arrow

गजेन्द्रले जिते लिगलिगे दौडको उपाधि 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १ बुधबार
liglige-daud-2080.jpg

गोरखा । एघारौँ लिगलिगे दौड प्रतियोगिता ‘२०८०’ को उपाधि नेपाली सेनाका गजेन्द्र राईले हात परेका छन् । निर्धारित १३ दशमलव ८ किलोमिटर दूरी ५६ मिनेट ३६ सेकेन्डमा पार गर्दै उनले उपाधि जितेका हुन् । उपाधि जितेसँगै राई यस वर्षका लागि लिगलिगे राजा घोषित भएका छन् । 

प्रतियोगितामा निर्धारित दूरी ५६ मिनेट ५३ सेकेण्डमा पार गर्दै सेनाकै नरेन्द्रसिंह रावत दोस्रो भएका छन् । भारतीय सेनामा कार्यरत अनिष थापामगर प्रतियोगितामा यसपटक तेस्रो भएका छन् । उनी निर्धारित दूरी ५८ मिनेट ३५ सेकेन्डमा पूरा गरेर तेस्रो हुन सफल भएका हुन् । 

गोरखा र लमजुङको सिमानामा पर्ने मस्र्याङदी नदीको दोभानमा रहेको चेपेघाटबाट शुरू भएको दौड प्रतियोगिता ढिँकीडाँडा, ठाँटीपोखरी, पानी ट्याङ्की, छापथोक, बडडाँडा, बोहोरागाउँ,सभा चौतारो, मैबल, दर्बेपानी, बिजुलीडाँडा, खोली चौतारोदेखि लिगलिगकोट गढीसम्म पुगेर टुंगिएको थियो ।

प्रतियोगितामा उपाधि विजेता राईले रु एक लाखसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै दोस्रो भएका रावतले ५० हजारसहित मेडल र प्रमाणपत्र, तेस्रो हुने सफल थापामगरले २५ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको आयोजक लिगलिगकोट विकास अभियानका अध्यक्ष सञ्जीव रानाले जानकारी दिए । 

नेपाल एकीकरणअघिका बाईसे चौबीसे राज्यमध्ये एक लिगलिग कोटमा दौडेर पहिलो हुने व्यक्ति राजा हुने परम्परा रहेको थियो । तत्कालीन समयमा दौडेर राजा हुने परम्परालाई जोगाइ राख्न पछिल्लो समय दौड प्रतियोगीता गर्ने गरिएको छ । लिगलिगमा आन्तरिक तथा बाह्य पर्यटकलाई लिगलिगकोट भित्र्याउन प्रतियोगीताले टेवा पुगेको आयोजकले जनाएको छ ।

विसं १६०४ मा शुरु भएको मानिएको दौड प्रतियोगितालाई पुनः बिसं २०६७ बाट निरन्तरता दिन थालिएको अध्यक्ष रानाले जानकारी दिए । द्रव्य शाहले दौडमा विजय हासिलगरी राजा बनेपछि लिगलिगकोटमा दौडिएर राजा हुने परम्पराको अन्त्य भएको मानिन्छ ।



नयाँ