arrow

गर्भवती र सुत्केरीलाई पोषण भत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ११ शनिबार
vyas nagarpalika.jpg

दमौली । सरकारी स्वास्थ्य संस्थामा गर्भ जाँच गराउन र सुत्केरी सेवा लिने काममा आकर्षित गर्न तनहुँका स्थानीय तहले गर्भवती र सुत्केरीलाई पोषण भत्ता उपलब्ध गराउन थालेका छन् । 

सम्बन्धित पालिकाभित्र रहेका सरकारी स्वास्थ्य संस्थामा जाँच तथा सुत्केरी सेवा लिनेलाई पालिकाले पोषणबापत भत्ता उपलब्ध गराउन थालेका हुन् । 
    
यसैक्रममा व्यास नगरपालिकाले गर्भवतीलाई पोषणबापत जनही रु पाँच हजारका दरले भत्ता वितरण गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा ६२ गर्भवतीलाई पोषण भत्ता वितरण गरेको जनाएको छ । 

गर्भवतीलाई समय-समयमा गर्भ जाँच गरी शिशु मृत्युदर न्यूनीकरणमा प्रोत्साहित गर्ने उद्देश्यले प्रोत्साहन पोषण रकम प्रदान गरिएको उपप्रमुख ईन्दिरा दरैले जानकारी दिइन् । नगरपालिकाले स्वास्थ्य संस्थामा जाँच गरेको मातृसेवा कार्डको प्रतिलिपिका आधारमा गर्भवतीलाई भत्ता वितरण गरेको उनको भनाइ छ ।

नगरपालिकाका गर्भवतीलाई पोषण प्रोत्साहन रकम प्रदान गरी गर्भावस्थामा कुपोषण हुनबाट बचाउन तथा प्रोटोकलअनुसार गर्भवती जाँच गर्न प्रोत्साहन गर्ने उद्देश्यले गर्भवती पोषण कार्यक्रमअन्तर्गत हातमै नगद रकम प्रदान गरिएको दरैले जानकारी दिइन् । 

उनले भनिन्, “नगरपालिका क्षेत्रभित्र मातृ नवशिशु तथा नवशिशु स्वास्थ्य र पोषण प्रवद्र्धन एवं व्यवस्थापन गर्न कुपोषणमुक्त बालबालिकाको विकास गर्न यो कार्यक्रम ल्याइएको हो ।”

दरैका अनुसार महिलासँग उपमेयर कार्यक्रममार्फत कार्यविधि बनाएर भत्ता वितरणको सुरुआत गरिएको हो । नगरपालिकाभित्र रहेका सरकारी स्वास्थ्य संस्थामा प्रोटोकलअनुसार नियमित गर्भ जाँच गर्ने गर्भवतीलाई भत्ता वितरण गरिनेछ । 

नगरपालिकाभित्र रहेका सरकारी स्वास्थ्य संस्थाबाट कम्तीमा तीन पटक (४, ६ र ८ महिना) गर्भवती महिलालाई आठ महिनामा मातृ शिशुकार्ड र निजको निवेदनका आधारमा रु पाँच हजार वितरण गरिने महिला शाखा प्रमुख राधा आचार्यले जानकारी दिइन् । 

लक्षित वर्ग छनोटका लागि नगरपालिकाले उपप्रमुखको संयोजकत्वमा लाभग्राही छनोट तथा कार्यान्वयन समिति बनाएको छ । यसको सदस्यमा प्रमुख प्रशासकीय अधिकृत, सामाजिक विकास समितिका संयोजक, कार्यपालिका महिला सदस्यमध्येबाट कार्यपालिकाले तोकेको एक महिला सदस्य, शिक्षा तथा सामाजिक विकास शाखा प्रमुख, स्वास्थ्य शाखा प्रमुख रहने छन् । 

कार्यालयले लक्षित वर्गलाई कार्यक्रममा सहभागी भएको विस्तृत विवरण र स्वास्थ्य संस्थामा जाँच गरेको मातृ सेवा कार्डको प्रतिलिपिको आधारमा नगद भुक्तानी दिनेछ । 

नगरपालिकाले उपप्रमुखसँग महिला कार्यक्रम पनि प्रभावकारी रुपमा सञ्चालन गरेको छ । यो कार्यक्रममार्फत महिलालाई आर्थिक, स्वास्थ्य, तथा रोजगारी क्षेत्रमा सबल र सक्षम बनाउने उद्देश्य राखिएको छ ।

यस कार्यक्रमअन्तर्गत शैक्षिक बेरोजगार महिलालाई उद्यमशील बनाउने अभियानअन्तर्गत १२ कक्षा पास गरेका बेरोजगार महिलालाई रु ५० हजारका दरले अनुदान वितरण गरिनेछ । 

यसैगरी जिल्लाको म्याग्दे गाउँपालिकाले सुत्केरी आमा र बच्चालाई आवश्यक पर्ने पोषण आहारा खुवाउनका लागि सुत्केरी पोषण भत्ता उपलब्ध गराएको छ । गाउँपालिकाले ३८ जना सुत्केरी आमालाई जनही रु पाँच हजारका दरले पोषण भत्ता उपलब्ध गराएको हो । 

पोषणको अभावमा सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्यमा समस्या नआओस् भनेर गाउँपालिकाले सुत्केरी आमालाई पोषण भत्ता दिने नीति ल्याएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए । गाउँपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उक्त कार्यक्रम समावेश गरेको थियो । अध्यक्षसँग सुत्केरी कार्यक्रम अन्तर्गत उक्त पोषणभत्ता उपलब्ध गराइएको श्रेष्ठले बताए । 

थर्पु स्वास्थ्य चौकीमार्फत संस्थागत सुत्केरी सेवा लिएका २३ जना र जामुने स्वास्थ्यचौकीमा सुत्केरी गराएका १५ जना सुत्केरीलाई उक्त रकम उपलब्ध गराइएको स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरेले जानकारी दिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ