arrow

कलाकारको दशैँ : हरिवंश, अनमोल, वर्षा खगेन्द्रले यसरी मनाए

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ८ बुधबार
anmol-bhuwan-dashain.jpg

काठमाडौँ । विजयादशमी कलाकारले धुमधामले मनाएका छन् । अभिभावकबाट बडादशैँको टीका ग्रहण गरिएका तस्बिर कलाकारले सामाजिक सञ्जालमार्फत सार्वजनिक पनि गरेका छन् । 
    
हास्य कलाकार हरिवंश आचार्यले पत्नी, छोरा र बुहारीलाई टीका लगाइदिए । उनले सामाजिक सञ्जालमार्फत टीकाको तस्बिर सार्वजनिक गर्दै आपसी सद्भाव बढाउने पर्वको रूपमा बडादशैँलाई लिएको बताए । दशैँलगत्तै ‘महाजात्रा’ को छायाङ्कनमा जानुपर्ने भएकाले पनि दशैँलाई आफन्तसँगको भेटघाटको रुपमा मनाइरहेको उनले जानकारी दिए ।
    
यसैगरी अभिनेता अनमोल केसीले पिता तथा अभिनेता भुवन केसीको हातबाट टीका र जमरा लगाए । सपरिवार टीका ग्रहण गरेको जानकारी गराउँदै उनले दशैँलगत्तै ‘फर्की फर्की’ नामक चलचित्रमा काम गर्ने बताए । 
    
यो दशैँ अभिनेता तथा मोडल पल शाहका लागि पनि महत्वको भएको छ । उनले अघिल्लो वर्ष टीका लगाउन नपाइएका कारण यो वर्षको दशैँ परिवारसँग बसेर मनाइरहेको बताए । 
    
अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, अभिनेता तथा निर्देशक निर्मल शर्मा, अभिनेत्री वर्षा सिवाकोटी र अभिनेता जितु नेपालले पनि आफ्ना मान्यजनबाट टीका ग्रहण गरेका छन्। 

अभिनेत्री वर्षा राउतले पनि आफ्ना पति तथा अभिनेता सन्जोग कोइरालासँग सिन्धुली पुगेर टीका ग्रहण गरेकी छन्। 
    
यस्तै आमाबाट टीका र जमरा ग्रहण गरेका हास्य कलाकार शिवशङ्कर रिजालले भने, “तराई गएर अन्य मान्यजनबाट पनि टीका ग्रहण गर्नेछु । मेरो दशैँ तराई र काठमाडौँमा बराबर हुँदै आएको छ ।”

यसैगरी अभिनेता सलिनमान बनियाँ, अभिनेत्री स्वेता खड्का र ऋचा शर्मा, अभिनेता रवीन्द्रसिंह बानियाँले पनि आफ्ना मान्यजनबाट टीका ग्रहण गरेका छन् ।

अभिनेता खगेन्द्र लामिछानेले आफूद्वारा निर्मित तथा लिखित चलचित्र ‘पशुपति प्रसाद–२ ः भष्मे डन’ प्रदर्शनरत रहेकाले काठमाडौँ उपत्यकाको विभिन्न चलचित्र भवनमा पुगेर दर्शक भेट्ने जानकारी दिए । 

“यो पटक स्याङ्जास्थिचत घर जान नपाए पनि दर्शकसँग साक्षात्कार गर्दै दशैँ मनाईरहेको छु”, उनले भने । 

दशैँलाई एकता, भ्रातृत्व र प्रेमको रूपमा लिइने गरिएका कारण सबै आफन्तजन एकै स्थानमा भेला भएर टीका लगाउने गरिएको कलाकारले जानकारी गराए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ