधुरीका छ सय ५० जना प्रत्यक्ष लाभान्वित बनेका बताए ।

पाँच हजार तीन सय ८२ घरधुरी रहेको धुर्कोट गाउँपालिकामा अझै एक हजार सात सय ३२ घरधुरीमा खानेपानी पुर्‍याउनका लागि काम भइरहेको पालिकाले जनाएको छ । 

पालिकाले आउँदो दुई वर्षभित्र धुर्कोटका सबै घरधुरीमा ‘एक घर एक धारा’ अभियानलाई पुरा गर्ने अध्यक्ष पोख्रेलले बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ