arrow

चाडपर्वभर टिपर सञ्चालनमा रोक

logo
सरोजश्री अधिकारी,
प्रकाशित २०८० कार्तिक १ बुधबार
tiper4.jpg
तस्बिर – फाइल ।

काभ्रेपलाञ्चोक । चाडपर्वको समयमा दुर्घटना बढेको भन्दै जिल्ला प्रशासन कार्यालय काभ्रेले टिपर सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।

घटस्थापनाकै दिन टिपरको ठक्करबाट एकजनाको ज्यान गएपछि जिल्ला प्रशासन कार्यालय काभ्रेले कार्तिक २ गते बिहान ५ बजेदेखि कार्तिक १३ गते राति ९ बजेसम्म टिपर सञ्चालनमा रोक लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् ।

प्रजिअ शर्माको संयोजकत्व, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमको उपस्थितीमा बागमती टिपर व्यवसायी संघ र अन्य यातायात व्यवसायी समेतको उपस्थितीमा भएको छलफलमा चाडपर्वको समयमा सवारीसाधनको बाक्लो आवतजावत हुने, ट्राफिक व्यवस्थापन गर्न जटिलता पैदा हुने भएकाले जिल्लाभित्र र जिल्लाभित्रको अरनिको राजमार्ग र बीपी राजमार्गमा टिपर सञ्चालन गर्न रोक लगाउने निर्णय भएको हो ।

दुर्घटना बढ्दै गएको भन्दै बैठकले टिपर तथा सार्वजनिक यातायातका चालकहरुलाई सचेतना कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक जनार्दन घिमिरेका अनुसार, असोज महिनामा भएका २५ सवारी दुर्घटनामध्ये ६ दुर्घटनामा टिपर संलग्न छन् । 

७ जनाको ज्यान गएकोमा ३ जनाले टिपरको कारण ज्यान गुमाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ