arrow

सुदूरपश्चिम र कर्णालीका जहाजको टिकट सर्वसाधारणको पहुँच बाहिर

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २९ सोमबार
Plane-Hijacked-By-Congress-1.jpg

काठमाडौं । सडक सञ्जाल नपुगेका सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली क्षेत्रका सर्वसाधारणलाई हवाई टिकट पाउन सधैँ मुस्किल हुने गरेको छ । मौसमको प्रतिकुलता र एयरलाइन्स हरूको सीमित उडान भएकाले हवाई टिकटमा ठुलाबडाको मात्रै वर्चस्व हुने गरेको देखिन्छ । 

नेपाल वायुसेवा निगमका उडानहरू अत्यन्तै न्यून हुनु, निजी एयरलाइन्सहरूले पनि नियमित उडानलाई भन्दा चार्टर उडानलाई प्राथमिकतामा राखेका कारण नियमित हवाई उडानमा सर्वसाधारणलाई टिकट पाउन मुस्किल हुने गरेको हो । 

नेपालगन्जबाट हिमाली क्षेत्रमा उडानका लागि सर्वसाधारणले हवाई टिकट पाउन कि त ठूला नेतालाई भन्नुपर्छ कि त बिचौलियालाई । सामान्य ढङ्गले आफैँ टिकट लिन्छु भन्ने हो भने महिनौँसम्म पनि टिकट पाउन नसकिने अवस्था त्यस क्षेत्रको छ ।

सुत्केरी गराउन नेपालगन्ज आएकी लुम्बिनी प्रदेश पूर्वी रुकुम की टीका शाहले घर फर्कनका लागि जहाजको टिकट पर्खिरहेका थिए। नेपालगन्ज आउने समयमा पनि जहाजको टिकट सहज पाइएको थिएन । 

रुकुम पूर्व सिस्ने गाउँकी टिका जिल्लामा सुविधा सम्पन्न अस्पताल नभएपछि सुत्केरी सेवा लिन नेपालगन्ज आउनुभएको थियो । १८ दिनकी सुत्केरी टिकासँग जहाजको टिकट छैन । पाइन्छ कि भन्ने आशामा विमानस्थलमा बच्चा लिएर यता उता गरिरहेका छन् । 

उनी भन्छन् “फ्लाइट पनि गारो छ । पाइँदैन । उतै अपरेसन भए पनि ब्लड पाइँदैन । आईसीयू छैन । सेवा सुविधा केही पनि छैन । सके पनि नसके पनि यही(नेपालगन्ज) आउनुपर्ने बाध्यता छ । अब यहाँ यत्तिका समय भइसक्यो फ्लाइट नै पाइँदैन ।’

पूर्वी रुकुम पुथा उत्तर गङ्गा गाउँपालिका वडा नम्बर ८ की निशा सेन बोहरा पनि सुत्केरी गराउन नेपालगन्ज आइन् । जुम्ल्याहा नानीहरूकी आमा निशाको पनि जहाजको टिकट नपाउँदा घर फर्कने टुङ्गो छैन । एक महिना भइसक्यो नेपालगन्ज होटलमा बसेको अझै कति दिन बस्नुपर्ने हो भन्ने पिरलो उनमा पनि देखिन्छ । 

निशाले भनिन् ‘म डेलिभरीको लागि यहाँसम्म आएको हो । पूर्वी रुकुम देखि पश्चिम पठाइदियो । दुई वटा बच्चा छ नेपालगन्ज जानुपर्छ भनेका कारणले यहाँ सम्म आएको । यहाँ आएपछि । अप्रेसन भयो । ४ दिन हस्पिटल बसेको हो । अनि होटलमा एक महिना बस्यौ । अब घर जान लागेको । जहाजको टिकट मिल्दैन भन्नुभएको छ ।’

कर्णाली प्रदेश हुम्ला जिल्ला खार्पूनाथ गाउँपालिका वडा नम्बर ४ का विष्णुबहादुर शाही नेपाल वायुसेवा निगमका कम उडान र भएका उडान पनि समयमा नहुने भएकाले समस्या भएको बताउँछन् । कसैलाई भनसुन नगरी हवाई उडानको टिकट पाउन नसकिने अनुभव उनको छ । शाही भन्छन् ‘नेपाल वायुसेवा निगमले रेगुलर उडान गर्ने हो भने पनि निजी एयरलाइन्सको भर पर्नुपर्ने थिएन । नेपाल वायु सेवा निगमलाई सिस्टममा ल्याउन सकिएको छ । मुख्य समस्या यही हो । प्राइभेट भनेको त पैसा कमाउनका लागि नै बनेका संस्था हुन् । मुख्य कुरा टिकट नै पाइँदैन । सामान्य मान्छे गएर टिकट पाउने सम्भावना छैन । च्यानलमा जानुपर्छ । नेताको ज्याक लिएर जानुपर्छ । टिकट पाउन बहुत गारो छ । विमानस्थल छिर्दै गर्दा हातमा टिकट लिएर आउन पाउने अवस्था कहिले आउँला ?’ 

विदेशी टोली आउँदा दिनमा ५ वटा सम्म चार्टर गर्ने निजी एयरलाइन्स हरुले ती उडानमा स्थानीयका लागि एउटा पनि सिट राख्दैनन् । कार्गो उडान गर्ने, विदेशी ओसार्ने तर आफूहरू बिरामी हुँदा पनि उडानको टिकट नपाएर उपचार अभावमा ज्यान गुमाउनुपर्ने भन्दै स्थानीयहरू हवाई उडान सेवा प्रति नै आक्रोशित बन्दै गएका छन् । 

नेपाल वायुसेवा निगमले सातामा निकै कम उडान भर्ने र नियमित उडानको समयमा पनि उडान नगरी स्थगित गर्ने भएकाले पनि समस्या भएको धेरैको गुनासो छ । निगमको जहाजको उडान धेरै जसो स्थगित भइरहँदा निजी एयरलाइन्ससँग मिलेमतो भएको हो कि भन्ने शङ्का पनि स्थानीयको छ । निजी एयरलाइन्सहरूले पनि नियमित उडान स्थगित गरेर चार्टर उडान गर्ने गर्दा बल्ल बल्ल टिकट पाएका सर्वसाधरण चर्को भाडा तिर्न बाध्य हुने गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ