arrow

मजदूरको व्यवहारप्रति सीजीको आपत्ति, व्यवस्थापनमाथि जाइलाग्नु अशोभनीय

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २ बिहिबार
CG_Group.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सीजी ब्रुअरी प्रालीले गत बुधबार बोनसको विषयलाई लिएर मजदूरहरुले गरेको व्यवहारलाई अराजक भन्दै व्यवस्थापनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रेस विज्ञप्ति जारी गर्दै सीजीले देशको अर्थतन्त्र मन्दीबाट गुज्रिरहेको, बजार शिथिल बनेको र कम्पनीहरू न्यून क्षमतामा संचालन भइ अस्तित्व रक्षाका लागि संघर्ष गरिरहेको भन्दै बु्रअरीमा कार्यरत मजदूरहरूले अनधिकृत माग अगाडि गर्दै व्यवस्थापनका अधिकारीहरूमाथि कुटपिट गर्ने, अभद्र व्यवहार गर्ने र औद्योगिक शान्ति खलबल्याउने जस्ता गतिविधि निन्दनीय रहेको जनाएको छ । 

उसले यस्ता गैरकानूनी क्रियाकलापको समाधान कानून बमोजिम हुने कुरामा कम्पनी स्पष्ट रहेको बताएको छ । विज्ञप्तिमा सीजी भन्छ, ‘सीजी बु्रअरीले आफ्ना मजदूर–कर्मचारीका लागि उत्कृष्ट सेवा सुविधाहरू उपलब्ध गराउँदै आएको सबैलाई विदितै छ । सोही कारण विगतमा समग्र औद्योगिक सम्बन्ध बिग्रिएको अवस्थामासमेत सीजी इन्डष्ट्रियल पार्कमा व्यवस्थापन र मजदूरबीचको सौहार्दपूर्ण वातावरण देशकै उदाहरणका रुपमा लिने गरिएको छ ।’

सीजीले थप स्पष्ट पार्दै भनेको छ, ‘सीजी ब्रुअरीले देशको आर्थिक अवस्था सहज रहेको समयमा आफ्ना मजदूर–कर्मचारीलाई विगत वर्षहरुमा छ महिनासम्मको बोनस वितरण गरेको थियो । तर अहिले अर्थतन्त्र मन्दीबाट गुज्रिरहेका कारण त्यसको गम्भीर नकारात्मक असर सीजी ब्रुअरी परेको छ ।’

अघिल्लो वर्षको तुलनामा सीजी बु्रअरीका उत्पादनको बिक्रीमा २५ प्रतिशतले ह्रास आएको भन्दै सीजीले यस्तो अवस्थामा कम्पनीले आफ्ना मजदूर–कर्मचारीको रोजगारीमा असर नपरोस् भनेर कठिन अवस्थामा पनि व्यवस्थापन गर्दै आएको स्पष्ट पारेको छ । 

तर यसपालि मजदूरहरुले देखाएको व्यवहारप्रति रुपष्ट हुँदै सीजीले भनेको छ, ‘कम्पनी नोक्सानमा रहेको अवस्थामा पनि बोनसको माग गर्दै व्यवस्थापनका अधिकारीमाथि निर्मम रुपमा कुटपिटमा उत्रिनु अत्यन्तै अशोभनीय छ । आफ्ना असहमतिहरुलाई शान्तिपूर्ण वार्ताको माध्यमद्वारा अगाडि सारिनुपर्नेमा व्यवस्थापनमा रहेका अधिकारीहरुमाथि कुटपिट गर्ने, ढुंगामुढा गर्ने, कार्यालयहरू तोडफोड गर्ने लगायतका अराजक गतिविधिहरू शैह्य नहुने ब्यहोरा स्पष्ट रुपमा जानकारी गराइन्छ ।’
 
 देशको समग्र औद्योगिक प्रतिष्ठानहरूको उत्पादन क्षमता ८० प्रतिशतसम्मले गिरावट आएको तथ्याङ्क सार्वजनिक भएको भन्दै सीजीले यसले देशको बिग्रदो औद्योगिक अवस्थाको चित्र सबैको सामु ल्याइदिएको बताएको छ । 

सीजीले अगाडि भनेको छ, ‘यस पृष्ठभूमिमा देशमा औद्योगिक सम्बन्ध खराब अवस्थातर्फ उन्मुख रहेको स्पष्ट हुन्छ र भविष्यमा देशमा औद्योगिक उत्पादनमा योगदान पुर्याएका उद्यमीहरू थप समस्यामा पर्नेछन् भन्ने पनि देखिन्छ । त्यसैले यस्तो परिस्थितिप्रति गम्भीर बन्न, औद्योगिक सम्बन्धलाई सुमधुर कायम राख्न, उश्रृंखल गतिविधिहरूलाई कानूनी दायरामा ल्याउन र कठिन परिस्थितिमा पनि उत्पादनलाई निरन्तरता दिएर राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याइरहेका उद्यमीहरूको मनस्थितिलाई थप कमजोर हुनबाट जोगाउनका लागि सम्बन्धित निकायहरू गम्भीर बन्न जरूरी छ । हतोत्साहित बनिसकेको निजी क्षेत्रको मनस्थितिलाई यस्ता घटनाले थप हतोत्साही बनाउने र अन्ततः उद्यमीहरू पलायन हुनसक्ने अवस्थाप्रति सजग रहन पनि हामी सम्वन्धित निकायहरुको ध्यानाकर्षण गराउन चाहन्छौँ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ