arrow

रामराजाप्रसाद सिंह स्वास्थ्य प्रतिष्ठानको काम अघि बढाउन माग

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १ बुधबार
ramraja sing.jpg

राजविराज । लामो समयदेखि अवरुद्ध रहेको रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढाउन मागसहित रिले अनशन सुरु गरिएको छ ।

सप्तरीको राजविराज नगरपालिका-१० विरौलस्थित प्रतिष्ठानको निर्माण अलपत्र पार्दै अन्य कामसमेत रोकिएकाले अविलम्ब काम सञ्चालन गर्नुपर्ने मागसहित निर्माणस्थलमा अनिश्चितकालीन रिले अनशन सुरु गरिएको हो । 

पाँच दिनदेखि प्रतिष्ठानको निर्माणस्थलमा विभिन्न पाँच सूत्रीय माग राखी सुरु गरिएको अनशन आज पनि जारी छ ।

स्थानीय समाजसेवी रामकुमार दासको नेतृत्वमा अनशन सुरु गरिएको थियो । 

खाँडो पुल नजिक प्रतिष्ठान निर्माणका लागि ६२ बिघा जग्गा अलपत्र अवस्थामा छाडिएको भन्दै काम छिटो सञ्चालन गर्नुपर्ने मागसहित अनशन जारी राखिएको दासले बताए ।

शिलान्यास भएको दुई वर्ष पाँच महिना वितिसक्दा निर्माण अलपत्र परेको भन्दै प्रतिष्ठान निर्माण यथाशीघ्र बढाउनुपर्ने, पूर्वाधार तयारी विकास समितिमा रिक्त पदमा पदाधिकारी र कर्मचारी नियुक्त गर्नुपर्ने, निर्माणका लागि आवश्यक बजेटको व्यवस्थापन गर्नुपर्नेलगायत पाँच बुँदे माग अघि सार्दै रिले अनशन जारी राखिएको स्थानीयवासी सुनिल मण्डलले बताए ।

पाँच वर्षभित्र निर्माण सम्पन्न गरी हस्तान्तरण गरिसक्ने भनिए पनि शिलान्यास भएको दुई वर्षसम्म निर्माण सुरु नगर्दा स्थानीय आक्रोशित बनेका छन् । 

“प्रतिष्ठान निर्माणस्थलमा बोर्ड राख्ने, जग्गा तारजालीले घेरबार गर्ने र डिपिआर निर्माण गर्ने बाहेक अरु केही काम भएको छैन”, सङ्घर्ष समितिका संयोजक दासले भने । 

निर्वाचनका समयमा चुनावी मुद्दा बनेको प्रतिष्ठान यतिबेला अलपत्र बनेको भन्दै कसैले चासो नदेखाएपछि आन्दोलनमा उत्रिनु परेको उनको भनाइ थियो ।

‘एक प्रदेश एक स्वास्थ्य विज्ञान प्रतिष्ठान’ निर्माण गर्ने नीतिअनुसार विसं २०७५ पुस १६ गते मन्त्रिपरिषद्को बैठकले मधेश प्रदेशको राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने निर्णय गरेको थियो ।

“प्रतिष्ठानले गजेन्द्रनारायण सिंह अस्पतालको एउटा कोठा भाडा लिएर सञ्चालनमा ल्याइएको छ । उक्त स्थानमा पूर्वाधार तयारी विकास समिति कार्यालयको बोर्ड राखिएको रहेको छ”, दासले भने, “गतवर्षको निर्वाचनमा समितिका अध्यक्ष डा रोहित पोखरेल प्रदेशसभाको निर्वाचनमा उम्मेदवार बनेपछि अर्काे अध्यक्ष अहिलेसम्म नियुक्त गरिएको छैन ।”

अस्पतालका तत्कालीन मेडिकल सुपरिटेण्डेण्ट एवं प्रतिष्ठानका कार्यकारी निर्देशन डा रञ्जितकुमार झाको पनि सरुवा भएर अन्यत्र गएपछि एक वर्षयता कार्यकारी निर्देशकको पद पनि रिक्त रहेको उनले जानकारी दिए । 

उनका अनुसार प्रष्ठिानमा कार्यरत तीन करार कर्मचारीको म्याद सकिएपछि प्रतिष्ठान कर्मचारीविहीन बनेको छ ।

पदाधिकारीविहीन समितिको कार्यालयमा लाखौंँ रुपैयाँ खर्चेर खरिद गरिएका सामान थन्किएका दासले बताए । 

“पूर्वाधार तयारी विकास समितिका लागि आर्थिक वर्ष २०७५/७६ देखि हालसम्म रू १६ करोड १० लाख बजेट विनियोजन भएकामा रू तीन करोड १६ लाख ४७ हजार खर्च भएको छ भने रू १२ करोड ९३ लाख ५२ हजार खर्च हुन नसकेर फिर्ता भएको जनाइएको छ”, उनले भने ।

प्रतिष्ठान निर्माण सुरु गर्नुपर्ने मागसहित जारी रिले अनशनलाई आज सप्तरी युथ नेपालले ऐक्बदता जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ