arrow

पर्यटकीय क्षेत्र बन्दै रानीपोखरी

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ९ बिहिबार
Ranipokheri chitwan.jpg

चितवन । भरतपुर महानगरपालिका-१९ स्थित रानीपोखरी पर्यटकीय क्षेत्रका रुपमा विकास हुँदै गएको छ ।

प्राचीनकालमा निर्माण गरिएको यस पोखरीको संरक्षण र संवर्द्धनका लागि सरकारले बजेट विनियोजन समेत गरेको छ ।

सघन सहरी विकास कार्यालयले रानीपोखरी उद्यान निर्माण र भौतिक संरचना निर्माणका लागि रु चार करोड ५० लाख र पोखरी जाने सडक निर्माणका लागि रु पाँच करोड बिनियोजन गरेको छ ।

सडक निर्माणको काम सम्पन्न भइसकेको छ भने उद्यान र भौतिक संरचना निर्माण तीव्र रुपमा अघि बढाइएको छ ।

भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भरतपुर भ्रमण वर्षको रुपमा मनाउँदै छ ।

महानगरपालिकाभित्रै रहेको रानीपोखरी भ्रमण वर्षका लागि उपयुक्त गन्तव्य बन्ने देखिएको छ ।

रानीपोखरीमा विभिन्न जनावरका मूर्ति निर्माण, पोखरीको बीचमा मन्दिर निर्माण, समाजसेवी र विभिन्न व्यक्तिको ढुङ्गामा कुँदिएको सालिक निर्माण लगायतका काम भइरहेका छन् ।

योसँगै पोखरीको संरक्षणका लागि तारबार लगाउने काम भइरहेको जनाइएको छ ।

स्थानीय वीरबहादुर नेपालीले भने, “निर्माण कार्य सम्पन्न हुन नसक्दा यसको सरसफाइ र रेखदेखमा समस्या भए जस्तो देखिए पनि निर्माण सम्पन्न हुँदा यो आकर्षक बन्ने छ ।” 

यस तालमा डुङ्गा चढ्ने, बालबालिकाका लागि नजिकै रहेको उद्यानको रमणीय वातावरणमा भूल्ने हुँदा पर्यटक आउने गर्दछन् ।

तालमा रहेको जलकुम्भीसहितका मिचाहा झार हटाएर यसलाई आकर्षक बनाउन लागिएको उनले बताए ।

अहिले पनि दैनिक यस तालको अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका उनले बताए । 

रानीपोखरी संरक्षण तथा विकास समितिका अध्यक्ष सुरेन्द्र गुरुङ् निर्माणको चरणमा रहेको यस ताल पर्यटकका लागि आकर्षणको केन्द्र विन्दु बन्ने बताए । 

उनले भने, “अहिले ताललाई आकर्षक बनाउन लागिएको छ ।”

उद्यान निर्माण र भौतिक संरचना निर्माणको काम भइरहेको जनाउँदै उनले भ्रमणवर्ष अघिनै काम सक्ने गरी निर्माण कम्पनीसँग कुरा भइरहेको बताए । 

उनका अनुसार मन्दिर निर्माण, तालको आकर्षण्का रुपमा विभिन्न जनावरको मूर्ति निर्माण तथा पेटी निर्माणकार्य भइरहेको छ ।

उनले भने, “निर्माण सम्पन्न हुँदा पर्यटकका लागि रमणीय र मनमोहकस्थलको रुपमा यसलाई विकास गर्न लागिएको छ । भ्रमण वर्षमा यहाँको काम सम्पन्न हुनसके आएका पर्यटकलाई केही समय भए पनि रमणीयस्थलको अवलोकन गराउन सकिने गरी काम अघि बढाउन भनेका छौँ ।” रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ